स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि आठ जनाको दरखास्त

को को छन् दरखास्त दिनेमा ?



Download our app to get more features

काठमाडौं, १२ असोज । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि आठ जनाले  दरखास्त दिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भदौ २७ मा बोर्डको कार्यकारी निर्देशकका लागि आवेदन खुलाएको थियो । 

कार्यकारी निर्देशकको नाम सिफारिस गर्न मन्त्रालयद्वारा गठित सर्च कमिटि समक्ष आइतबार साँझ ५ बजेसम्म आठ जनाको दरखास्त परेको मन्त्रालयका सह प्रवक्ता डा समिर कुमार अधिकारीले हाम्रो डाक्टर न्यूजलाई बताए ।

यसअघि रिक्त रहेको सो पदमा खुल्ला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक छान्नका लागि मन्त्रालयले गत २७ भदौमा १५ दिनको अवधि दिएर दरखास्त आह्वान गरेको थियो ।
 
उनका अनुसार दरखास्त दिनेहरुमा डा पुष्पमणि खराल, सुकल्याण पराजुली, प्रकाशराज पन्त, डा कृष्णप्रसाद अधिकारी, डा दामोदर बसौला, प्रा गुञ्जबहादुर जिसी, सुदर्शन पौडेल र चुडामणि भण्डारी रहेका छन् । 

लोक सेवा आयोगको अध्यक्षतामा रहेको सर्च कमिटिले दरखास्तहरुको अध्ययन गरी अन्तिम सूची प्रकाशित गर्ने र त्यसपछि सूचीमा पर्नेहरुले व्यवसायिक कार्ययोजना सहित प्रस्तुतिकरण गर्नुपर्ने छ । त्यसको आधारमा मन्त्रिपरिषद समक्ष तीन जनाको नाम सिफारिस गर्ने र त्यहाँबाट एक जना छनौट हुनेछ ।

यसअघि खुल्ला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक बनेका रमेशकुमार पोखरेलले गत १७ असारमा पदबाट राजिनामा दिएका थिए ।

अहिले बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी स्वास्थ्य मन्त्रालयका सहसचिव डा राधिका थपलियाले सम्हालिरहेकी छन् ।

Last modified on 2020-09-28 09:17:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts