भरतपुर अस्पतालद्वारा तीन औषधि ‘सप्लायर्स’लाई कारबाही



Download our app to get more features

काठमाडौं, ५ कात्तिक ।  चितवनकाे भरतपुर अस्पतालले औषधिपसलमा सम्झौताअनुसारको औषधि नल्याउने तीन सप्लायर्सलाई कारबाही गरेको छ । सन फार्मेसी पोखरा, हिमसागर मेडिकल हल पोखरा र मेडिसेल्स फर्मा भरतपुरलाई कारबाही गरेको हो । 

अस्पताल विकास समितिको बैठकको निर्णयअनुसार ती पसललाई कारबाही गरिएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेललाई जानकारी दिए । उनका अनुसार अस्पतालमा आवश्यक औषधि खरिदको आदेश दिइसकेपछि  पनि उनीहरूले औषधि ल्याएका थिएनन् । 

औषधि ल्याउने समय १७ दिन र ताकेता गरेको समयमा समेत औषधि नल्याएपछि कारबाही गर्न बाध्य भएको उनले जानकारी दिए । अस्पतालले तीन पटकसम्म औषधि समयमा ल्याउनका लागि सप्लायर्सलाई ताकेता गरेको जनाइएको छ ।

कारबाही स्वरुप अस्पतालले औषधि बाहिर खरिद गर्दा र बोलपत्रमा सम्झौता हुँदाको मूल्यभन्दा थप परेको मूल्य सम्झौता गर्ने पक्षलाई तिर्न लगाएको छ । सरकारको ‘फार्मेसी निर्देशिका २०७४’ अनुसार अस्पतालमा फार्मेसी सञ्चालनमा आएपछि औषधि समयमा नल्याउने ठेकेदार कम्पनीलाई यस अस्पतालमा कारबाही गरिएको यो पहिलो रहेको अस्पतालको फार्मेसी विभाग प्रमुख सविनराज लामिछानेले जानकारी दिए ।

सन फार्मेसीले मधुमेहका बिरामीलाई आवश्यक पर्ने ‘मेटफर्मीन’ नामक औषधि विगत दुई महिनादेखि उपलब्ध गराउन छाडेको थियो । सो औषधि फार्मेसीले सम्झौताअनुसार १.४० पैसा प्रति ट्याब्लेटमा अस्पताललाई उपलब्ध गराउनुपर्ने हुन्थ्यो । लामो समयसम्म औषधि ठेकेदार कम्पनीले ल्याउन नसकेपछि अस्पतालले १.७५ पैसामा खरिद प्रक्रिया सुरु गरेको छ । सो फार्मेसीलाई सम्झौता भए भन्दा बढीको मूल्य तिर्न लगाइएको छ । यस फार्मेसीले २११ प्रकारका औषधि ल्याउने सम्झौतामा उल्लेख छ । 

यस्तै हिमसागर मेडिकलले मेटफर्मीन/ग्लिमेप्राइड नामक औषधि समयमा नल्याएको जनाउँदैै कारबाही गरिएको छ । विगत लामो समय देखि माग गरिएको औषधि नपाउँदा बिरामी मर्कामा पर्न थालेको जनाउँदै अस्पतालले आफैँ खरिद गरी सम्झौताभन्दा बढीको मूल्य ठेकेदार कम्पनीलाई तिर्न लगाएको छ ।

सो औषधि सम्झौताअनुसार ६।९८ पैसा प्रतिट्याब्लेट पर्नेमा अस्पतालले बाहिरबाट खरिद गर्दा रु सात मा खरिद गरेको सूचना अधिकारी पौडेलले जानकारी दिए । यस हलसँग १८१ प्रकारका औषधि ल्याउने सम्झौता भएको थियो । 

कारबाहीमा पर्नेमा मेडिसेल्स फर्माले डेक्सामेथासोन इन्जेक्सन (जीवन रक्षक औषधि) आकस्मिक कक्ष, सघन उपचार कक्ष र कोरोना भाइरस सङ्क्रमितलाई समेत प्रयोग हुने औषधि नल्याए पछि कारबाही गरिएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts