विश्वभर ३ देखि ४ दिनमै करोडका दरले सङ्क्रमित थपिँदै, तर मृत्यु हुने दरमा भने कमी



Download our app to get more features

एजेन्सी, ४ माघ । विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेको सङ्ख्या तीव्र गतिमा बढ्न थालेको छ । जसका कारण ३ देखि ४ दिनमै विश्वभर एक करोडभन्दा बढी नयाँ सङ्क्रमित थपिन थालेका छन् । 

३ दिन अघि विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेको सङ्ख्या ३२ करोड रहेकोमा आज सङ्क्रमितको सङ्ख्या ३३ करोड नाघेको छ । 

विश्वका विभिन्न मुलुकमा कोरोनाको तेस्रो चरणको लहर सुरु भएदेखि दैनिक १८ देखि २२ लाखका दरले मानिसहरू सङ्क्रमित हुन थालेका छन् । 

गत २४ घन्टामा मात्रै विश्वभर १९ लाख ७३ हजार ४ सय ७१ नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेको सङ्ख्या ३३ करोड १२ लाख ५८ हजार ३ सय ८२ पुगेको छ ।

अमेरिका, बेलायत, भारत, इटली, स्पेन लगायतका मुलुकमा १ लाखभन्दा बढीमा सङ्क्रमण पुष्टि हुन थालेको छ । पछिल्लो समय कोरोनाको ओमिक्रोन भेरिएन्टका कारण विश्वभर तीव्र गतिमा कोरोना सङ्क्रमणको दरले तीव्रता पाएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । 

कोरोना भाइरस फेला परेदेखि हालसम्मको अवस्थामा ओमिक्रोनमा मृत्यु गराउनेभन्दा पनि मानिसलाई सङ्क्रमित गराउने क्षमता उच्च रहेकाले सङ्क्रमण दर ३ देखि ४ दिनमै करोड नाघ्न थालेको छ ।

सङ्गठनका अनुसार ओमिक्रोनका कारण सङ्क्रमण दर उच्च भएपनि मृत्यु हुनेदरमा वृद्धि नहुनु राहतको विषय बनेको छ । विश्वभर सङ्क्रमणदर २२ लाखका दरले थपिए पनि मृत्यु हुनेदर भने ४ देखि ५ हजारमा सिमित रहेको छ । 

कोरोनाको डेल्टा भेरिएन्टका कारण मृत्युदर दैनिक झन्डै १५ हजार पुगेको र सङ्क्रमणदर ५ देखि ६ लाखको हाराहारीमा रहेको थियो भने हाल सङ्क्रमणदर उच्च भएपनि मृत्युदर कम रहेको सङ्गठनको विश्लेषण छ ।

गत २४ घन्टामा पनि विश्वभर ४ हजार ९ सय ७३ जनाको मृत्यु भएको छ ।

सङ्गठनका अनुसार कोरोना महामारी सुरु भएपछि जारी खोप अभियानले पछिल्लो समय मृत्यु हुनेदरमा कमी आएको हो । सङ्गठनका प्रमुख डा.टेड्रोस एड्हनोम गेब्रेयससले विश्वभर जारी कोरोनाविरुद्धको खोप अभियानले मानिसहरूको मृत्यु गराउने दरलाई कम गरेको बताए । उनले पछिल्लो समय केहि मुलुकमा कोरोनाको बुस्टर मात्रा लगाउन थालिएकोमा खुशी पनि व्यक्त गरे । 

साथै उनले धनी मुलुकमा कोरोनाका कारण मृत्यु हुनेदर कम भएपनि गरिब र विपन्न मुलुकले अझै कोरोनाविरुद्धको खोपको एक मात्रा समेत पाउन नसकेकोमा चिन्ता व्यक्त गरे ।

उनले खोपको सबैमा पहुँचका लागि खोप वितरणमा धनी मुलुकहरूले विशेष ध्यान दिनुपर्ने पनि उल्लेख गरे ।

Last modified on 2022-01-18 12:54:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts