समयमै फोहोर व्यवस्थापन नहुँदा मानव स्वास्थ्यमा गम्भीर असरः डा.भुसाल



Download our app to get more features

नेपालका अधिकांश क्षेत्रमा फोहोरको उचित व्यवस्थापन हुन सकिरहेको छैन । तपाईं हामी सबैमा यो सर्वविदितै छ । काठमाडौं उपत्यका होस् वा अन्य सहर, समयमै फोहोरको उचित व्यवस्थापन हुन सकिरहेको छैन । जसका कारण सहर मात्रै कुरुप बनेको छैन त्यसले मानव स्वास्थ्यलाई पनि गम्भीर असर पारिरहेको छ । 

विशेषगरी वर्षेनी काडमाडौं उपत्यकामा वर्षाको समयमा फोहोर व्यवस्थापनको समस्या नहुँदा त्यसले मानव स्वास्थ्यमा गम्भीर असर परिरहेको छ भने कतिपय स्थानमा त फोहोरको उचित व्यवस्थापन गर्ने तर्फ कसैको पनि चाँसो नै देखिँदैन । जनकपुर, बारा, सिन्धुपाल्चोक, पोखरा लगायतका स्थानमा पनि फोहोरको उचित व्यवस्थापन समयमै नहुँदा त्यसले मानव स्वास्थ्यलाई गम्भीर असर पुर्याइरहेको छ ।  

हुन त पछिल्लो केहि समयदेखि वर्षापनि कम हुँदै गएको छ भने काठमाडौं उपत्यकामा विभिन्न चोकचोक र स्थानमा थुप्रिएका फोहोर उठाउन थालिएको छ । तर, त्यस्ता फोहोर वर्षा भइरहेको समयमा पानीसँगै बगेर विभिन्न खोलानालामा मिसिएर त्यसले दुर्गन्ध मात्रै फैलाएको छैन नजिकैको बस्तीलाई पनि प्रभावित बनाएको छ । 

फोहोरले दुर्गन्ध फैलाउँदै गर्दा त्यसमा देखिने विभिन्न किटाणु हावाको माध्यमबाट घरभित्र प्रवेस गर्ने र खानेकुराहरुमा पनि मिसिने सम्भावना हुँदा त्यसले विभिन्न सङ्क्रामक रोगहरु पनि फैलाउने गरेको छ । फोहोरको डुङ्गुरमा रहेका झिङ्गा र अन्य किटाणुका कारण मानिसहरूमा झाडापखाला, छाला चिलाउने, वान्ता गराउने जस्ता रोगहरु देखिन सक्छ ।

पानी र खानेकुराको माध्यमबाट विशेषगरी देखिने भनेको झाडापखाला, जन्डिस, ज्वरो आउने, हैजा, फुड पोइजन जस्ता अन्य सरुवा रोगको प्रकोप पनि फैलने जोखिम बढेर जान्छ । साथै हेपाटाइटीस ए र ई, आउँ रगत, टाइफाइड समेत फैलने भएकाले फोहोरको उचित र समयमै व्यवस्थापन गर्नु आवश्यक हुन्छ ।

त्यस्तै फोहोरको गन्धले मानिसहरुमा मानसिक समस्याहरु देखिने, एन्जाइटि हुने खालका समस्याहरु पनि देखिन सक्दछ ।

कसरी बच्ने ? 
यस्ता सरुवा रोगहरूबाट बच्नका लागि साबुन पानीले राम्रोसँग हात धुने । राम्रोसँग पकाएको खानेकुरा खाने, काँचो खाने कुरालाई राम्रोसँग पखालेर खाने गर्नुपर्र्छ । त्यस्तै पिउने पानी उमालेर वा शुद्धिकरण गरेर पिउने, बासी खानेकुराहरु सकेसम्म नखाने । 

त्यसैगरी फोहोर व्यवस्थापन गर्ने निकायहरुले समयमा नै फोहोर व्यवस्थापन गर्ने साथै फोहोर व्यवस्थापनको योजना दीर्घकालिन बनाउनु हुन्छ । अहिले झन् कोरोना महामारीको अवस्थामा कतिपयले प्रयोग गरेका मास्क, पीपीई, ग्लब्स लगायतका सामानहरु पनि फोहोरसँगै फालिदिने भएकाले फोहोर सङ्कलन गर्नेहरुले पनि विशेष सावधानी अपनाएर फोहोर व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

वर्षाको समयमा मात्रै होइन अन्य समयमा पनि फोहोरको उचित व्यवस्थापन समयमै नहुँदा त्यसले रोग लाग्ने जोखिम बढेर जान्छ । त्यसकारण फोहोरको उचित व्यवस्थापन गर्ने बेला राम्रोसँग थैलीमा बाँधेर दिनुपर्छ ।

Last modified on 2021-09-12 19:45:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts