अमेरिकामा गत २४ घन्टामा हालसम्मकै धेरै संक्रमित फेला, अस्पताल भर्ना हुनेहरूको सङ्ख्या बढ्दो



Download our app to get more features

एजेन्सी, ८ कात्तिक । कोरोना महामारीका कारण विश्वकै सबैभन्दा धेरै प्रभाविम मुलुक अमेरिकामा गत २४ घन्टामा हालसम्मकै धेरै संक्रमित फेला परेका छन् ।
 
बीबीसीका अनुसार गत २४ घन्टामा अमेरिकामा ८३ हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अमेरिकामा कोरोनाभाइरस सङ्क्रमणको नयाँ लहर आउँदा एकैदिनमा ठूलो सङ्ख्यामा संक्रमित देखिएको यो पहिलो पटक हो ।

कोभिड ट्र्याकिङ प्रोजेक्टले जारी गरेको तथ्याङ्क अनुसार शुक्रवार अमेरिकामा ८३ हजार १० जनामा सङ्क्रमण पुष्टि भएको छ ।

अमेरिकाका सर्जन जनरल जेरोमी एडम्सले अस्पतालमा भर्ना हुने सङ्ख्या बढिरहेको चेतावनी दिएका छन् । तर, बिरामी मर्ने दर भने राम्रो उपचारका कारण कम भएको बताइएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले पनि उत्तरी गोलाद्र्धका मुलुकहरू “कठिन अवस्थामा” रहेको चेतावनी दिएको छ । संगठनका महानिर्देशक डा टेड्रोस गेब्रेयसस एड्होनमले आउँदा केही महिना असाध्यै कठिन् रहेको र केही मुलुकहरू खतरनाक बाटोमा रहेको चेतावनी दिएका छन् ।

अमेरिकी पछिल्ला तथ्याङ्क कस्ता छन् ?
कोभिड ट्र्याकिङ प्रोजेक्टका अनुसार अमेरिकामा महामारी शुरू भए यता ८५ लाख कोरोनाभाइरस सङ्क्रमित भएका छन् ।

शुक्रवारको सङ्ख्या यस अघिको सर्वाधिक सङ्ख्या जुलाई १७ मा रहेको ७६ हजार ८ सय ४२ भन्दा ६ हजारले बढी छ ।

गत एकहप्तामा ४ लाख ४१ हजार भन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ । जुन जुलाई यताको सबभन्दा धेरै साप्ताहिक सङ्ख्या हो ।

कोभिड–१९ का कारण मृत्यु हुनेको सङ्ख्या पनि गत ६ दिनमा उल्लेख्य रूपमा बढेको छ । तर त्यो एप्रिलमा दैनिक २ हजारको मृत्यु भएको भन्दा कम भएपनि अस्पताल भर्ना हुनेहरूको सङ्ख्या बढ्दो छ ।

शुक्रवारको तथ्याङ्क अनुसार ४१ हजार ४ सय ८५ मानिसहरूको अस्पतालमा उपचार भइरहेको छ । यो अगष्ट यताको सबभन्दा उच्च सङ्ख्या हो तर अप्रिल र जुलाईको भन्दा कम ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts