भारतका एक र नेपालका आठसहित थप ९ वटा स्यानिटाइजर बिक्रि वितरणमा रोक



Download our app to get more features

काठमाडौं, १२ असोज । औषधि व्यवस्था विभागले थप ९ वटा स्यानिटाइजरमाथि प्रतिबन्ध लगाउँदै बिक्रि वितरणमा रोक लगाएको छ ।

विभागले गुणस्तर परीक्षणको क्रममा विषाक्त रसायन मिथानोल भेटिएपछि थप ९ वटा स्यानिटाइजरमा प्रतिबन्ध लगाएको हो । 

राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकिएको मापदण्ड ‘इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजरसम्बन्धी स्तर २०७६’ विपरीत मानव स्वास्थ्यमा गम्भीर नकारात्मक असर पार्ने मिथानोल मिसिएको पाइएपछि एक विदेशी र ८ वटा स्वदेशी गरि थप ९ वटा स्यानिटाइजरमा प्रतिबन्ध लगाइएको विभागले जनाएको छ । 

प्रतिबन्ध लगाइएका स्यानिटाइजरहरुमा भारतको शिभिका कस्मेक्युटिकल्स लिमिटेड उत्तराखण्डको हर्बलट्री ह्याण्ड रब रहेको छ भने नेपालका आर केमिकल एण्ड प्याकेजिङ्ग इन्डस्ट्रीज पर्साद्वारा रिप्याक गरिएका कुम ह्याण्ड स्यानिटाइजर र क्लिन ह्याण्ड स्यानिटाइजर, कुमकुम हर्बल इण्डस्ट्रिज बनेपाका कुमकुम इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर (५०० मिलि) र ५ लिटर रहेका छन् । 

यस्तै, ओम आरोग्य हेल्थकेयर प्रालि इमाडोल ललितपुरको इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर, साधना सप्लायर्स काठमाडांैको साधना इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर तथा कालिका सोप एण्ड केमिकल इण्डस्ट्रिजका ड्रोन ह्याण्ड स्यानिटाइजर (पहेँलो रंगको) र रंगविनाका २ स्यानिटाइजर रहेका छन् ।  

विभागले सूचना जारी गर्दै यस्ता स्यानिटाइजरको उत्पादन तथा बिक्री वितरणमा तत्काल रोक लगाउँदै प्रयोग नगर्न पनि आग्रह गरेको छ ।

यसअघि विभागले ९ वटा स्यानिटाइजरमा प्रतिबन्ध लगाइसकेको छ ।

Last modified on 2020-09-28 10:00:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts