भरतपुर अस्पतालमा आईसीयूमा उपचाररत बिरामीको मृत्यु, मृत्युको कारणबारे प्रष्ट हुन बाँकी

चितवन, ६ जेठ । भरतपुर अस्पतालमा आईसीयूमा उपचाररत एक बिरामीको मृत्यु भएको छ ।
सोमवार राति अस्पताल ल्याइएको रौतहट जिल्ला परोहा नगरपालिका– ८ , नरकटियाका ६८ वर्षीय पुरूषको निधन भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताए ।
स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि सोमवार राती गम्भीर अवस्थामा उनलाई भरतपुर अस्पताल पुर्याइएको थियो । उनमा लामो समयदेखि फोक्सो र श्वासप्रश्वासको समस्या थियो ।
झन्डै ३–४ महिनादेखि टीबीको औषधि सेवन गरिरहेका उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि वीरगञ्ज स्थित तराई हस्पिटल एण्ड रिसर्च सेन्टर ल्याइएको थियो । त्यहाँ अस्पतालले उनमा क्यान्सरको आशंका रहेकोले थप उपचारको लागि बीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल लैजान सुझाव दिएकाले बुवालाई भरतपुर ल्याएको मृतकका छोराले बताए । क्यान्सर अस्पतालमा लानुभन्दा पहिला उनमा कोरोना परीक्षण गर्न वीरगञ्जको अस्पतालले भनेकाले भरतपुर अस्पताल ल्याईएको उनले बताए । आईसीयूमा उपचाररत उनको आज बिहान मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले जानकारी दिए ।
उनको मृत्यु भएसँगै शवलाई कोभिड आइसियुकै आइसोलेसनमा छुट्टै राखिएको भरतपुर अस्पतालका कोभिड–१९ क्लिनिकल संयोजक डा. प्रमोद पौडेलले हाम्रो डक्टर न्युजलाई जानकारी दिए । उनको स्वाब परीक्षणका लागि पठाइएको उनले बताए ।
बिरामीको मृत्युबारे भने अस्पतालले आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।