चितवनमा कोरोना संक्रमितको उपचारका लागि सफल बन्दै प्राकृतिक चिकित्सा

चितवन, ३ असोज । चितवनमा कोरोना संक्रमितलाई आइसोलेसनमै प्राकृतिक चिकित्सा विधिबाट सफल उपचार गर्दै आएको छ ।
भरतपुर महानगरपालिका–१ स्थित वागेश्वरीमा रहेको योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयमा निर्माण गरिएको भरतपुर महानगरपालिका कोभिड–१९ आइसोलेसन केन्द्रले कोरोना संक्रमितलाई प्राकृतिक विधिबाट सफल उपचार गर्दै आएको हो ।
आइसोलेसन केन्द्रमा लक्षण विहीन तथा कम लक्षण भएका कोरोना संक्रमितलाई योग तथा प्राकृतिक चिकित्सा विधिबाट उपचार गर्दै आइएकाे चिकित्सालयका मेडिकल डाइरेक्टर डा. हेमराज कोइरालाले जानकारी दिए ।
शनिवार २१ जना कोरोना संक्रमणमुक्त भएर घर गएका उनले बताए । यसअघि विभिन्न समयमा गरी २९ जना निको भइसकेका छन् । यसरी कोरोना उपचार सञ्चालन भएको तीन सातामा ५० जनाको सफल उपचार गरिएको हो । अब ५१ जनाको उपचार चलिरहेको उनले बताए ।
प्रत्येक कोठामा छुट्टा–छुट्टै शौचालय तथा नुहाउने ठाउँको व्यवस्था गरिएको छ । भरतपुर महानगरपालिका र भरतपुर अस्पतालले बेड तथा अन्य आवश्यक सहयोग गरेको हो । भरतपुर अस्पतालमा कोरोना संक्रमितका लागि उपचार गर्न छुट्टाइएको बेड भरिएपछि सरोकारवालाले यहाँ कोरोना संक्रमितको उपचार गर्ने निर्णय गरेका थिए ।
डा. कोइरालाका अनुसार आजसम्म आधुनिक चिकित्सा विज्ञानले यो रोगको कुनै खास औषधि बनाइसकेको छैन भने परम्परागत चिकित्सामा पनि यस रोगको कुनै उपचार छैन । तर योग, प्राकृतिक चिकित्सा, आयुर्वेद, जडीबुटी चिकित्सा र हाम्रा मौलिक रैथाने चिकित्सा पद्धतिहरूमा यस रोगलाई नियन्त्रण गर्ने धेरै विधि र विधानहरू छन् । यिनै विधिविधानहरू उपचारमा प्रयोग गरिएको उनले बताए ।
कोरोनाका कारणले उत्पन्न नाक थुनिने, घाँटी दुख्ने, खोकीलाग्ने, छातीमा कफ भरिने, स्वर खासिने, टाउको दुख्ने, घाँटी खसखसाउने, हाच्छ्युँ आउने, नाकबग्ने र जिउ दुख्ने(थाक्ने जस्ता लक्षणहरूको निवारणमा जलनेती र गलालाको प्रयोगले मनग्य फाइदा पु¥याएको उनले बताए । जलनेती योग विज्ञानमा, माथिल्लो श्वास मार्ग सफागर्नका लागि विकसित गराइएको प्राचीनशोधन पद्धति हो । यस पद्धतिमा हल्का नुनिलो पानी एउटा नाकको प्वालबाट पठाएर अर्को नाकको प्वालबाट निकालेर श्वासमार्गलाई पखालिने उनले जनाए ।
डा. कोइरालाका अनुसार जलनेती गर्नका लागि जलनेती पात्रको आवश्यकता पर्दछ । जलनेती पात्र भनेको हामीले पानी पिउनको लागि प्रयोग गर्ने टुटीदार करूवा आकारको भाँडो हो । रूघा, खोकी, मर्की, नाकको एलर्जी, जीर्ण पिनास, गन्ध ग्रहणमा कमीजस्ता समस्यामा यसले अत्यन्त लाभ पु¥याउँछ । जलनेती र गलाको गलाला अब कोरोना भाइरस रोगमा पनि अत्यन्त उपयोगी सावित भइसकेको छ । ‘यसर्थ कोरोनाको अन्य उपचार पद्धतिहरूसँगै यस उपचारलाई पनि अगाडि बढाउन सकिन्छ’ उनले भने ।
‘बिरामीको शरीरको हरेक कोषलाई भाइरसविरुद्ध लड्न सक्ने बनाउँछौं ।’ उनले भने ‘जसको लागि बिरामीलाई ८ घण्टा खाना दिन्छौं बाँकी १६ घण्टासम्म भोकै राख्छौं ।’ प्राकृतिक चिकित्साका विभिन्न प्रक्रियाबाट शरीरमा रहेका विशाक्त पदार्थ हटाइ स्वस्थ रहन सहयोग गर्ने उनले बताए ।
‘कोरोनाले बिरामीको मानसिक अवस्थामा पर्ने नकारात्मक असर कम गर्न उनीहरूलाई योगा तथा मेडिटेशन पनि गराइएको छ ।’ उनले भने– ‘सन्तुलित तथा प्राकृतिक खाना समेत खुवाउने गरिन्छ ।’ जसले कोरोना संक्रमणबाट छिटो मुक्तहुन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।
यस प्राकृतिक चिकित्सालयमा उपचार गराउन आउँने संक्रमितहरू धेरैजसो भरतपुर महानगर भित्रकै छन् । भदौ १४ गतेबाट यो आइसोलेसन केन्द्र सञ्चालनमा आएको हो । सोहि दिनदेखि यहाँ संक्रमितलाई भर्ना गरेर उपचार गर्न थालिएको छ ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।