भरतपुर अस्पतालको आईसियूमा मृत्यु भएका पुरूषमा कोरोना नभएको पुष्टि, शव परिवारलाई बुझाईयो

चितवन, ६ जेठ । भरतपुर अस्पतालको आईसियूमा उपचारको क्रममा मृत्यु भएका पुरूषमा कोरोना भाइरस नभएको पुष्टि भएको छ ।
चितवनको भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा मंगलवार गरिएको स्वाब परीक्षणमा उनमा कोरोना भाइरसको संक्रमण नभएको पाइएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले हाम्रो डक्टर न्यूजलाई जानकारी दिए ।
उनीसँगै परीक्षण गरिएका भरतपुर अस्पतालको अन्य २० वटा रिपोर्ट पनि नेगेटिभ आएको उनले बताए ।
सोमवार राति अस्पताल ल्याइएको रौतहट जिल्ला परोहा नगरपालिका–८, नरकटियाका ६८ वर्षीय पुरूषको उपचारको क्रममा नै निधन भएको अस्पतालले जनाएको थियो । स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि राती नै गम्भीर अवस्थामा उनलाई भरतपुर अस्पताल पुर्याइएको थियो ।
उनमा लामो समयदेखि फोक्सो र श्वासप्रश्वासको समस्या थियो ।
झन्डै ३-४ महिनादेखि क्षयरोगको औषधि सेवन गरिरहेका उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि वीरगञ्ज स्थित तराई हस्पिटल एण्ड रिसर्च सेन्टर ल्याइएको थियो । त्यहाँ अस्पतालले उनमा क्यान्सरको आशंका रहेकोले थप उपचारको लागि बीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल लैजान सुझाव दिएकाले बुवालाई भरतपुर ल्याएको मृतकका छोराले बताए ।
क्यान्सर अस्पतालमा लानुभन्दा पहिला उनमा कोरोना परीक्षण गर्न वीरगञ्जको अस्पतालले भनेकाले भरतपुर अस्पताल ल्याईएको उनले जनाए । आईसियूमा उपचाररत उनको आज बिहान मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले जानकारी दिए ।
उनको मृत्यु भएसँगै शवलाई कोभिड आइसियुकै आइसोलेसनमा छुट्टै राखिएको थियो । रिपोर्ट नेगेटिभ आएपछि शव परिवारको जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।
यसअघि भरतपुर अस्पतालमा कोरोनाको विरामी भेटिएको भन्ने हल्लाले सर्वसाधारणमा त्रास छाएको थियो । अहिले भरतपुर अस्पतालमा कोरोनाको संक्रमण भएका बिरामी नभएको अस्पतालले जनाएको छ । साथै सबै सेवाहरू यथावत रूपमा सञ्चालन भएकाले ढुक्क भएर सेवा लिन सबैमा अस्पतालले अपिल समेत गरेको छ ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।