भारतले अक्सिजन निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा, भोलि ३० टन लिक्विड अक्सिजन नेपाल आउने



Download our app to get more features

काठमाडौं, २४ वैशाख । भारतले अक्सिजन निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । 

नेपाल सरकारको आग्रहमा भारतले बिहीवारबाट अक्सिजन निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको हो ।

भारतले निर्यातमा प्रतिबन्ध फुकुवा गरेसँगै भोलि दुई ट्यांकरमा ३० टन लिक्विड अक्सिजन नेपाल आउने भएको छ । यसले करिब १ लाख ८० हजार सिलिन्डिरमा अक्सिजन भर्न पुग्ने अनुमान गरिएको छ ।

भारतले त्यहाँको सर्वोच्च अदालतको आदेशअनुसार चैत पहिलो साताबाट अक्सिजन निर्यातमा रोक लगाएको थियो । नेपालमा मौज्दात अक्सिजन र सिलिन्डरले नपुग्ने तथा भयावह स्थिति आउने भन्दै नेपाली अधिकारीले निर्णयमा पुनर्विचार गरिदिन भारतलाई आग्रह गर्दै आएका थिए । 

भारतीय गृह मन्त्रालयले बिहीबार सबै प्रदेश तथा डिस्ट्रिक मजिस्ट्रेट कार्यालयलाई परिपत्र गर्दै नेपालमा अक्सिजनको आपूर्ति सुरु गर्न निर्देशन दिएको छ । 

दिल्लीस्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख रामप्रसाद सुवेदीले चाहिने अक्सिजन झारखण्डबाट निर्वाध रूपमा लैजान मार्गप्रशस्त भएको र अब नेपालमा अक्सिजनको आपूर्ति निरन्तर रहने बताएका छन् । 

दिल्लीस्थित नेपाली दूतावासले १० वैशाखमा भारतीय विदेश मन्त्रालयलाई चिठी लेख्दै अक्सिजन तथा अत्यावश्यक औषधि निर्यातमा लगाएको प्रतिबन्ध हटाउन आग्रह गरेको थियो । 

भारतमा पछिल्लो समय कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि अक्सिजन लगायतका सामग्रीमा अभाव हुन थालेपछि त्यहाँ अक्सिजन निर्यातमा रोक लगाइएको थियो ।

Last modified on 2021-05-07 09:35:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts