नक्कली देखेर सक्कली डराउनु पर्दैन



Download our app to get more features

नेपाली बजारमा अहिले चलेको चर्चाको बिषय भनेको ‘नक्कली चिकित्सक’को बिषय हो । धेरै चिकित्सक नक्कली प्रमाणपत्र भएको आधारमा समातिए पनि जो सच्चा छन् र निरन्तर आफ्नो काममा लागिपरेका छन् उनीहरुले चित्त दुखाउने, डराउने, रिसाउने वा बेखुस हुनुपर्ने कुनै कारण छैन । 

नबिराउनु नडराउनु भन्ने उखानलाई पछ्याउँदै चिकित्सकले आफ्नो कामलाई निरन्तरता दिनुपर्दछ । समाजमा नराम्रा काम गर्नेहरुलाई सजाँय हुन्छ जाली काम गर्नेहरु समातिन्छन् त्यसलाई आधार मानेर आफू राम्रो र नियमसंगत काम गरिरहेको अवस्थामा खल्लो महशुस गर्नु हुँदैन । 

जो नक्कली थिए, उनीहरुले आफुसँग ज्ञान नभएको कुरामा आफूसँग ज्ञान छ भनेर काम गरिरहेका थिए र जो पदिय दुरुपयोग गरेर आफ्नो फाईदा मात्र हेर्दै थिए उनीहरुलाई कारवाही गर्नुपर्दछ र हुनुपर्दछ । चिकित्सकले बिरामीको बिश्वास प्राप्त गर्ने पहिलो आधार भनेको उसमा रहेको सीप र प्राविधिक ज्ञान हो ।

चिकित्सकले आफ्ना बिरामीहरुको रोग सहि तरिकाले पहिचान गराइदिने हो, उपयुक्त औषधि सेवन गर्नका लागि दिने हो भने बिरामीले रोगबाट छुटकारा पाउँछ र त्यसैले चिकित्सकप्रतिको विश्वास बढाउँछ । बाहिर बजारमा नक्कली र सक्कली चिकित्सकको जतिसुकै विवाद भएपनि उक्त बिषयले कुनै प्रभाव पार्दैन र बिरामीले चिकित्सकमाथीको विश्वास पनि गुमाउँदैन । 

यदि कुनै चिकित्सक आफ्नो बिरामीसँग पहिलेदेखि नै झारा टार्ने तरिकाको, बिरामीसँग विस्तारमा कुरा गर्न नचाहाने, उनीहरुको चित्त बुझ्ने तरिकाले व्याख्या गर्न नसक्ने, बिरामीसँग बोल्नु नपरे हुन्थ्यो भन्ने सोच राख्ने, आर्थिक बिषयमा मात्र ज्यादा ध्यान दिने व्यवहारको थियो भने त्यसले पक्कै शंकाको वातावरण सिर्जना गर्दछ । 

तर, जो बर्षौदेखि चिकित्सा पेशामा छन्, जसले आफ्नो सीप तथा ज्ञान, बिरामीहरुसँग कुराकानी गर्ने शैली र संवादको तरिकाले एक प्रकारको छवी बनाइसकेका छन्, उनीहरुलाई यो बजारमा आएको हल्लाले मात्र कुनै प्रभाव पर्दैन । 

चिकित्सकहरुले आफूले बिरामीको पहिलो चरणको चेकजाँच पश्चात उसको बास्तविक अवस्था बताईदिनु पर्दछ । रोग छिप्पिएको वा जटिल भइसकेको अवस्थामा बिरामीलाई पहिले नै जानकारी गराईदिनु पर्छ । बिरामीको अवस्था सुधार हुने अवस्थामा छैन भने पहिलो चेकजाँचपछि नै बिरामी वा उसका परिवार, आफन्तलाई नबताउने र जब असफल भईन्छ सो समयमा बताउने हो भने पनि चिकित्सकमाथीको बिश्वास कम हुन्छ । परिस्थितीको आँकलन गरेर बिरामी र उसको परिवारसँग संवादमा गईहाल्नु अत्यावश्यक हुन्छ । 

चिकित्सक र बिरामीबीचको सम्बादको अत्याधिक महत्व छ । रोग, रोगको प्रकृति वा स्वभाव, निदानको प्रक्रिया के के हुनसक्छन्, उपचरका पद्दतीहरु के के हुन्, निदानका लागि बैकल्पिक बाटोहरु के के छन् यी सबै बिषयमा बिस्तृतमा छलफल आवश्यक छ । 

चिकित्सकले आफ्नो बिरामी र उसँग गरिएको वार्तालाप र आएको निश्कर्ष समेत अध्ययन गर्न आवश्यक छ । उपचारको क्रममा आफूले कुनै कमजोरी वा छुटपुट त गरिएको छैन भन्ने बिषयमा अध्ययन गर्नुपर्दछ । यदि आफूलाई यस्तो कुनै शंका लागेमा आफूभन्दा अनुभवी वा राम्रो ज्ञान भएको चिकित्सककोमा परामर्शको लागि पठाउनु पर्दछ । 

बिरामीले आफूमाथि केही पनि नआउने रहेछ भनेर आक्षेप लगाउनसक्छ र मसँग उपचारका लागि बिरामी आउन छोड्छन् कि भन्ने डरका आधारमा जे गर्छु म नै गर्छु भनेर सोच्नु पनि गलत हुन्छ । चिकित्सकले आफ्नो बिरामी या उसका आफन्तसँग आफ्नो ज्ञानको क्षेत्र भित्र नपरेकोले तपाई यो व्यक्तिसँग चेकजाँच गराउनुहोस् भन्ने सल्लाह दिनुपर्दछ । यसले बिरामीमा नकारात्मक भन्दा पनि सकारात्मक सोचको बिकास गराउँछ र बिरामीहरुमा पनि त्यो चेतनाको बिकास हुनु जरुरी छ । 

  • नक्कली चिकित्सकहरु पक्राउ परे भन्दैमा सक्कली चिकित्सकहरु बेखुस हुनुपर्ने अवस्था छैन ।
  • सीप र प्राविधिक ज्ञानले बिरामीको विश्वास जित्न सकिन्छ, बजार हल्लाले कुनै प्रभाव पर्दैन ।
  • सक्कली चिकित्सक पनि पहिलेदेखि बिरामीसँग टाढिन खोज्ने बानीको थियो भने शंका गर्नु स्वभाविक हो ।
  • बिरामी र उनका आफन्त तथा परिवारसँग सम्वाद सबैभन्दा महत्वपूर्ण कुरा हो ।
  • चिकित्सकले आफूले पूर्ण उपचार गर्न नसकेको अवस्थामा आफूभन्दा बढी ज्ञान भएको चिकित्सकसँग परामर्श लिन पठाउनु पर्दछ । 
  • चिकित्सकले रिफर गरेमा त्यसलाई सकारात्मक रुपमा लिने चेतनाको बिकास पनि हुनु जरुरी छ ।
  • कोही कठघरामा उभिँदैमा दोषी हुँदैन आफू निर्दोष रहेको प्रमाण देखाए सम्मान अझै बढ्नेछ ।

 

चिकित्सक पक्राउ प्रकरण र डा. कार्कीको व्यक्तिगत धारणा 

समाजको आखाँमा छारो हालेर आफूसँग नभएको योग्यताको दाबी गर्नु र झुटो कुराको आडमा अर्काको जिवनमाथी खेलवाड गर्नु गलत हो । सरकारबाट अहिले त्यसको नियन्त्रणको लागि जुन कदमहरु उठाईएको छ त्यो पक्कै पनि सकारात्मक र सह्रानीय छन् । कुनैपनि कानुनी निकायले यथेष्ठ प्रमाण नभै कुनै निदोषलाई कारबाहि गर्न सक्दैन त्यसैले यो गलत हुन सक्दैन । यसले आउँदा दिनमा चिकित्सकमाथि थप विश्वासको वातावरण सिर्जना गर्न मद्दत गर्दछ । 

कोही कानुनी कठघरा उभिँदैमा उ गलत हुँदैन । कानुनी राज्यमा कानुनी कठघरामा उभिएर आफू दोषी नभएको प्रमाण पेश गर्नु भनेको आफूमामाथिको बिश्वासलाई अझै बढाउनु हो । त्यसैले प्रक्रियामा संलग्न हुनका लागि कसैले हिचकिचाउनु हुँदैन । 

कोही निर्दोष चिकित्सकहरु पनि यस्तो घानमा परेका छन् भने उनीको मर्यादालाई कायम राखिदिनु पर्दछ । तर जो गलत बाटोको प्रयोग गरेर आफ्नो स्वार्थपूर्ति गर्दै थियो, जसका अपराध पुष्टि गर्ने यथेष्ठ प्रमाण छन् भने उसलाई कुनैपनि हालतमा छोड्नु हुन्न । 
 
डा. कार्कीसँग शिबप्रसाद लामिछानेले गरेको कुराकानीमा आधारित 

Last modified on 2016-06-30 15:16:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts