पोष्टमार्टममा पोख्त


Download our app to get more features
Spark_health_home Blue Bird International Clinic Nepal Sarkar Swasthya Bima Board


(पटकपटकको अनुरोधपछि मात्रै अन्तर्वाता दिन समय छुट्याएका प्रा डा. हरिहर वस्तीको कार्यथलो त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्ज पुग्दा उनी व्यस्त थिए । उनलाई हामीले अरु पौने एक घण्टा कुर्नु प¥यो । शिक्षण अस्पतालको आकस्मिक कक्षमा एक आफन्तलाई उपचारको चाँजोपाँजो मिलाएर उनी पसिना चुहाउँदै कार्यालयमा छिरे । औपचारिक कुरा सुरु गर्नु पूर्व नै प्राध्यापक डा. वस्तीले सोधे ‘ल भन्नुहोस के कुरा गर्ने ?’ तपाइले के कति संघर्ष गर्नुभयो भन्नेबारे कुरा गर्न आएको भन्ने हाम्रो जवाफ थियो । हाँस्दै उनले भने, ‘अहिले म जहाँ छु या जस्तो देखिन्छु त्यसको पछाडी ठूलै तपस्या लुकेको छ ?’ तर उनलाई हेर्दा त्यस्तो लाग्थेन । सोच्यौं, मृत शरीरमा छुरा चलाएर सुरु हुने र त्यसै गरी वित्ने दैनिकीबीच उनी यति धेरै फुर्तिलो र हसिँलो कसरी हुन सकेका होलान ? हाम्रो सोचाईलाई उनले नै भङ्ग गर्दै भने लौ अब कुरा सुरु गरौं । )  
 

फरेन्सिकको सुधार

vayoda

 आजभन्दा बीस पच्चिस वर्षअघिको कुरा हो उनलाई फरेन्सिक सेवाको सुधार गर्ने भूत नै चढ्यो । स्वास्थ्य मन्त्रालयको ढोका ढकढकाए, ‘यो क्षेत्र निकै नाजुक छ यसको म सुधार गर्न चाहन्छु ।’ उनको कुरामा न मन्त्रालय सकारात्मक बन्यो । न आफन्तले उनलाई यो काममा अघि बढ्न साथ थिए । ‘तँ पालग भइस् की के हो ? दिनहुँ मरेका मान्छे चिरेर पनि कोही बस्छन् । तँ डाक्टर होस् अरु राम्रो काम गर । किन यही नचाहिने काममा बढि ध्यान दिन्छस् ?’ तर जस्ले जे भनेपनि डा. हरिहर बस्तीमा सवार फरेन्सिक सेवा सुधार गर्ने भूत हटेन । 

‘म पागल नै बनेको थिएँ त्यतिबेला । बीर अस्पतालमा काम गर्दा गर्दै फरेन्सिक मेडिकल अध्ययनका लागि श्रीलंका गएँ र त्यहाबाट फर्किएर पनि बीरमा नै काम गर्न थालेँ ।’ उनले भने, ‘त्यस ताका त्रिवि शिक्षण अस्पतालमा नाम मात्रैको फरेन्सिक विभाग थियो । बीर अस्पतालको त्यो भन्दा पनि नाजुक ।’  श्रीलंकाको अध्ययन पछि उनलाई वीरले दिइरहेको फरेन्सिक सेवा पूर्वाधार र ठाउँको स्थिती हेर्दा झनै नाजुक लाग्यो र त्यो सेवा त्यहाँबाट सार्नुपर्ने निर्णयमा पुगे । फरेन्सिक सेवाका लागि छुट्टै निकायको माग गर्दै उनी दिनहुँ स्वास्थ्य मन्त्रालय धाउन थाले । यो क्षेत्रलाई बेवास्ता गरिएको, सिनियर चिकित्सकको गल्तीले गर्दा जुनियरले नजानी नजानी काम गरिरहेको,  निर्दोष मानिस जेल जानु परेको, अपराधी खुलेआम हिडेको जस्ता गुनासो बोकेर उनी धेरै पटक मन्त्रालय पुगे । 

होचो, अँध्यारो र कालो कोठामा मृत शरीर चिर्नुपर्ने, नत शबको संरक्षण गर्ने ठाउँकै उपलब्धता । पोष्टमार्टमका लागि शब चिर्ने डाक्टरहरुलाई नुहाउने ठाउँ पनि थिएन । डा बस्तीलाई बिरक्त लाग्यो । श्रीलंकामा बटुलेको सीप र ज्ञान  प्रयोगहीन जस्तै बन्यो । शबहरुको अध्ययन, पोष्टमार्टम र बेवारिसे शबहरुलाई राख्ने स्थानको व्यवस्था गरौं र फरेन्सिक सेवाको सुधार गरौं भन्दा सरकारले सुनेन । ‘मुलुक राजनीतिक द्धन्द्धको चरम अवस्थामा भएकाले पनि सरकारको प्राथमिकतामा यो परेन ।’ डा. बस्तीले भने । 

अन्तमा उनले मन्त्रालयमा गएर ‘यो क्षेत्रको सुधार गर्न नदिने हो भने म राजिनामा दिन्छु,’ भनेर घुर्की लगाए । बस्तीको धम्कीले स्वास्थ्य मन्त्रालय गंभीर बन्यो । बीर अस्पतालमा रहेको पोष्टमार्टम सेवा बन्द गर्दै शिक्षण अस्पतालबाट मात्रै दिनेगरी सुधार गर्न  सहमत भयो । ‘त्यो मेरो उपलब्धिको क्षण थियो ।’ उनले भने, ‘मैले आफुसँगै अध्ययन गरेका डा. प्रमोद कुमार श्रेष्ठ र डा.तुलसी कँडेलको सहयोग लिएँ । उनीहरु शिक्षण अस्पतालमा साताको दुई घण्टा पढाएर बसेका थिए ।’ 

उनीहरुसँग मिलेर  शिक्षण अस्पतालको फरेन्सिक सेवा व्यापक बनाउने डा. वस्ती अभियानले मूर्त रुप लिदैं गयो । तत्कालीन आइओएमका क्याम्पस प्रमुख डा. रमेशकान्त अधिकारीले सहयोग रहेपछि डा. बस्ती लगभग सफल भए पनि ।  

श्रीमतीको स्पर्शले कष्ट दूर 

मृत शरीर देखेपछि प्रायः सबैको मन त्रसित हुन्छ  । अचानक आँखाहरुमा डर पैदा हुन्छ । अझ छुरा चलाएर त्यो शरीरको भित्री पाटो हेर्ने सहास थोरैले जुटाउन सक्लान् । त्यस्तो अदम्य र अनौठो सहासका पर्यायवाची बनेका डा. हरिहर वस्ती । नेपालको कानुनी चिकित्सा क्षेत्रको सुधारका पहिलो अभियान्ता र योद्धा नै भने पनि हुन्छ । जसले जीवनका १५ वर्ष हजारौं मृत शरीरमा छुरा चलाए । कति सम्म भने  वीर अस्पतालमा पोष्टमार्टम गरेर निस्कँदा नुहाउने पानी समेत थिएन । त्यही अवस्थामा सार्वजनिक बस चढेर उनी घर फर्कन्थे । गाडीभरीका यात्रुले उनको शरिरबाट आएको गन्धका कारण नाक थुन्थे । उनी बहुत अप्ठेरोसंग घर पुग्थे । तर जब श्रीमतिले घरको ढोका खोलेर आत्मियताका साथ भित्र लैजान्थिन् । उनको गनाएको शरीर सुम्सुम्याउँदै श्रीमती भन्थिन्, ‘हजुर थाकेर आउनु भएको होला, नुहाएर फ्रेस हुनुस् । म खाना पस्कन्छु ।’ बस्तीका सारा कष्ट दूर हुन्थे । मनको अप्ठेरो पखालिन्थ्यो । ‘अहिलेसम्म पनि किन तपाईंले यस्तो काम रोज्नु भएको हो भन्ने प्रश्न समेत गरेकी छैनन् । मेरो श्रीमानको पेशा यस्तै हो भन्ने भाव उनको आँखामा देख्छु सँधै म,’ प्रा डा. वस्तीले भने । 

कति सम्म भने  वीर अस्पतालमा पोष्टमार्टम गरेर निस्कँदा नुहाउने पानी समेत थिएन । त्यही अवस्थामा सार्वजनिक बस चढेर उनी घर फर्कन्थे । गाडीभरीका यात्रुले उनको शरिरबाट आएको गन्धका कारण नाक थुन्थे । उनी बहुत अप्ठेरोसंग घर पुग्थे । तर जब श्रीमतिले घरको ढोका खोलेर आत्मियताका साथ भित्र लैजान्थिन् । उनको गनाएको शरीर सुम्सुम्याउँदै श्रीमती भन्थिन्, ‘हजुर थाकेर आउनु भएको होला, नुहाएर फ्रेस हुनुस् ।

पेशा नै बन्यो पोष्टमार्टम .

२०४८ सालमा लोकसेवा पास गरेपछि गृहमन्त्रालय अन्तर्गतको केन्द्रीय कारागार अस्पतालमा पहिलो पटक पोष्टिङ भएका बस्तीलाई तत्कालै वीर अस्पतालमा शव जाँच पोष्टमार्टमको काममा खटाइयो । कुनै कानूनमा व्यवस्था नभएपनि सबै भन्दा जुनियर भएकाले नै करिव ८ वर्ष उनले त्यो काम एक्लै गर्नु प¥यो । पोष्टमार्टम गर्न सकभर सबै पन्छने गर्थे । जुन आजसम्म पनि कायम छ ।  अन्यायमा परेकाहरुलाई न्याय दिलाउन वकालत समेत सँगसँगै गरेका बस्तीले भने पोष्टमार्टमको कामलाई सम्मान मात्र गरेनन् । यसको सुधार र आधुनिकीकरणका लागि पटक पटक पहल पनि गरे ।

पछिल्लो २५ वर्षदेखि उनले एउटै किसिमको काम गरिरहेका छन् । मरेका मानिसको शरीर चिर्ने काम । सुन्दा समेत दिक्क लाग्ने काम उनी निरन्तर गरिरहेका छन् । उनलाई फरेन्सिकको क्षेत्रमा केही गर्न पाएकोमा गर्व पनि लागेको छ । 

 २५ वर्ष एउटै पदमा 

पछिल्लो २५ वर्षदेखि उनले एउटै किसिमको काम गरिरहेका छन् । मरेका मानिसको शरीर चिर्ने काम । सुन्दा समेत दिक्क लाग्ने काम उनी निरन्तर गरिरहेका छन् । उनलाई फरेन्सिकको क्षेत्रमा केही गर्न पाएकोमा गर्व पनि लागेको छ । 

सरकारले २०५६ सालमा तत्काललाई काम चलाउन वीर अस्पतालको भइरहेको फरेन्सिक सेवा बन्द गरी आइओएममा सार्ने निर्णय गर्यो  । उक्त निर्णयसँगै उनलाई पनि कामचलाउको रुपमा आइओएम पठाइएको थियो । सोही निणर्यकै आधारमा उनी पछिल्लो १७ वर्षदेखि अनवरत काम गरिरहेका छन् । पछिल्लो १७ वर्षदेखि बस्ती कामचलाउ प्राध्यापककै पदमा कार्यरत छन् । पछिल्लो २५ वर्षदेखि मेडिकल अफिसरको पद अर्थात आठौं तहमा उनी कार्यरत छन् ।  न उनी आईओएमको फ्याकल्टी प्राध्यापक बन्न सके नत उनको बढुवा नै भयो । त्यसो त गत वर्ष चैत्रमा उनी नवौं तहमा बढुवा भए । त्यो बढुवाले उनको क्षमतालाई न्याय गर्न सकेको छैन तर पनि उनी हाँसेरै काम गरिरहेका छन् । भन्छन्, ‘यो क्षेत्रमा केही सुधार गर्नु छ । त्यही भएर निरन्तर काम गरिरहेछु । मलाई पद भन्दा पनि काम र यो क्षेत्रको सुधार ठुलो कुरा हो ।’ वर्तमान वास्थ्य सचिव डा. सेनेन्द्र उप्रेतीसँगै उनले लोक सेवा पास गरेका हुन् । ‘यही विषयमा केही सुधार गर्न आएको । अव छोडेर अब कहाँ जानु । जीवनका महत्वपूर्ण समय यसैमा बिते’, उनले भने ।  मरेपछिको काम भनेर होला कसैले पनि वास्ता गरेनन् । सरकारलाई सुनाउन गयो आइओएमको काम हो भनेर पन्छिने । आइओएमलाई सुनाउन गयो यो मेरो जिम्मामा पर्दैन भन्ने । गुनासो गर्ने ठाउँ कतै भएन । कानूनमा पनि यसैले गर्नुपर्छ भन्ने कुराको कतै व्यवस्था छैन  । 

फोरेन्सिक मेडिसिनको शिक्षा विस्तार

काम चलाउ अवस्था भन्दा भन्दै दिइएको जागिरे जीवनमा उनले कहिलै प्रोत्साहन पाएनन् । तर पनि फोरेन्सिक मेडिसिनको शिक्षा विस्तार गरेरै छोडे । उपत्यका मात्र होइन बाहिरका मानिसको समेत पोष्टमार्टम गर्नुपर्ने ठाउँमा जम्मा तीन जना विशेषज्ञ चिकित्सक ।  त्यसैले ८ वर्षअघि सोही क्याम्पसमा फोरेन्सिक मेडिसिनमा एमडीको पढाइ सुरु भयो । जसका लागि उनले ठूलो योगदान दिएका छन् । ‘व्यक्तिगत जीवनमा मैले केही नपाएपनि शिक्षा विस्तारमा मेरो पनि ठूलो भूमिका छ । त्यही पास गरेकाहरुले विशेषज्ञ चिकित्सकलाई सघाइरहेका छन् ।’ उनलाई पहिले भन्दा सहज भएको पनि छ । 

ओझेलमा परेको फोरिन्सक मेडिसिन 

नेपालले स्वास्थ्य सेवा क्षेत्रमा एकपछि अर्को गर्दै फड्को मारेको छ । नयाँ सेवा विस्तार भइरहेका छन् । सरकारी अस्पतालमा पनि सरकारको चासो बढेको छ । तर फरेन्सिक मेडिसिनलाई कतैबाट पनि सहयोग छैन । मरेपछि सकिहाल्छ नी भन्ने सोचाई र यसमा सुधार गरेर के फाइदा मिल्छ र भन्ने बेवास्ताका कारण यो क्षेत्र निकै ओझेलमा परेको छ । वस्तीको टोलीले दिनरात कराउँदा वा माग गर्दा पनि नत त्यहाँ कहिल्यै भौतिक पूर्वाधारमा सरकारले जोड दियो नत उनीहरुको सेवासुविधालाई नै प्रोत्साहन गर्यो । शिक्षण अस्पताल मात्र होइन मुलुकभर नै यस्तै बेवास्ता गरिएको छ यो विषयलाई । जबकी फरेन्सिक मेडिसिन पोष्टमार्टममा मात्र सिमित छैन । राज्यल फोरेन्सिक मेडिसिन अध्ययन नगरेका डक्टरहरुलाई  नियमबिपरित पोष्टर्माटम तथा अरु मेडिकोलिगल काम जबरजस्ती गरेको वस्तीलाई चित्त बुझेको छैन ।  उनी भन्छन ‘बरु मलाई  केही चाहिन्न  । फोरेन्सिक मेडिसिनको अध्ययन र तालिमलाई सरकारले व्यवस्थित गरेर उनीहरु व्यवस्थित तरिकाले काम गर्ने वातावरण मिलाउन भूमिका खेलेको भए म खुसी हुन्थे । मलाई अव एउटै इच्छा छ यो विषय बुझेकोले मात्र काम गरुन । त्यसो भएको भए पीडितले न्याय पाउँथे । अपराधीले सजाय पाउँथ्यो ।’ यता फोरेन्सिक मेडिसेन अध्ययन गरेकाहरुले  सम्बन्धित विषयको क्षेत्रमा काम पाएका छैनन् ।

 वस्तीको टोलीले दिनरात कराउँदा वा माग गर्दा पनि नत त्यहाँ कहिल्यै भौतिक पूर्वाधारमा सरकारले जोड दियो नत उनीहरुको सेवासुविधालाई नै प्रोत्साहन गर्यो । शिक्षण अस्पताल मात्र होइन मुलुकभर नै यस्तै बेवास्ता गरिएको छ यो विषयलाई । जबकी फरेन्सिक मेडिसिन पोष्टमार्टममा मात्र सिमित छैन । राज्यल फोरेन्सिक मेडिसिन अध्ययन नगरेका डक्टरहरुलाई  नियमबिपरित पोष्टर्माटम तथा अरु मेडिकोलिगल काम जबरजस्ती गरेको वस्तीलाई चित्त बुझेको छैन ।
 

लक्ष्य 

बस्तीले मेडिको लिगल सोसाइटी अफ नेपाल (MELESON) गठन गरेका छन् । यसमा फरेन्सिक मेडिसिनका विशेषज्ञहरुलाई एकै ठाउँमा राख्न सफल भएका छन् । अबको चार वर्षपछि उनी रिटायर्ड हुनेछन् । तैपनि यो क्षेत्रको सुधारका लागि वकालत गर्ने उनको लक्ष्य छ । ‘पोष्टमार्टम एकपटक गरेपछि दोहो¥याउन मिल्दैन । त्यसैले यसको सत्यतथ्य रुपमा अनुसन्धान गरिनुपर्छ । यसलाई व्यवस्थित गरेर छोड्र्न पाए हुन्थ्यो ।’ उनले भने 


कामको प्रभाव 

उनी आफु यति कडा र अनुशासित हुनुको श्रेय आफ्नै पेशालाई दिन्छन् । सुरुमा वीरमा उनले महिनामा ४० वटासम्म पोष्टमार्टम गर्थे । अहिले आइओएममा महिनामा एक सय ५० वटा सम्म सबको परीक्षण हुने गरेको छ । त्यस्तै वर्षमा तीन सय जति बलात्कारमा परेकाहरुको जाँच गरिन्छ । कहिलेकाँही पीडकलाई जाँच गर्न ल्याइन्छ । उमेर पत्ता लगाउने पनि त्यस विभागको दैनिक नियमित काम हो भने हिरासतमा यातना पाएका सयौं पीडितहरुको जाँच गरी प्रतिवेदन दिएका छन् वस्तीले । उनी एउटा कुशल प्राध्यापक हुन । सँधै पोष्टमार्टम गरिरहने उनका हात बेला बेलामा काप्ने गरेका छन् । कलिलो बच्चाको पोष्टमार्टम गर्दा पटक पटक  उनको मन स्तब्ध भएको छ ।  मृत बच्चाका निर्दोष आँखाहरुले उनलाई पटक पटक रुवाएको छ । त्यसो त पेशा नै यस्तै छ उनले रोजेको । जति भावुक भएपनि आफ्नो काम यही हो भन्नेमा उनी स्पष्ट छन् । संवेदनशील उनी आफु र आफ्नो काम दुबैप्रति गंभीर छन् । ‘यता मान्छे चिर्छु अर्को कोठामा पुगेर हातसात धोएर भोक लागेको छ भने आधा किलो मासु पनि खाइदिन्छु ।’ बस्ती भन्छन् । 

जीवन प्रतिको दृष्टिकोण 

पेशा नै त्यस्तो जहाँ सँधैजसो मृत शरीर खेलाउनुपर्छ । उनलाई लाग्दैन की यो संसारमा कोही धनी र कोही गरिब हुन्छन् । त्यो मानिसले बनाएको दृष्टिकोण मात्र हो । उनका अनुसार जीवन भनेको खुसी हो । अर्थात जीवन रहेसम्म खुसी हुनुपर्छ । चाहे दुःख परोस चाहे सुःख । दुवै पाटा जीवनका लागि महत्वपूर्ण हुन । जीवन रहेसम्म हो इमान्दार हुने र मानवीय बन्ने । मरेपछि सबै बराबर । ‘मैले खरबपतिको पनि लास चिरँे, सडकमा बेवारिसे परेको र शरीरभरी जुम्रैजुम्रा भएकाहरुको पनि शरीर चिरे मलाई उस्तै लाग्यो’ उनले भने । त्यसैले उनी चाहन्छन् मानिसले भोलि खुसी हुने या भोलि इमान्दार हुन्छु भन्ने नसोचोस् । राम्रो काम आजैबाट थालोस् । 

हाम्रो डक्टर मासिकबाट
 


 

Last modified on 2016-09-26 17:29:22

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>
ohm pharmaceuticals Kathmandu Cancer Center alka

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts