भरतपुर अस्पतालमा भाइरलका बिरामीको संख्या उच्च, एउटै बेडमा दुई जना बिरामी 

आकस्मिक कक्ष ६० बेडसम्मको हुनुपर्नेमा जम्मा १२ बेडको



Download our app to get more features

चितवन,२५ भदौ । केन्द्रीय अस्पतालका रुपमा रहेको भरतपुर अस्पतालमा भाइरलका बिरामीको संख्या उच्च रहेको अस्पतालले जनाएको छ । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. श्रीराम तिवारीका अनुसार अस्पतालका सबै बेडहरु बिरामीले भरिएका छन् ।

भरतपुर अस्पतालको आकस्मिक कक्षका सबै बेडहरुमा दुई जना बिरामी राखिएको छ । अन्य वार्डहरुमा पनि त्यही अवस्था छ । भाइरल संक्रमित बिरामीको एकै ठाउँमा उपचार हुँदा यसबाट हुने थप स्वास्थ्य असरबारे अस्पताल मौन छ ।

साउन महिना लागेदेखि नै अस्पतालमा बिरामीको चाप बढेको उनले बताए । बेडको अभावमा एउटा बेडमा दुई जना बिरामी राखेर उपचार भइरहेको छ । ‘केही दिन त हामीले एउटै बेडमा ३ जनासम्म बिरामी पनि राख्यौँ’, डा. तिवारीले भने, ‘बेड संख्या र कर्मचारी अभावले गर्दा समस्या भइरहेको छ ।’

बिरामीको चाप बढेको कारणले मानसिक रोगका बिरामीमात्रै रहने बेडमा पनि भाइरल ज्वरोका बिरामी राख्नु आफूहरुको बाध्यता रहेको मेसु डा. तिवारीको भनाइ छ । सबै बिरामी भरतपुर अस्पताल नै रोजेर आउने भन्दै उनले भने, ‘कतिपयलाई बाध्य भएर अरु अस्पताल पनि पठाउन परिरहेको छ ।’

भाइरल भएका बिरामीलाई अन्य बिरामी वा स्वस्थ मान्छेभन्दा टाढै राखेर उपचार गराउनुपर्नेमा अस्पतालले सँगै राखेर उपचार गराउँदा समस्या भएको छ । भाइरलले सताइरहेको अवस्थामा निजी अस्पतालहरुले बिरामीको स्वास्थ्यलाई मध्यनजर गरी झूलको व्यवस्था गरेका छन् । तर, सरकारी अस्पतालमा भने यस्तो सजगता भएको पाइन्न ।

बिरामीको अत्यधिक चापका कारण अस्पतालबाट दिइने सबै सेवा प्रभावित बनेको उनले बताए । एक्स–रे, ल्याब, टिकटमा बिरामी घन्टौँ लाइन लागेर बस्नुपर्ने बाध्यता छ । बिरामीले औषधि लिन पनि घन्टौँ समय कुुर्नुपर्दा अस्पतालको सेवाप्रति नै प्रश्न उठाएका छन् ।

‘जनशक्ति अभावले गर्दा भनेको समयमा बिरामीलाई आवश्यक सेवा दिन सकिरहेका छैनौँ’, डा. तिवारीले भने, ‘यो यहाँको समस्या देखिए पनि समाधानका लागि केन्द्र सरकार नै जिम्मेवार हुनुपर्ने छ ।’

आकस्मिक कक्ष ६० बेडसम्मको हुनुपर्नेमा जम्मा १२ बेडको रहेकाले यस कक्षमा बढी चाप हुने गरेको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले बताए । आकस्मिक कक्ष विस्तारका लागि सरकारसँग बजेट सहित योजना माग गरिएको उनले बताए । 

अस्पतालको सेवा राम्रो भएकाले बिरामी बढी हुनु स्वाभाविक रहेको भन्दै सूचना अधिकारी पौडेलले भने, ‘दैनिक १ हजार ६ सय बढी बिरामीले ओपीडी सेवा लिने गरेका छन्, बिरामीको चाप हुनुको प्रमुख कारणमा बिमाका बिरामी बढी हुनु पनि हो ।’

Last modified on 2019-09-11 19:44:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts