कोरोनाको दोस्रो लहरमा नेपालमा पनि देखिँदैछ खतरनाक 'ब्ल्याक फङ्गस'

जानौं ब्ल्याक फङ्गसका लक्षण र जोगिने उपायबारे



Download our app to get more features

कोरोना महामारीको दोस्रो लहरले मानिसलाई आफ्नो चपेटामा मात्रै लिएको छैन । अन्य विभिन्न स्वास्थ्यसम्बन्धी समस्या ग्रसित बनाउन थालेको छ । कोरोना भाइरस आफैमा महामारी त छ नै तर, संक्रमित व्यक्तिमा यसले विभिन्न समस्याहरु निम्तयाउन थालेको छ । हुन त कोरोनाको पहिलो लहरमा पनि संक्रमित व्यक्तिलाई यसले लामो समयसम्म स्वास्थ्यमा समस्या देखिने भनेपनि दोस्रो लहरमा खतरनाक स्वास्थ्य समस्या देखिन थालेकाले चिन्ताको विषय बनेको छ ।

कोरोनाको दोस्रो लहरले भारत विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक बनेको छ । जहाँ सबैभन्दा बढी संक्रमित थपिँदै आएका छन् भने मृत्यु दर पनि बढी छ । कोरोनाको दोस्रो लहरले मानिसहरुमा संक्रमण दर बढ्दै जाँदा भारतमा ब्ल्याक फङ्गस अर्थात् कालो ढुसीले पनि मानिसहरुलाई आफ्नो चपेटामा लिन थालेको छ ।

भारत कोरोनाको दोस्रो लहरसँग लडिरहेको बेला ब्ल्याक फङ्गसको कहरले नयाँ चुनौती बढाएको छ । भारतीय वैज्ञानिकहरुले कोरोनाको दोस्रो लहरमा प्रभावित व्यक्तिहरु जो कोरोना संक्रमणपछि निको भएका छन् उनीहरुमा ब्ल्याक फङ्गसको समस्या देखिन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् । यसअघि कोरोनाको दोस्रो लहरको सामना गरिसकेको बेलायत, अमेरिका, इटली, चीन, स्पेन लगायतका मुलुकमा भने ब्ल्याक फङ्गसको कुनै समस्या देखिएको थिएन । तर, भारतमा देखिएको कोरोनाको भेरिएन्ट नै निकै खतरनाक भएकाले मानिसहरुमा ब्ल्याक फङ्गसको समस्या देखिन थालेको हुन सक्ने भारतीय वैज्ञानिकहरु बताउँछन् । 

भारतमा देखिएको कोरोनाको डबल र ट्रिपल म्यूटेन्टले नेपालमा पनि प्रवेश गरिसकेको छ । जसको प्रभाव हामी सबैले देख्न र बुझ्न सकिरहेका छौं । खुला सीमा नाकाका कारण भारतमा देखिने रोग र भारतमा हुने प्रभावको प्रत्यक्ष असर सबैभन्दा पहिले नेपालमा पर्छ । यस पटक पनि त्यस्तै देखिएको छ । कोरोनाको दोस्रो लहरमा नेपालले भारतलाई मात्रै होइन विश्वलाई नै उछिनेको छ । अन्य मुलुकको तुलनामा नेपालमा दैनिक संक्रमण दर विश्वकै उच्च रहेको बताइएको छ । जसको असर हामी सबैले बुझि रहेका छौं । 

भारतमा कोरोनाको दोस्रो लहरमा प्रभावित व्यक्तिहरुमा ब्ल्याक फङ्गसले प्रभाव पारिरहँदा नेपालमा पनि ब्ल्याक फङ्गसका बिरामीहरु फेला पर्न थालेका छन् । वैशाखको तेस्रो साता वीरगञ्जका एक पुरुष श्वासप्रश्वासको समस्या लिएर अस्पतालमा भर्ना भए । एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण देखिएको उनमा मधुमेहको पनि समस्या थियो । चिकित्सकहरुले तत्काल आईसीयूमा राखेर उनको उपचार सुरु गरे तर संक्रमितको अवस्थामा सुधार आएन ।

अस्पताल भर्ना भएको सातौं दिन उनको देब्रे आँखा एक्कासी सुन्निएको जस्तो देखियो । सुगरको मात्रा पनि ह्वात्तै बढ्यो । आँखा दुःख्ने, सुन्निने हुँदाहुँदै रगत जस्तो तरल पदार्थ आउन थाल्यो । उपचारकै क्रममा १० औं दिनमा उनको मृत्यु भयो ।

नारायणी अस्पतालका कोभिड संयोजक डा. उदय नारायण सिंहले मृतकमा देखिएको लक्षण ‘म्यूकर माइकोसिस’ रोगसँग शतप्रतिशत मिल्दोजुल्दो रहेको बताए । तर, ती व्यक्तिमा  देखिएको संक्रमण ‘म्यूकर माइकोसिस’ हो वा होइन भन्ने पुष्टि हुन नसकेको पनि उनले बताए ।

अस्पताल आउने अन्य बिरामीमा पनि यस्ता समस्या देखिन थालेको डा.सिंहको भनाइ छ । उनी भन्छन्, ‘भारतका विभिन्न राज्यमा यस्तै समस्या लिएर अस्पताल भर्ना हुने र बिरामीको मृत्यु हुने क्रम बढ्न थालेको छ । यदि नेपालमा पनि त्यहि हुँदैछ भने यो हाम्रो लागि अर्को चुनौतीको विषय हो । किनकी समयमै यसको उपचार हुन सकेन भने मानिसको मृत्यु हुने क्रम बढ्न सक्छ ।’

वीरगञ्ज मात्रै होइन काठमाडौं उपत्यकाकै विभिन्न अस्पतालमा यस्तो समस्या लिएर आउने बिरामीहरु भेटिन थालेको छ । यदि यसरी नै ब्ल्याक फङ्गस फैलिने हो भने यो अर्को महामारी बन्न सक्छ ।

भारतका विभिन्न १४ राज्यमा ब्ल्याक फङ्गसका बिरामीहरु फेला परिसकेका छन् । सबैभन्दा बढी महाराष्ट्र राज्यमा ९० जनाको हालसम्म ब्ल्याक फङ्गसका कारण मृत्यु नै भइसकेको छ भने राजधानी दिल्ली लगायतका १४ राज्यमा ब्ल्याक फङ्गस फैलिसकेको छ । यसलाई समयमै रोक्न सकिएन भने ब्ल्याक फङ्गसलाई पनि महामारीको रुपमा घोषणा गर्नुपर्ने दिल्ली सरकारले बताएको छ ।

के हो ब्ल्याक फङ्गस (कालो ढुसी) ?
ब्ल्याक फङ्गस एक दुर्लभ तर, गम्भीर प्रकारको रोग हो । यो रोग जो मानिसहरु पहिलेदेखि नै कुनै न कुनै प्रकारको रोगबाट ग्रसित हुन्छ र रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ उनीहरुमा छिटै फैलिने हुन्छ । हावाको माध्यमबाट ब्ल्याक फङ्गसको सङ्क्रमणले अनुहारमा हड्डीहरु बिच रहेको खाली ठाउँ (साइनस) र फोक्सोलाई सजिलै आफ्नो चपेटामा लिन्छ । ब्ल्याक फङ्गसको सङ्क्रमण मानिसको छाला, फोक्सो र मस्तिष्कमा फैलिने गर्छ । यसलाई म्यूकोरमाइकोसिस पनि भनिन्छ । 

म्यूकोरमाइकोसिसका लक्षणहरु :
आँखा र नाकमा दुखाई हुने वा रातो हुने, ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, श्वास फेर्नमा असहज हुने, रगत मिसिएको वान्ता हुने यसको मुख्य लक्षण हो । यस्तै साइनसको समस्या, अनुहारको एक तफ दुखाई हुने वा सुन्निने, नाकको माथिल्लो भागमा छाला आउने, दाँत र गिजा कमजोर हुने, आँखामा दुखाईका साथ धमिलो देखिनु, रक्तनलीमा रगतको थेग्रो जम्ने, छालाको घाउ, छातीमा दुखाई र श्वास सम्बन्धी समस्या भयो भने ब्ल्याक फङ्गसको सङ्क्रमण हुने सम्भावना बढेर जान्छ ।

कसरी हुन्छ उपचार ?
सामान्यतया म्यूकोरमाइकोसिसको उपचार एन्टीफङ्गल औषधिबाट गर्न सकिन्छ । तर, केहि केसहरुमा भने सर्जरीको पनि आवश्यकता पर्न सक्छ । डाक्टरहरुका अनुसार म्यूकोरमाइकोसिसबाट बच्नका लागि मधुमेहलाई नियन्त्रण गर्नु निकै नै जरुरी हुन्छ । त्यसबाहेक स्टेरोयडको प्रयोग पनि कम गर्नुपर्छ र इम्यूनोमड्यूलेटरी अर्थात् रोग प्रतिरोधात्मक क्षमता कमजोर बनाउने औषधिको सेवन गर्न बन्द गर्नुपर्छ ।

शरीरमा हाइड्रेशनलाई राम्रो बनाइराख्नका लागि ४÷६ सम्म एम्फोटेरिसिन बी र एन्टीफङ्गल थेरापीले पनि यसको उपचार गर्न सकिन्छ । यस्तै पछिल्लो समय कोरोना सङ्क्रमितमा म्यूकोरमाइकोसिसको जोखिम बढेकाले उनीहरुले रगतमा ग्लुकोजको मात्रामाथि पनि निगरानी राख्नुपर्ने हुन्छ । त्यसबाहेक स्टेरोयड दिने बेलामा र यसको डोजमाथि पनि ध्यान राख्नु आवश्यक हुन्छ ।

कोरोना सङ्क्रमितमा यदि म्यूकोरमाइकोसिस देखिएको छ भने त्यसको उपचारका लागि विशेष चिकित्सकहरुको टिम नै चाहिन्छ । जसमा माइक्रोबायोलोजिस्ट, इन्टरनल मेडिसिन स्पेसलिस्ट, इन्टेन्सिविस्ट, न्यूरोलोजिस्ट, इएनटी विशेषज्ञ, आँखारोग विशेषज्ञ, दाँचका डाक्टर र सर्जनको आवश्यकता पर्छ । यसको उपचार भने महँगो बताइन्छ । म्यूकोरमाइकोसिसको उपचारका लागि एम्फोटेरेसिन बी इन्जेक्शनको एक डोजको मात्रै झन्डै १४ हजार पर्न जान्छ । यसको करिब ४ देखि ६ डोज लगाउनुपर्छ ।

कसरी जोगिने ?
यो रोग निकै कम मानिसहरुलाई हुने गर्छ । जसमा मधुमेहको जोखिम निकै बढेको हुन्छ, बढी स्टेरोयडको प्रयोग भएका व्यक्ति, आईसीयूमा बढी दिनसम्म रहेकाहरु र पहिलेदेखि नै कुनै रोगबाट पीडित भएका छन् भने उनीहरुमा यसको खतरा बढी हुन्छ । यसबाट जोगिनका लागि विज्ञहरु मास्क लगाउनका लागि सल्लाह दिन्छन् । खेत वा माटोमा काम गर्दा जुत्ता, लामो बुट लगाउने, पुरै बाहुला भएको लुगा लगाउने र फूल पाइन्ट र पञ्जाको प्रयोग गर्ने गर्नुपर्छ । सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।

Last modified on 2021-05-21 10:35:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts