दशैँमा टीका थाप्दा र पिङ खेल्दा विचार गरौँ, कोरोना उपहार बन्ला



Download our app to get more features

काठमाडौं, १० कात्तिक । सरकारले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकोले दशैँ मनाउँदा विशेष ख्याल गर्न आग्रह गरेको छ । दशैँमा मान्यजनबाट टीका थाप्ने चलन रहेको र ज्येष्ठ नागरिकबाट टीका थाप्दा उनीहरुलाई कोरोना सार्ने जोखिम हुने भन्दै यो वर्ष ख्याल गर्न आग्रह गरेको हो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले सङ्क्रमण भएका ठाउँबाट गाउँघरमा जाँदा कोरोना भाइरस पनि सँगै लगिने खतरा रहेकोले यो वर्ष टीका थाप्नकै लागि सकेसम्म यात्रा नगर्न आग्रह गरेका छन् । 

दशैँ अर्काे वर्ष पनि आउने भन्दै हामीले हाम्रा हजुरबुबा, हजुरआमा तथा बुबा–आमालाई कोरोना लगिदियौँ भने ज्यानसमेत जान सक्ने प्रवक्ता गौतमले बताए । ज्येष्ठ नागरिकहरु कोरोना सङ्क्रमण तथा सङ्क्रमण भएपछि जटिल अवस्थामा पुग्ने खतरा धेरै रहेकोले सकेसम्म उनीहरुको छेउमा नजान सरुवा रोग विशेषज्ञ डाक्टर शेर बहादु पुने भनेका छन् ।

दशैँको टीका थाप्ननका लागि मात्र यात्रा नगर्न र घरबाहिर गइरहने व्यक्तिले ६० वर्षमाथिका ज्येष्ठ नागरिकबाट टीका नथाप्न पनि उनले आग्रह  गरेका छन् ।  

बाटोमा मानिसहरु मास्क लगाएर हिंड्छन तर जब कोही भेटिन्छन मास्क खोलेर कुरा गर्न थाल्छन । उनीहरुले के कुरा बुझेनन भने मास्क भनेको कुरा गर्दा लगाउने हो । यतिकै नबोली हिंड्दा त नलगाए पनि फरक पर्दैन । जब कोही बोल्छ अनि मात्र कोरोना सर्ने सम्भावना बढी हुन्छ ।  आफन्तलाई के कोरोना हुन्छ र ? यो त मेरो मान्छे भन्नेहरु पनि छन् । कोरोनाले मेरो (तेरो भन्दैन । यी र यस्तै गल्तीका कारण नेपालमा कोरोना झनझन बढ्दै गइरहेको  डा. पुनको बुझाई छ ।

यतिबेला कोरोना उपचारमा प्रयोग भएका रेम्डिसिभिर लगायतका औषधिले केही काम गर्छन की भन्ने ठूलो आश पनि निराशामा परिणत भएको छ । यी औषधि प्रयोग गर्नु र नगर्नुमा खासै फरक पाइएन भन्ने रिपोर्ट आएको छ । यसले पनि कोरोना उपचारमा हालसम्म कुनै औषधि सहयोगी देखिएन । त्यसैले यो समयमा आप्नो ख्याल आफै राख्नुपर्नेमा डा. पुनले जोड दिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार काठमाण्डौमा एक हप्तामा १० हजारभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । सरकारले तोकेको मापदण्ड पूर्ण पालना नहुँदा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको उनले बताए । उपत्यकाभित्र बढेको चहलपहलका कारण सङ्क्रमणको खतरा अझ बढेको उनको भनाइ छ । 

बाहिरी जिल्लाबाट आएपछि दुई हप्ता अनिवार्य होम क्वारेन्टीनमा बस्न भनिए पनि त्यसको पालना नभएको उनले बताए । समस्या परिहाले टोल फ्री नम्बर ११३३ र मोबाइल नम्बर ९८५१२५५८३७ तथा ९८५१२५५८३९ सम्पर्क गर्न पनि उनको आग्रह छ । 

यसैगरी डा.गौतमले सकेसम्म चाडपर्व घरभित्रै बसेर मनाउन आग्रह गरेकाछन् । दशैँमा सार्वजनिक ठाउँमा पिङ नहाल्न पनि सरकारको आग्रह छ । सार्वजनिक ठाउँमा हालिएका पिङ धेरैले प्रयोग गर्ने भएकाले सङ्क्रमणको जोखिम बढ्ने भन्दै पिङ नहाल्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । सार्वजनिक स्थानको पिङ धेरैले खेल्ने भएकाले संक्रमण फैलिने जोखिम धेरै हुन्छ, त्यसैले यो वर्ष पिङ नखेल्न उनले अनुरोध गरेका छन् । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts