मौसमी ज्वरोका बिरामीको संख्या बढ्दै, कसरी पहिचान गर्ने मौसमी ज्वरो र कोरोना संक्रमण?

What's This?


Download our app to get more features

नेपालमा पछिल्लो समय कोरोना संक्रमितभन्दा बढी मौसमी ज्वरोका बिरामीहरुको संख्या बढ्न थालेको छ । अब विस्तारै बिहान र बेलुकाको समयमा चिसो हुन थालेको र मौसम पनि परिवर्तन भएका कारण अस्पताल आउने अधिकांश बिरामीमध्ये मौसमी ज्वरो र रुघाखोकीका बिरामीको संख्या बढ्न थालेको हो ।

देशका अधिकांश अस्पतालहरुमा पछिल्लो समय कोरोनासँग मिल्दोजुल्दो लक्षण लिएर बिरामीहरु आउने गरेको तर, उनीहरुमा कोरोना संक्रमण नभएर इन्फ्लुएन्जासहितका संक्रमण देखिएको चिकित्सकहरु बताउँछन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल युनिटका प्रमुख एवं सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार पछिल्लो पाँच हप्तादेखि अस्पतालमा आउने बिरामीको संख्या बढेको देखिन्छ । तर, तीमध्ये अधिकांशमा कोरोनाभन्दा पनि मौसमी ज्वरो देखिएको  छ । 

कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका कारण अस्पताल आउने बिरामीको संख्या बढी देखिएको छ । तर, तीमध्ये अधिकांशमा मौसमी ज्वरो र रुघाखोकी पुष्टि हुने गरेको पाइएको उनको भनाइ छ ।

काठमाडौं मात्रै होइन प्रदेश नम्बर २ मा पनि पछिल्लो समय कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण लिएर अस्पताल आउनेको संख्या बढेको छ । 

जनकपुर प्रादेशिक अस्पतालका प्रमुख डा. जामुन प्रसाद सिंहले पछिल्लो समय अस्पताल आउने अधिकांश बिरामीमा इन्फ्लूएन्जा देखिएको बताए । उनले ज्वरो, रुघाखोकी, टाउको दुख्ने, घाँटी दुख्ने समस्या लिएर अस्पताल आउने बिरामीमा कोरोना संक्रमणभन्दा पनि मौसमी रुघाखोकी र ज्वरो देखिएको बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पनि प्रदेश नम्बर २ मा पछिल्लो समय कोरोना संक्रमणभन्दा मौसमी रुघाखोकी र ज्वरोका बिरामीको संख्या बढेको छ । विशेषगरी जनकपुर, पर्सा, बारा, सिरहा लगायतका जिल्लामा मौसमी रुघाखोकी र ज्वरोका बिरामीको संख्यामा वृद्धि भएको मन्त्रालयका प्रवक्ता डा.कृष्ण प्रसाद पौडेलले हाम्रो डक्टर न्यूजलाई बताए ।

उता सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा पनि भाइरल ज्वरोका बिरामीको संख्या बढेको देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख नोखराज पोखरेलले जिल्ला अस्पताल रोल्पामा भाइरल ज्वरोका बिरामीको संख्या बढेको बताए ।

उनले अस्पतालमा दैनिक आउने बिरामीमध्ये अधिकांशमा भाइरल ज्वरो लगायतको समस्या देखिएको भन्दै अधिकांश १८ वर्ष मुनिका बालबालिका रहेको पनि प्रष्ट पारे । उनले भने, ‘अस्पताल आउने बिरामीहरु उच्च ज्वरो, रुघाखोकी लगायतका समस्या लिएर आउँछन् । तर, कोरोना परीक्षण गर्दा उनीहरुमा कोरोना नेगेटिभ देखिन्छ । यसैले प्रष्ट हुन्छ कि अहिले कोरोनाभन्दा भाइरलका बिरामी बढेका छन् ।’

सरकारले पछिल्लो समय देशभरका विभिन्न अस्पतालमा भाइरलका बिरामी बढे पनि कोरोना नै नभएको बताएको छ । भाइरल नै भए पनि एकबाट अर्कोमा सर्ने भएकाले मास्क लागाउन, दुरी कायम गर्न र सरसफाइमा ध्यान दिन चिकित्सकहरुको सुझाव छ । 

के हो मौसमी ज्वरो ?
डा.पुनका अनुसार इन्फ्लुएन्जाको छोटो नाम ‘फ्लू’ र यो मौसम परिवर्तन हुँदा देखिने भएर यसलाई सिजनल फ्लू भनिएको हो । सामान्य अर्थमा भन्दा यसलाई सरुवा रोगपनि भन्ने गरिन्छ ।

यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा खोक्दा वा हाच्छ्यूँ गर्दा सर्न सक्छ । यो रोग प्रायः सामान्य रुघाखोकीको रुपमा देखा पर्ने र यसका लक्षणहरु केही दिनमा आफैँ हराएर जान्छ भने केही मानिसमा जटिलताहरु पनि देखा पर्न सक्छ । 

विशेष गरी गर्भवती महिला, ५ वर्ष मूनिका बालबालिका, ६५ वर्ष भन्दा माथिका जेष्ठ नागरिक, रोग प्रतिरोध क्षमता कम भएका व्यक्तिहरु र दीर्घ रोग (मधुमेह, उच्च रक्तचाप, मिर्गौला सम्बन्धिरोग, दम र अन्य श्वास–प्रश्वास सम्बधि दीर्घ रोग, आदि) बाट प्रभावितहरुमा यसको जोखिम बढी हुन्छ र मृत्यु हुने सम्भावना पनि अन्य भन्दा बढी हुन्छ ।

कोरोना र सिजनल फ्लू कसरी थाहा पाउने ?
कोरोना र सिजनल फ्लू थाहा पाउन गाह्रो छ । कारण, कोरोना र सिजनल फ्लूको लक्षण धेरै नै मिल्दोजुल्दो हुन्छ । कोरोना र सिजनल फ्लूमा निमोनिया पनि देखिने भएकाले यसलाई गम्भीर मान्नुपर्छ । धेरैजसो लक्षणहरु मिल्दोजुल्दो हुन्छ भने केहि लक्षण फरक देखिन्छ । 

कोरोना लागेको मान्छेलाई स्वाद र गन्ध बढी मात्रामा थाहा नहुँने हुन्छ भने सिजनल फ्लूका बिरामीलाई कम हुन्छ । त्यस्तै बिरामीको सम्पर्कमा आएको ३/४ दिनमा सिजनल फ्लूको लक्षण देखिन्छ भने कोरोनाको ५/६ दिनमा देखिन्छ वा नदेखिन पनि सक्छ । 

सिजनल फ्लू देखिएको ५/६ दिनमा ज्वरो कम हुँदै जान्छ भने कोरोनामा ९/१० दिनसम्म ज्वरो रहिन रहन सक्ने र निमोनिया गराउन सक्छ । त्यस्तै सिजनल फ्लू बालबालिकामा धेरै देखिन्छ भने कोरोना बालबालिकामा तुलनात्मक रुपमा कम देखिएको छ । तर, सिजनल फ्लू र कोरोना छुट्ट्याउने राम्रो तरिका भने परीक्षण नै गराउनु हो । परीक्षणबाट पुष्टि गर्न सजिलो भएकाले परीक्षण गराउनु नै उत्तम विकल्प पनि हो ।

सिजनल फ्लू भएका व्यक्ति कुन अवस्थामा अस्पताल जाने ?
सिजनल फ्लू भएमा घरमै बसेर आराम गर्नु पर्छ । सिजनल फ्लू, घरमै बसी राम्रो हेरचाह गरेमा निको हुन पनि सक्छ । तर, यदि बिरामीलाई श्वास फेर्न गाह्रो भएमा, धेरै ज्वरो आएमा वा निरन्तर ज्वरो आएमा अस्पताल जानु उचित हुन्छ ।

सिजनल फ्लूको घरेलु उपचार :
सिजनल फ्लूको बिरामीलाई जति हुन्छ आराम गर्न दिनुपर्छ । खानपानमा बढी जसो झोलिलो खानेकुरा दिनुपर्छ । बेला बेलामा ज्वरो नाप्ने र चिकित्सकको सल्लाह अनुसार औषधिको सेवन गर्नुपर्छ । 

फ्लूका बिरामीले सकेसम्म अरुको सम्पर्कमा आउनबाट जोगिनुपर्छ । उसले प्रयोग गर्ने सामानहरु अरुलाई प्रयोग गर्न दिनु हुँदैन । यसले अरुलाई पनि रोग सर्ने जोखिम हुन्छ ।

Last modified on 2021-08-31 17:08:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts