शाकाहारीलाई 'हृदयरोगको सम्भावना कम, मस्तिष्कघातको जोखिम बढी' ?



Download our app to get more features

माछामासुरहित आहार सेवन गर्दा मुटु सम्बन्धी रोग लाग्ने सम्भावना कम हुने भए पनि मस्तिष्काघातको जोखिम बढ्ने एक अध्ययनले देखाएको छ ।

ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापकहरूले गरेको अध्ययनमा ४८ हजार व्यक्तिलाई १८ वर्षसम्म अध्ययन गरिएको थियो ।

प्रत्येक हजार मानिसहरूमध्ये मुटु सम्बन्धी रोग लाग्नेमा शाकाहारी भोजन सेवन गर्नेमा १० ले कम थियो । तर, मस्तिष्काघात हुने मध्ये शाकाहारी भोजन सेवन गर्नेको सङ्ख्या तीन जनाले बढी थियो ।

आहार विशेषज्ञहरूका अनुसार शाकाहारी वा मांसाहारी जे गरे पनि धेरै प्रकारका खानेकुरा खानु स्वास्थ्यका लागि लाभदायक हुन्छ ।

अध्ययनमा आहार र स्वास्थ्यबारे एउटा प्रमुख दीर्घकालीन ईपीआईसी–अक्सफोर्ड अध्ययनको तथ्याङ्क प्रकाशित गरिएको छ ।

सन् १९९३ देखि २००१ सम्म अध्ययनमा सहभागी भएका आधा मानिस मांसाहारी थिए भने १६ हजार शाकाहारी तथा ७५ सय जना माछा मात्रै खाने थिए ।

अध्ययनमा सहभागी हुने बेलामा उनीहरूलाई आफ्नो आहारबारे सोधिएको थियो । सन् २०१० मा फेरि त्यही कुरा सोधियो ।

उनीहरूको स्वास्थ्यस्थिति, धूमपान गर्ने बानी तथा शारीरिक व्यायाम गर्ने वा नगर्ने पक्षलाई पनि अध्ययनमा समावेश गरिएको थियो ।

तीमध्ये जम्मा दुई हजार आठ सय २० जनालाई हृदयरोग लागेको थियो भने एक हजार ७२ जनालाई मस्तिष्काघात भएको थियो ।

माछा मात्रै खाने मानिसमा हृदयरोगको जोखिम १३ प्रतिशत कम र शाकाहारीमा २२ प्रतिशत कम देखिएको छ ।

तर, शाकाहारीहरूमा मस्तिष्काघातको सम्भावना २० प्रतिशत बढी देखिएको छ । शाकाहारीमा भिटामिन बी १२ को कमी हुने भएकाले त्यसो भएको हुन सक्ने तर थप अध्ययन चाहिने बताइएको छ ।

के शाकाहारी हुनु अनुचित हो ?
ब्रिटिश डाइअटेटिक एसोसिएशनका डा. फ्रान्की फिलिप्स भन्छन्, “होइन । किनभने यो अध्ययनमा मानिसहरूले वर्षौँसम्म के खान्छन् भनेर मात्रै हेरिएको छ ।"

उनका अनुसार यो अध्ययनले सम्बन्ध देखाउने भए पनि त्यही कारणले त्यसो भएको हो भन्ने देखाउँदैन ।

“यसको सन्देश भनेको सबै खाले खानेकुराहरू मिसिएको आहार नै ठिक हुन्छ भन्ने हो ।"

के खाने त ?
ब्रिटेनको नेशनल हेल्थ सर्भिसेजका अनुसार जुनसुकै आहार खाए पनि तपाईँको खानेकुरामा निम्न कुरा हुनुपर्छः
प्रत्येक दिन कम्तीमा पाँचथरी फलफूल र तरकारी
आलु, पाउरोटी, चामल र पास्तामध्ये एक
प्रोटिन बिर्सनुहुँदैन – मासु, माछा, गेडागुडी वा दाल
दुग्धपदार्थ
तर चिल्लो, नुन र चिनी कम खानुपर्छ ।

शाकाहारीहरूले पोषणका बारेमा विशेष ध्यान दिनुपर्छ किनभने माछामासु वा दुग्धपदार्थबाट प्राप्त हुने भिटामिन बी १२ शरीरका लागि आवश्यक हुन्छ ।

Last modified on 2021-12-07 09:06:58


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts