चितवनमा अस्पताल भर्ना हुने कोरोना संक्रमितको सङ्ख्या दोब्बरले बढ्यो



Download our app to get more features

चितवन, १ वैशाख । चितवनमा केही दिनमै अस्पताल भर्ना हुने कोरोना भाइरस (कोभिड–१९) संक्रमितको सङ्ख्या दोब्बरले बढेको छ । 

चैतको पहिलो साता जिल्लामा अस्पताल भर्ना हुने संक्रमितको सङ्ख्या शून्य थियो । त्यतिपछि बिस्तारै बढ्दो क्रममा रहेको छ । जिल्लामा केही दिनमै अस्पताल भर्ना हुने कोरोना संक्रमितको सङ्ख्या दोब्बरले बढेको छ ।

अस्पताल भर्ना हुने संक्रमितको सङ्ख्या ७ बाट १४ पुग्यो
स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सोमबार ७ जना अस्पताल भर्ना भएकामा मंगलबार दिउँसोसम्म त्यो सङ्ख्या दोब्बरले बढेर १४ पुगेको हो ।

अहिले जिल्लाभर ७८ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ७१ जना भरतपुर महानगरपालिका भित्रका मात्रै छन् । यो जिल्लाभर सक्रिय संक्रमितको ९१ प्रतिशत हो । जसमध्ये पनि १४ जनालाई अस्पतालमा भर्ना गरि उपचार गरिदैं छ । ती मध्ये केहीमा जटिल प्रकृतिका कोरोना लक्षण समेत देखिएको अस्पतालले जनाएको छ । बाँकी ७ जना संक्रमित हुनेमा जिल्लाका अन्य चार स्थानीय तहका छन् ।

जिल्लाका दुई स्थानीयतह अझै संक्रमणमुक्त 
जिल्लाका सातवटा स्थानीयतह मध्ये दुई वटा संक्रमणमुक्त रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । यसरी संक्रमणमुक्त हुनेमा माडी नगरपालिका र जिल्लाकै एकमात्रै गाउँपालिका इच्छाकामना रहेका छन् । बाँकी सबै स्थानीय तहमा पछिल्लो समय फेरि संक्रमण देखिएको हो । चैत पहिलो साता भरतपुर र रत्ननगर बाहेक सबै स्थानीयतह संक्रमणमुक्त भएका थिए ।

संक्रमितको सङ्ख्या ७ हजार नजिक, एकसय १२ को मृत्यु  
जिल्लाभर अहिलेसम्म ६ हजार ९ सय ९२ जना कुल संक्रमित भएका मध्ये एकसय १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका भित्रका सबैभन्दा बढी छन् । त्यस्तै, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकाका सबैभन्दा कम रहेका छन् । 

मृत्यु हुनेमा भरतपुर महानगरपालिकामा ७१ जना, रत्ननगर नगरपालिकामा १३ जना, कालिका नगरपालिकामा ८ जना रहेका छन् । खैरहनी र राप्ती नगरपालिकामा समान ९/९ जना रहेका छन् । त्यसैगरी माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा समान एक/एकजना रहेका छन् । 

यसैबीच जिल्लाभर अहिलेसम्म संक्रमित मध्ये ६ हजार ८ सय २ जना निको भईसकेका छन् ।  

विज्ञ भन्छन्ः सकेसम्म घरै बसौं
अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कन विज्ञहरूले सुझाव दिएका छन् । निस्कनै पर्ने अवस्था परेमा भौतिक दूरी पालना, मास्क, स्यानिटाइजरको प्रयोग तथा साबुनपानीले हात धुने जस्ता स्वास्थ्यका नियम राम्रोसँग पालना गर्न समेत सबैलाई उनीहरूले अनुरोध गरेका छन् ।

Last modified on 2021-04-14 09:09:47

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts