त्रिवि शिक्षण अस्पताल कलेजो प्रत्यारोपणको अन्तिम तयारीमा



Download our app to get more features

काठमाडौं,२४ चैत्र । त्रिवि शिक्षण अस्पताल कलेजो प्रत्यारोपणको अन्तिम तयारीमा पुगेको छ ।

‘जेठ दोस्रो साताभित्र कम्तीमा एक जना बिरामीमा प्रत्यारोपण गर्ने गरी तयारी भइरहेको छ,’ अस्पतालका प्रशासक मानबहादुर भट्टले भने। कलेजो प्रत्यारोपण गर्न जतिसक्दो छिटो तयारीमा जुटिरहेको प्रत्यारोपणको नेतृत्व गरिरहेका कलेजो तथा प्यानक्रियाज सर्जन प्राध्यापक डा. रमेशसिंह भण्डारीले बताए। ‘स्वास्थ्य मन्त्रालयमा केही काम बाँकी छन् त्यो पूरा हुने क्रममा छ,’ नागरिकसँग उनले भने।

प्रत्यारोपणमा आवश्यक सामग्री तयारी अवस्थामा रहेको, चार शड्ढयाको आइसियू, चिकित्सक समूह, चिकित्सकलाई तालिमलगायतका काम पूरा भइसकेको डा. भण्डारीले बताए। ‘कलेजो प्रत्यारोपणकै लागि एक चिकित्सकले भारतको मेदान्त अस्पतालबाट तालिम लिइसकेका छन्। अब नर्सहरुले पनि तालिम लिँदैछन, उनले भने।

बिरामीको कलेजोले काम गर्न छाडेपछि दोस्रो व्यक्तिको आधा कलेजो झिकेर राख्ने विधि हो कलेजो प्रत्यारोपण। कलेजो प्रत्यारोपण दुई तरिकाबाट गर्न सकिन्छ । मस्तिष्क मृत्यु भएका तर शरीरको मृत्यु नभएका व्यक्तिबाट कलेजोको आधा भाग निकालेर बिरामीलाई प्रत्यारोपण गर्न सकिन्छ। यस्तै जीवित व्यक्तिको आधा कलेजो शल्यक्रियाका माध्यमबाट निकालेर बिरामीमा प्रत्यारोपण गरिन्छ ।

(आजको नागरिक दैनिकबाट)

Last modified on 2018-04-07 12:10:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts