पायल्स भनेर क्यान्सर पालेका जगन्नाथको प्रश्नः के जीवनको क्षतिपुर्ति मुद्रामा हुनसक्छ ? 


Download our app to get more features
Spark_health_home Birat Hospital

मेरी श्रीमती तुलसा घिमिरेले विभिन्न अनलाईनहरुमा मेरो स्वास्थ्य समस्या बारेमा लेखेको लेखमा जिज्ञासा राख्दै फिजिसियन डाक्टर समिर लामाको रोग ढिला पत्ता लाग्नुमा डाक्टरलाई मात्र दोष दिनु गलत हो भन्ने शीर्षकमा अर्काे लेख आएपछि म यस सम्बन्धमा चुप बसि रहन सकिन  । सबैभन्दा पहिला डाक्टर समीर लामालाई धन्यवाद भन्न चाहन्छु । हाम्रो भोगाई पढेर आफ्नो विचार राख्नुभएकोमा । मेरो स्वास्थ्यमा देखिएको समस्यादेखि रोग निदान हुने बेला सम्मको अवधिमा यहाँको अस्पताल,डाक्टरको परामर्श र हचुवाका भरमा गरेका उपचारको परीणामले अहिले मैले भोग्नुपरेको पीडा समग्र पाठक र दर्शक समक्ष राख्दैछु । कसैलाई आक्षेप लगाउने मेरो आशय पटक्कै होइन  । मेरो प्रमुख उद्देश्य भनेको अहिलेका अस्पताल, अस्पतालमा भएका कमिकमजोरी अनि यहाँको उपचार पद्धतीले निम्ताईरहेका नयाँ स्वास्थ्य –समस्या रह्यो समस्या समाधानमा सम्वन्धित निकायको ध्यान तत्कालै जाओस् र बिरामी स्वयम पनि सचेत होऊन भन्ने हो । लेखको सुरुवात मेरो उपचारमा अपनाउन खोजिएकोे दुई वटा प्रयोगवाट गर्दैछु ।

प्रयोग नम्वर–१

vayoda

bp_ad

मैले ६÷८वर्ष अघि देखी डाक्टरको प्रिस्क्राईव अनुसार नै पायल्सको नियमित औषधी खाईरहेको थिए । दिशामा रगतको मात्रा अरु सामान्य दिनको भन्दा वढी देखिएको र मासुको आकार ठुलो भएको जस्तो अनुभव भएपछि परिवारको सल्लाह अनुसार एकपटक आयुर्वेद्धिक पद्धति अनुसार उपचार गर्न आफन्त मार्फत २०७३÷१२÷९ गते त्रि.वि. आर्युवेद्धिक शिक्षण अस्पतालका डाक्टर रामाधार यादवलाई फोन गरेर मैले आफ्नो सबै समस्या सुनाएँ र उहाँले आफ्नो क्लिनक केयर आर्युवेदामा तत्कालै आउन सुझाउनुभयो ,मलाई निकै नै गाह्रो भईरहेकाले सोही दिन म दाजुलाई लिएर उहाँको क्लिनिक गए । असह्य दुखाईका साथ त्यहाँ पुगेका हामीलाई क्लिनिकको प्रदुषित वातावरणले बिरामी जाँच्ने अरु समग्र स्थानको नै बेईज्जत हुनेगरि गिज्ज्याई रहेको थियो । बल्खुस्थित टाटा सुमोे काउण्टरको एक तलामाथि रहेको उक्त क्लिनकमा बिरामी जाँच्ने र अप्रेशन थिएटर एउटै कोठामा थियो । अप्रेशन थिएटरमा एउटा टेवुल,एउटा विजुली– चिम,एक जना डाक्टर र एक जना क्लिनक सञ्चालक । यति अव्यवस्थित कि , बिरामी जाँच्ने स्थानको त्यस्तो लाजमर्दाे  दृश्य मैले आजसम्म देखेको थिईन । मलाई छिर्ने बित्तिकै लाग्यो,यो त डाक्टरले विरामी उपचार गर्ने स्थान होईन उल्टै बिरामीमा थप संक्रमण गराउने थलो हो ।

डाक्टरलाई भेट्न गएकाले मैले सुरुमा केहीपनि नबोली स्वास्थ्य परीक्षण गराएँ ।  डाक्टर रामाधार यादवले अपनाउनुभएको उपचार शैली मलाई विल्कुलै नयाँ र नौलो लाग्यो, उहाँले मलद्धारमा औषधी हाल्नुभयो र शौचालय गएर मासुको कत्रो डल्लो निस्कन्छ निकालेर त्यतिकै आउनु भन्नुभयो । शौचालय क्लिनिक भन्दा बाहिर थियो, फोहोरको म बयान गर्न सक्दिन तैपनि शौचालय गएर डाक्टरले भने जसरी आएँ । डाक्टरले त्यो मासु छोएनन्, मोबाईलले फोटो खिची मेरो दाईलाई पायल्सको ग्रेड–३ हो, तुरुन्तै अपरेशन गर्नुपर्छ भन्नुभयो । मैले यस्तो ठाँउमा मरेपनि अपरेशन गर्दिन र यस्तो अरुलाई पनि गर्न दिन्न भनेर फर्किएँ । डाक्टरमात्र दोषी होईन भनेर भन्नुभएको डाक्टर समिर लामालाई सम्मानका साथ सोध्न चाहन्छु कि डाक्टर रामाधार यादवको परीक्षण विधि सही थियो ? यदी सो दिन मैले सर्जरी गरेको भए के म आज जिउँदो हुन्थें ? डाक्टर यादवको क्लिनिक बिरामीको सर्जरी गर्न योग्य छ ? के डाक्टर यादवको क्लिनिक, साधन स्रोत र जनशक्ति एवं प्राविधिक दक्षताले सर्जरीको लागी योग्य छ ?

प्रयोग नम्वर –२

सम्भवत नेपालको सबैभन्दा आधुनिक अस्पतालका रुपमा मानिएको मेडिसिटी अस्पताल र त्यहाँका निर्देशक समेत रहेका प्रतिष्ठित एवं वरिष्ठ सर्जन डा. सुनिल शर्मालाई मैले आफ्नो समस्या एवं रगत चढाएको समेत सम्पुर्ण रोगको हिष्ट्री बताएपछि उहाँले मेरो मलद्धारमा औलो एवं प्रोटोष्कोप हाली परीक्षण गरेपश्चात पायल्स नै भएको र तुरुन्तै Stapled Hemorrhoidectomy विधिबाट सर्जरी गर्नुपर्ने र यसका लागी अनुमानित खर्च समेत बताउनुभयो । सर्जरीको तयारी एवं पायल्स कत्रो छ, कुन स्थानमा छ थाहा पाउनका लागी सिग्मोडोस्कोपी गरेर हेर्ने प्लान गर्नुभयो । यदी त्यहाँ पनि पायल्स भनेर अप्रेशन भएको भए के हुन्थ्यो ? वरिष्ठ सर्जनले पनि पायल्स र क्यान्सर वा ट्युमर के हो भनेर किन छुट्याउन नसकेको ?

जबकी मैले रोग सम्पुर्ण हिष्ट्री बताएको छु र उहाँ स्वयमले पनि परीक्षण गर्नुभएको छ । यसमा गल्ति कसको डाक्टर साप ?

अव लागौं डाक्टर समीरको लेख तर्फ

मैले डाक्टर समीरको लेख पढेपछि स्वास्थ्य पत्रकार मार्फत उहाँको मोबाइल नम्बर खोजेर उहाँलाई सम्पर्क गरें र मैले उहाँलाई पनि मेरो रोगको सम्पुर्ण हिष्ट्री बताउने मौका पाए । उहाँले पनि चासो दिएर मलाई सुन्नुभयो । मैले डाक्टर समीरलाई यी सवै कुराको जानकारी गराएपछि, वहाँले पनि लेख लेख्नलाई सल्लाह दिनुभयो । मैले आम पाठकहरुको जिज्ञासालाई सम्बोधन गर्ने कोशिश गरेको छु । अब सुरु लागौं डाक्टर समीर लामाको लेखको शीर्षक तर्फ । रोग ढिला पत्ता लाग्नुमा डाक्टरलाई मात्र दोष दिनु गलत हो । यो लेखको सुरुवातीमा मैले प्रष्ट पारिसकेको छु की यो लेख कसैलाई आक्षेप लगाउनका लागि लेखिएको होईन । आफ्नो भोगाई सबैमाझ ल्याएर अरुलाई म जस्तो पीडित हुनबाट जोगाउनका लागी हो । डाक्टर सापले धेरैजसो रोगको लक्षण सुरुमा देखिँदैन भन्नुभएको छ, मेरो श्रीमतिको लेखमा प्रष्टै भनिएको छ की, वर्षाैंदेखि दिशामा रगत देखिएको र मासु पलाएको लक्षण देखिएपछि हामीले उपचार सुरु गरेका थियौं । नियमित स्वास्थ्य जाँचको चलन छैन हाम्रोमा डाक्टर सापले भन्नुभए अनुसार नियमित स्वास्थ्य परीक्षण गराउने चलन हामीमा छैन । तर डाक्टर सापले यो लेखमा सामान्य चलन चल्तीको कुरा लेख्नुभएको छ । हामीलाई सोध्नुभएको पनि छैन । हामी नियमित स्वास्थ्य परीक्षण गथ्र्याैं र जहाँ परीक्षण गरिएपनि हामीलाई पायल्स नै भनिएको थियो । स्क्रिमी टेष्टलाई महत्व दिइँदैन, डाक्टर सापलाई जस्तो स्क्रिमीं टेष्ट भनेको बिरामीलाई कसरी थाहा हुन्छ ? स्क्रिमी टेष्टका बारेमा डाक्टरले बिरामीलाई भन्ने हो की बिरामीले डाक्टरलाई ,मैले यो कुरा बुझ्न सकिन । नेपालमा स्क्रिमी टेष्टको सुविधा कहाँ र कुन– कुन अस्पतालमा छ भन्ने जानकारी दिनुभए अन्य बिरामीलाई सहज हुने थियो की ?

लक्षण देखिसकेको अवस्था

डाक्टर सापलेके नेपालको उपचार पद्धती गलत छ?भनेर प्रश्न गर्नुभएको छ । मेरो डाक्टर सापलाई प्रश्न छ की मैले माथि प्रस्तुत गरेको म माथी दुई जना डाक्टरले गर्नुभएको प्रयोग मध्ये प्रयोग नम्वर–१ को उपचार पद्धती ठिक हो ? र प्रयोग नम्वर –२ को उपचार पद्धती प्रयोग गर्दा पनि पायल्स र क्यान्सर छुट्टीन नसक्नुको कारण के हो ? डाक्टर सापले सोध्नुभएको छ, के उहाँको क्यान्सर १० वर्ष अगाडी पत्ता लाग्न सक्थ्यो? सायद यस विषयमा डाक्टर सापलाई मलाई भन्दा धेरै थाहा छ । तर १० वर्ष अगाडी देखि हुँदै नभएको पायल्सको उपचार गर्नु र जुन समस्या हो त्यसको पहिचान नगर्नु वा सतही रुपमा परीक्षण गरी आफ्नो धारणा प्रस्तुत गर्नु मेरो क्यान्सरको कारक हो की होईन ?नेपालका एवं भारतका क्यान्सर विशेषज्ञका अनुसार १० वर्ष देखी एडीनो क्यार्सिनोमा शरीरभर नफैली रहन सक्दैन यसको अर्थ हो,१० वर्ष अगाडी मेरो दिशामा रगत देखिनु र मासुको टुक्रा देखिनु क्यान्सर नभई क्यान्सरको कारक तत्व ट्युमर थियो की ? १० वर्ष सम्म पायल्स हो की ट्युमर छुट्याउन नसक्ने उपचार पद्धती गलत हो कि उत्कृष्ट हो ?डाक्टर सापले भने अनुसार नै मलद्धारमा औला छिर्याएर जाँच्ने एवं प्रोक्टोस्कोप हालेर जाँच गर्दा पनि पायल्स र ट्युमर वा क्यान्सर छुट्याउन नसक्नुको कारण के हो ? आम पाठकलाई जानकारी गराईदिनु भए अझ प्रष्ट हुने थियो ।

सुरुमै गर्न सकिन्थ्यो क्रोनोस्कोपी जाँच?

कुनै पनि बिरामी चिकित्सक कहाँ जाँदा कुन परीक्षण कहाँ गर्ने, कस्तो बिरामीलाई कुन परीक्षण गर्ने भन्ने कुरा चिकित्सकले बिरामीलाई भन्ने की बिरामी स्वयंले मलाई यो परीक्षण गर्दिनोस् भन्ने ?अब डाक्टर सापले भने अनुसार क्रोनोस्कोपी जाँच गराउने ÷नगराउने कुरा विशेषज्ञकै होला । तर क्रोनोस्कोपीको अन्धाधुन्द व्यापार हुन्छ भनेर पहिला नै परीक्षण नगरेको भनेर तर्क गर्न डाक्टर सापलाई कत्तिको सुहाउला । डाक्टर सापले यस्ता गल्ती गर्छन् बिरामी भन्ने शीर्षकमा दिनुभएको जानकारी एकदमै समय सान्दर्भिक एवं नेपालको परिवेश सुहाउँदो छ । तर हाम्रो केसमा त्यो कुरा त्यति लागू भएको अवस्था भने होईन ।

अन्त्यमा,डाक्टर सापले प्रश्न गर्नुभएको छ नेपालका क्यान्सरका विशेषज्ञलाई नेपालमा रेक्टर क्यान्सरको स्तरीय उपचार नेपालमा सम्भव छैन ? के नेपाली जनताले यो लगायत विभिन्न क्यान्सर र अन्य जटिल उपचारहरुको लागी भारत लगायत विभिन्न देशहरुमा धाउनुपर्ने हो ? यो मेशिन,ज्ञान,औषधीको कमीले सिर्जित आवश्यकता हो कि,प्रशाशनिक कमजोरी ? व्यापरीतन्त्र र गलत प्रचार,मिडियाबाजीले सिर्जित भ्रमको अवस्था हो ?

यस विषयमा डाक्टर साप लाई मलाई भन्दा बढि थाहा छ । नेपालका वरिष्ठ क्यान्सर विशेषज्ञहरुसँग म दिल्ली हँुदा पनि यदी नेपालमै गुणस्तरीय उपचार अहिले दिल्लीमा उपलव्ध भएसम्मको नयाँ प्रविधीको रेडियो थेरापी एवं किमोथेरापी तथा अल्ट्रा एल ए आर सर्जरी भरपर्दाे एवं दक्ष जनशक्ति ,उपकरण उपलव्ध छ भने मलाई उपचार  एवं सर्जरी नेपालमै गराईदिनुस भनेर मैले प्रश्न गर्दा ,मेरो उमेरमा देखिएको क्यान्सरको उपचार नेपालमा एकदमै कम भएकाले दिल्लीमा गर्दा नै राम्रो हुने सुझाव अनुसार रेडियोथेरापी एवं सर्जरी दिल्लीमा नै भरपर्दाे एवं अत्याधुनिक प्रविधिवाट दक्ष चिकित्सकले गर्ने हुदा उतै गर्न सल्लाह दिनुभयो । किमोथेरापी नेपालमा नै गर्न सल्लाह दिनुभएको छ । हामीले त्यसै अनुसार उपचार गरिरहेका छौ । डाक्टर साप रहरले ,फेसनले या कसैलाई देखाउन हामी दिल्लीमा उपचार गर्न गएका होईनौ । म जस्ता बिरामीले मात्र वार्षिक ५ अरब भन्दा बढि दिल्लीको अस्पतालहरुमा क्यान्सरको उपचारमा मात्र खर्च गर्ने गरेको सुनेको छु । के ती सवै जना तपाईले भने जस्तै व्यापारीकरण वा मिडिया प्रचारवाजीले गएका हुन् कि डाक्टर रामआधार जस्ता चिकित्सकको उपचार पद्धती होस वा आफुलाई अत्याधुनिक र अन्तराष्ट्रिय दावी गर्ने मेडिसिटीका कारण बाध्यतावश आफ्नो ज्यानको मायाले सही उपचार पाउने आशमा गएका हुन् ?

अन्त्यमा, एउटा बिरामी डाक्टरकोमा जाँदा डाक्टरको बिरामीप्रतिको दृष्टिकोण कस्तो हुनुपर्ने होला ?त्यो बिरामी डाक्टरको लागी एउटा केस हुन सक्ला । एउटा केस सफल वा असफल हँुदैमा डाक्टरको जीवनमा खासै असर नपर्न सक्छ तर त्यो बिरामी कसैको छोरा/छोरी/श्रीमान्/श्रीमति/पिता/माता/दाजु/भाई/दिदि/वहिनी वा त्यस परिवारको मुख्य खम्वा नै हुनसक्छ । यदी गलत उपचारले त्यो घरको मुल खम्वा नै ढल्यो भने के हुन्छ ?त्यसको जिम्मेवार को हुन्छ ?डाक्टर ?उपचार पद्धति ? कि बिरामी स्वयं ?मेरो केसमा यदी यो घटना युरोप,अमेरिका वा विकसित अरु राष्ट्रमा भएको भए डाक्टरले क्षतिपुर्ति व्यहोर्नुपथ्र्याे कि पर्दैनथ्यो ? के मानिसको जिवनको क्षतिपुर्ति मुद्रामा हुनसक्छ ? यो लेखको उद्धेश्य डाक्टर समिर लामासँग वादविवाद गर्नु नभई आम नागरिकलाई हाम्रो देशमा भइरहेको स्वास्थ्य अवस्था सचेतना जगाउनु एवं डाक्टर सापले उठाउनुभएको प्रश्नहरुमा मेरो भोगाईको प्रष्फुटन मात्र हो । म सँग टेलिफोनमा कुरा गर्दा डाक्टर सापको उद्धेश्य पनि आम मानिसलाई सचेत गराउनु नै रहेको बताउनुभयो । मेरो यो अनुभववाट एक जना मात्र बिरामीलाई सचेत गराई समयमा नै सही उपचार पद्धती अवलम्वन गराउन सकेँ भने मेरो लेखको उद्धेश्य पुरा हुनेछ र मेरो यो लेख पढिसकेपछि मेरो भोगाईमा गल्ति कस्को छुट्याउने जिम्मा पनि तपाई सम्पुर्ण पाठकलाई दिन चाहन्छु ।

Last modified on 2019-01-05 06:18:51

ohm pharmaceuticals samyog_advertisement Kathmandu Cancer Center alka

Leave a Comment

NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts