नारायणी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमणको नतिजा : साढे ३ सय कर्मचारीको सामूहिक राजीनामा



Download our app to get more features

 काठमाण्डौं, २७ साउन । कोरोना भाइरस संक्रमणको जोखिम स्थान वीरगञ्जमा  उपचारमा सक्रिय नारायणी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि ३ सय ५० भन्दा बढी कर्मचारीले सामुहिक राजीनामा दिएका छन्।
नारायणी अस्पतालमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र अन्य कर्मचारीले आक्रमणकारीलाई कारबाही गर्नुपर्ने, अस्पतालमा आक्रमणपछि भएको क्षतिको क्षतिपूर्ति र शान्ति सुरक्षाको माग राख्दै सामुहिक राजीनामा बुझाएका हुन्।
 संक्रमितको उपचारमा चौबिसै घन्टा  खटेका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने, सेवा प्रवाहमा अवरोध सिर्जना गर्ने जस्ता कार्य भएपछि बाध्य भएर सामुहिक राजीनामा बुझाएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले बताए। 

‘फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीलाई हौसला प्रदान गर्नुपर्नेमा उल्टै आक्रमण गर्ने काम भइरहेको छ,’ उनले भने, ‘यस्तो अवस्थामा काम गर्ने वातावरण नभएकाले सुरक्षाको माग गर्दै सामूहिक राजीनामा बुझाइएको हो।’

अग्र स्थानमा खटिएका स्वास्थ्यकर्मीलाई मनोबल उच्च बनाउनुपर्नेमा झनै आक्रमण गरि असुरक्षा पैदा गरेकाले काम गर्न नसक्ने स्थिति सृजना भयो र हामीले सामुहिक राजीनामा दिएका हौ, उपाध्यायले भने ।  

नारायणी अस्पतालले नारायणी अस्थायी कोभिड अस्पतालमा सहित हालसम्म ११ सय भन्दा बढी कोरोना संक्रमितको उपचार गरेको छ । संक्रमितको उपचारमा खटिएका ५० भन्दा बढी स्वास्थ्यकर्मीलाई समेत कोरोना संक्रमण देखिएको छ ।
गएको शुक्रबार वीरगञ्ज छपकैयाकी एक २० वर्षीय युवतीको उपचारका विषयलाई लिएर अस्पतालमा आक्रमण भएको थियो । 

Last modified on 2020-08-11 22:09:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts