भरतपुर अस्पतालमा आजदेखि जनरल ओपिडी सेवा सुरु



Download our app to get more features

चितवन, १८ असोज । भरतपुर अस्पतालमा आजदेखि जनरल ओपिडी सेवा सुरु भएको छ । बिरामीको चाप बढेसँगै अस्पतालले जनरल ओपिडी सेवा सुरु गर्न लागेको हो । 

अस्पतालका जनरल ओपिडीका कार्यक्रम संयोजक मेडिकल जनरलिष्ट डा. जगन्नाथ तिवारीका अनुसार बिरामीले  लामो समयसम्म कुर्न नपरोस् भनेर सो सेवा सुरु गरिएको हो । 

डा.तिवारी भन्छन्, 'कतिपय बिरामीहरुलाई अस्पताल आएपछि जचाँउन कहाँ जाने भन्ने कुरा थाहा नहुँन सक्छ, त्यस्ता बिरामीहरुका लागि यो सेवा सुरु गरेका हौ ।' 

यो सेवामा मेडिकल जनरलिष्ट र मेडिकल अफिसरले बिरामीको परीक्षण गर्ने छन् र आवश्यकता अनुसार थप परीक्षण गर्नुपर्ने भए विशेषज्ञकहाँ पठाउने उनले बताए । यो सेवा बिहान ८ः३० बजेदेखि दिउसो ३:०० बजेसम्म सञ्चालनमा रहने छ ।  

अस्पतालको अहिलेको प्रमुख समस्या बिरामीको भीड व्यवस्थापन समेत रहेको अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले बताए । बिरामीको चाप बढ्दा सेवा ग्राहीले घण्टौं कुर्नु पर्ने समस्या छ । यसरी जनरल ओपिडी विस्तार गर्दा बिरामीलाई राहत पुग्ने उनले विश्वास व्यक्त गरे । यसले कोभिड समयमा हुने भीडभाडबाट संक्रमण फैलन सक्ने जोखिम समेत कम हुने उनले बताए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा. कृष्ण प्रसाद पौडेलले अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन सेवा विस्तार गरी आजबाट जनरल ओपिडी सेवा सुरु गरिएको जानकारी दिए । 

ओपिडी टिकट काट्न लामो समय पर्खनुपर्ने अवस्थाको अन्त्य गर्ने लक्षका साथ छिट्टै अनलाइनबाट ओपिडी टिकट काट्ने व्यवस्था गर्न लागिएको उनले बताए । त्यसको लागि प्राविधिक काम भइरहेको उनले जनाए । पद्धतीको विकास गर्दै अस्पताललाई प्रविधिमैत्रि बनाउने लक्ष रहेको उनले बताए।

सरकारी यस अस्पतालमा चितवनसहित छिमेकी १९ भन्दा बढी जिल्लाबाट बिरामी उपचारका लागि आउने गरेका छन् । प्रसूति सेवाका लागि काठमाडौँको प्रसूतिगृह पछि सबैभन्दा धेरै प्रसूति सेवा दिनेमा यही  अस्पताल पर्दछ।

Last modified on 2021-10-05 05:51:30

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts