प्रादेशिक आयुर्वेद अस्पताल सञ्चालनको अन्य प्रक्रिया पूरा भएपनि अधुरो भवन बाधक



Download our app to get more features
Spark_health_home

धनगढी, ७ चैत । धनगढीमा संघीय सरकारको बजेटमा निर्माण भइरहेको प्रादेशिक आयुर्वेद अस्पताल सञ्चालन गर्न आवश्यक पर्ने सबै कानूनी प्रक्रिया पूरा भइसकेको छ । तर धनगढी उपमहानगरपालिका–१३ राजपुरमा निर्माण भवन निर्माणको काममा ढिलाई हुँदा अस्पतालले सेवा सञ्चालन गर्न सकिएको छैन । 

उपचार सेवा प्रदान गर्न आवश्यक पर्ने शैया खरिद र अस्थायी दरबन्दीअनुसार जनशक्ति पनि भर्ना गरिसकिएको छ । भवन लगायतका संरचना हस्तान्तरण हुने बित्तिकै सेवा प्रारम्भ गर्ने प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले प्रादेशिक आयुर्वेद अस्पताल र सेती आयुर्वेदिक औषधालयलाई गाभेर सेवा विस्तार गर्नेगरी आवश्यक प्राविधिक तयारी पूरा भइसकेको बताए । 

‘अस्पताल सञ्चालनका लागि प्रदेशको मन्त्रिपरिषद्ले ३७ जनाको अस्थायी दरबन्दी पनि स्वीकृत गरिसकेको छ’ प्रवक्ता कार्कीले भने, ‘अस्पतालका लागि आवश्यक पर्ने ५० शैया पनि खरिद गरिसकिएको छ । संरचना निर्माण भएसँगै अस्पतालको सेवा सुरू हुनेछ ।’
 
प्रादेशिक आयुर्वेदिक अस्पतालको संरचनामा अहिले रङ्गरोगन र फिनिसिङ्गको काम चलिरहेको छ। भवन निर्माणका लागि २०७४ पुसमा ठेक्का पाएको एमके जेभी कन्स्ट्रक्सन कम्पनीले निर्माण गरिसक्नुपर्ने ३० महिनाभित्र काम नसकेपछि ८ महिना समय थप गरिएको थियो । तर सो अवधिमा पनि संरचना निर्माण हुन सकेको थिएन । 

एमके जेभी कन्स्ट्रक्सन कम्पनीका प्रतिनिधि चन्द्र शाहले कोरोना महामारीका कारणले एक वर्ष काम गर्न नसकिएको बताए । साथै भवन परिसरमा भएका  रूख कटानमा ढिलाई हुँदा काम लम्बिएको उनको भनाइ छ । 

अहिले संघीय सरकारको १६ करोड ३६ लाखको लागत रहेको प्रादेशिक आयुर्वेदिक अस्पतालको भौतिक संरचनाको काम झण्डै ९० प्रतिशत सकिएको दावी गरिएको छ । 

शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन ईकाइ धनगढीका प्रमुख झङ्क थापाले चालु आर्थिक वर्षको अन्त्यसम्ममा निर्माण सम्पन्न गरि सम्बन्धित निकायलाई हस्तान्तरण गरिने बताए ।
 
अस्पतालको लागि चाहिने अन्य उपकरणहरू जस्तै एक्सरे मशिन, अल्ट्रासाउण्ड मशिन र प्रयोगशालाको लागि भौतिक उपकरणको व्यवास्थापन पनि भएरहेको प्रादेशिक आयुर्वेद अस्पतालका निमित्त प्रमुख डक्टर खगेन्द्र बमले बताए ।

उनले प्रादेशिक अस्पतालबाट सेवाग्राहीले पेटसम्बन्धी रोगको उपचार, बाथ रोग, जण्डिर, पिनास, पाइल्सलगायतको रोगहरूको प्राकृतिक चिकित्सा पद्धतिबाट पाउने बताए । 

‘अहिले मानिसहरू आयुर्वेदिक चिकित्साप्रति आक्रशित हुन थालेका छन्’ उनले भने,  ‘आयुर्वेदिक अस्पतालमार्फत विशेषज्ञ सेवा सुरू भए सुदूरपश्चिम प्रदेशका साथसाथै नेपाल अधिराज्यभरीका सेवाग्राहीहरू लाभान्वित हुनेछन् ।’

Hamro Doctor
Last modified on 2021-03-20 14:18:58

Kathmandu Cancer Center alka Norvic Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts