प्रगतिशिल नर्सहरुको चुनावी नाराः सुत्केरी भएको २ वर्षसम्म नाइटड्यूटी लगाउन पाइँदैन



Download our app to get more features

काठमाडौं, २४ मंसिर । नर्सहरुको छाता संगठन नेपाल नर्सिङ संघको आसन्न निर्वाचनमा उम्मेदवारी घोषणा गरेको प्रगतिशिल समूहले आफ्ना १९ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । 

राजधानीमा पत्रकार सम्मेलन गर्दै मनकुमारी राई नेतृत्वको प्यानलले आफ्नो प्रतिवद्धता पत्र र उम्मेदवार परिचय गराएको हो । सो कार्यक्रम अघिल्लो अधिवेशनमा समेत जीत हासिल गरेको संघका पूर्व तथा वर्तमान पदाधिकारीहरुले संघमा आफुहरुले नेतृत्व गरेपछि हासिल गरेको उपलब्धिहरु सुनाएका थिए । प्रगतिशिल समुहले आफ्नो प्रतिवद्धता पत्रमा सबै संघीय संरचना र जिल्लाहरुमा संघको संरचना निर्माण गर्ने, नर्सिङ शिक्षा, सेवा र अभ्यास र यसलाई अझ मजबूत बनाउन नर्सिङ अनुसन्धान र नर्सिङ प्रशासन तथा व्यवस्थापनलाई सरकारी तथा गैरसरकारी क्षेत्रमा लागू गर्न पहल गर्नेजस्ता प्रतिवद्धता गरिएको छ ।

त्यस्तै,नर्स र बिरामीको अनुपात मिलाउन पहल गर्ने, नर्सहरुको सेवा सुविधा वृद्धिका लागि पहल गर्ने, चिकित्सक र नर्सबीच रहेको विभेद कर्म गर्न पहल गर्ने, स्कूल हेल्थ कार्यक्रम विस्तार गर्न पहल गरेर नर्सहरुको कार्यक्षेत्रको दायरा विस्तार गर्ने, सुत्केरी भएका नर्स र ५० वर्ष नाघेका नर्सलाई रात्रि ड्यूटी गराउन नपाउनेगरि नीतिगत पहल गर्ने लगायत योजना अघि सारिएको छ ।  त्यस्तै चिकित्सा शिक्षा आयोगमा रहने ४ वटा कार्यकारी निर्देशकको पदमा नर्सिङ संघबाट स्थायी रुपमा प्रतिनिधित्व हुने व्यवस्था मिलाउने, नर्सिङ संघको लाजिम्पाटमा भएको भवनलाई व्यवसायीक भवनका रुपमा विकास गर्ने पनि प्रगतिशिल समुहको दस्तावेजमा समेटिएको छ । 

कार्यक्रममा अध्यक्षकी उम्मेदवार मनकुमारी राईले आफु दशकौंदेखि नर्सिङ क्षेत्रको हकहितका लागि लागेको र यसपटक नेतृत्व गरेर पेशागत गरिमालाई थप उचाईं दिलाउने प्रतिवद्धता व्यक्त गरिन् । उम्मेदवारी घोषणा कार्यक्रममा पूर्व अध्यक्षहरु सानु तुलाधर, सरला केसी लगायतले प्रगतिशिल समुहलाई जिताएमात्र नर्सहरुको हकअधिकारका बारेमा आवाज बुलन्द हुने बताए । कार्यक्रममा संघका वर्तमान उपाध्यक्ष अप्सरा पाण्डेले संघले प्रगतिशिल नेतृत्व पाएपछि थुप्रै सुधारहरु भएको दावी गरिन् । चिकित्सा शिक्षा आयोगमा पदेन संघका अध्यक्ष निर्देशक हुने, स्कुल नर्स कार्यक्रम सुरु गर्ने लगायत काम प्रगतिशिल समुहले गरेको भन्दै उनले पुनः प्रगतिशिलकै नेतृत्व आवश्यक भएको जिकिर गरिन् । 

संघको आसन्न निर्वाचनका लागि अध्यक्ष राईका साथै वरिष्ठ उपाध्यक्षमा रमेश सुब्बा, उपाध्यक्ष मिना बानियाँ, महासजिवमा नर्मदा थापा, सचिवमा प्रमिला थकाली, कोषाध्यक्षमा कल्पना श्रेष्ठले उम्मेदवारी दिएका छन् । त्यस्तै विजया अधिकारी, हरिप्रसाद कोजु, सोनु शेर्पा, सपना विक, अन्जु कमाुरी महतो, कोहिनुर फारुकी, अम्बिका पौडेल र सीता केसीले सदस्यमा उम्मेदवारी दिएका छन् । संघको आउँदो पुष ९ गते १९ औं कार्यसमितिको निर्वाचन हुँदैछ । संघमा यसपालीसम्म गरि करिब १४ हजार नर्स तथा अनमी आवद्ध छन् ।
 

Last modified on 2019-12-11 15:49:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts