भारतमा कोरोनाका कारण मृत्यु हुनेदर उकालो लाग्दै, सङ्क्रमणदर २ दिनमै ७ प्रतिशतले बढ्यो



Download our app to get more features

भारत, २ माघ । भारतमा कोरोनाका कारण मृत्यु हुनेदर निरन्तर उकालो लाग्दै गएको छ । 

विगत ५ दिनदेखि भारतमा कोरोनाका कारण दैनिक ३ सयभन्दा बढीको मृत्यु हुन थालेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

कोरोना महामारीको दोस्रो चरणको लहरपछि ११ जनवरीमा सबैभन्दा धेरै ४ सय ४२ जनाको कोरोनाका कारण मृत्यु भएको थियो । त्यसयता लगातार ३ सयभन्दा बढीको कोरोनाका कारण मृत्यु हुन थालेको भारत सरकारले जनाएको छ । गत २४ घन्टामा मात्रै भारतमा ३ सय १४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । 

भारतमा हालसम्म कोरोनाका कारण ४ लाख ८६ हजार ९४ जनाको मृत्यु भइसकेको छ । 

यस्तै कोरोनाको तेस्रो लहर सुरु भएपछि झन्डै १० दिनदेखि भारतमा दैनिक १ लाखभन्दा बढी नयाँ सङ्क्रमित थपिने गरेका छन् । पछिल्लो ५ दिनदेखि भारतमा दैनिक २ लाखभन्दा बढीमा सङ्क्रमण पुष्टि हुन थालेको छ । गत २४ घन्टामा मात्रै भारतमा २ लाख ६८ हजार ९ सय ९९ जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै भारतमा हालसम्म कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या ३ करोड ७१ लाख १९ हजार ९ सय ६१ पुगेको छ ।

यसैबीच, सरकारले भारतमा सङ्क्रमणदर २ दिनमै ७ प्रतिशतले बढेको पनि बताएको छ ।

भारतका स्वास्थ्य विज्ञहरूले भने जनवरीको अन्त्यतिर वा फेबु्रवरीको सुरुको क्रममा भारतमा कोरोनाको तेस्रो चरणको लहर उच्च बिन्दुमा पुग्ने चेतावनी दिएका छन् । 

दिल्लीको जीटिबी अस्पालका निर्देशक डा.सुवास गिरीले सहरी क्षेत्रमा कोरोनाको पोजिटिभिटि दर उच्च रहेकाले जनवरीको अन्त्य वा फेबु्रवरीको सुरुवाति दिनमा कोरोनाको तेस्रो लहर उच्च बिन्दुमा पुग्ने बताए ।

उनले पोजिटिभिटिदर जसरी बढ्दै जान्छ, त्यसरी नै अस्पतालमा भर्ना हुने बिरामीको सङ्ख्या पनि बढ्दै जाने बताए ।

भारत कोरोना महामारीको दोस्रो चरणको लहरका कारण सबैभन्दा बढी प्रभावित मुलुक बनेको थियो । त्यसकारण तेस्रो चरणको लहरबाट ठूलो क्षति हुन नदिनका लागि सबै संयन्त्र परिचालन समयमै गर्न पनि विज्ञहरूले आग्रह गरेका छन् ।

Last modified on 2022-01-16 14:53:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts