स्वास्थ्यजन्य फोहोर व्यवस्थापनका लागि आवश्यक नीति निर्माण गर्ने मन्त्री ढकालको प्रतिबद्धता



Download our app to get more features

काठमाडौं, २५ मंसिर । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापनका लागि आवश्यक नीति र कार्यक्रम बनाउने बताएका छन् ।

एकीकृत स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन तथा स्वास्थ्य संस्थामा खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धी प्रथम राष्ट्रिय कार्यशाला गोष्ठीको उद्द्घाटन समारोहमा बोल्दै मन्त्री ढकालले अस्पतालबाट निस्कने फोहोर र स्वास्थ्यजन्य फोहोरको उचित व्यवस्थापनका लागि सरकारसँग आवश्यक नीतिको अभाव भएकाले यसका लागि चाँडै नीति निर्माण गरिने बताए ।

उनले संघीय सरकार मात्रैले यो समस्या समाधान नहुने भएकाले तीन तहकै सरकार र नागरिक स्वयंले पनि यस्ता कुरामा सचेत हुनुपर्ने बताए ।

गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री ढकालले भने, ‘अस्पतालबाट निस्कने फोहोर व्यवस्थापनका लागि अस्पताल र कर्मचारी पनि सचेत हुनु आवश्यक छ । यस्ता फोहोरबाट मानिसको स्वास्थ्यमा नकारात्मक असर पुर्याएकाले फोहोर व्यवस्थापनका लागि अस्पताल आउने सेवाग्राहीपनि सचेत हुनुपर्छ ।’

उनले गोष्ठीमा उठेका सवाल र त्यसको समाधानका लागि सबैपक्ष एकजुट हुनुपर्ने भन्दै कतिपय स्थानीय सरकारले स्वास्थ्यजन्य फोहोर व्यवस्थापनका लागि गरेको काम सराहनीय रहेको भन्दै प्रशंसा समेत गरे ।

भोलीसम्म चल्ने गोष्ठीमा स्थानीय सरकारका प्रतिनिधि, विभिन्न दातृ निकाय र अस्पतालका प्रतिनिधिहरुको सहभागिता रहेको छ । 

स्वास्थ्यजन्य फोहोरलाई उचित ढंगबाट कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा गोष्ठीमा छलफल हुने र भोली घोषणापत्र जारी गर्दै गोष्ठी सम्पन्न हुने जनाइएको छ ।

Last modified on 2019-12-19 15:32:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts