चितवनका प्रहरी, थुनुवा, बिरामी र हाेम क्वारेन्टिनमा रहेका छ जनामा काेराेना सङ्क्रमण



Download our app to get more features

चितवन, २४ साउन ।   चितवनका छ सहित थप आठ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ ।

भरतपुर अस्पताल काेभिड-१९ परीक्षण प्रयाेगशालामा स्वाब आरटिपिसिआर प्रविधिबाट परीक्षण गर्दा थप आठ जनामा काेराेना भाइरस (काेभिड-१९) सङ्क्रमण पुष्टि भएकाे प्रयाेगशाला प्रमुख डा. नितु अधिकारीले जानकारी दिईन् । दुई जना भने बाहिरी जिल्लाका छन् ।

उनका अनुसार सङ्क्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिका–१ का ६ वर्षीय बालक, त्यस्तै वडा नं. ४, १० र १५ का २० देखि ४८ वर्ष उमेर समूहका चार जना पुरुष र एक जना महिला रहेका छन् । सङ्क्रमित हुनेमा प्रहरी, थुनुवा, उपचाररत बिरामी र हाेम क्वारेन्टिनमा रहेकाहरू छन् ।

यस्तै सुर्खेत जिल्लाकाे चिठगाउँ–२ का २२ वर्षीय प्रहरी र नवलपुर जिल्लाकाे गैंडाकोट नगरपालिका–१५ का ३६ वर्षीय पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको उनले बताइन् ।

शनिवार प्रयाेगशालामा ६९ नमुना परीक्षण गरिएकाे मध्ये ती आठ जनामा सङ्क्रमण देखिएकाे हाे । बाँकी ६१ नमुनाकाे नतिजा भने नेगेटिभ आएकाे उनले बताइन् ।

उता बुधवार प्रयाेगशालामा १ सय ७२ नमुना परीक्षण गरिएकाे मध्ये महानगरपालिका १ का ७९ वर्षीय वृद्वमा सङ्क्रमण देखिएकाे थियाे । ‘ट्राभल हिस्ट्री’ नभएका ती वृद्वमा काेराेना संक्रमण पुष्टि भएकाे भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले हाम्रो डक्टर न्युजलाई जानकारी दिए ।

त्यस्तै, शुक्रवार गरिएकाे परीक्षणमा वृद्वका ४६ वर्षीय छाेरा र ३८ वर्षीया बुहारीमा समेत सङ्क्रमण देखिएकाे थियाे । वृद्वमा संक्रमण पुष्टि भएपछि उनकाे हेरचाह गर्ने छाेरा र बुहारीमा समेत काेराेना परीक्षण गरिएकाे थियाे । शनिवार सङ्क्रमण पुष्टि भएका ६ वर्षीय बालक ती सङ्क्रमित दम्पतीका छाेरा हुन् । शुक्रवार आमा र बुबामा सङ्क्रमण देखिएपछि ती बालककाे समेत शनिवार नमुना परीक्षण गरिएकाे थियाे ।

शनिवार थप छ जनामा सङ्क्रमण देखिएसँगै चितवनमा अहिलेसम्म काेराेना भाइरस (काेभिड-१९) सङ्क्रमण पुष्टि हुनेकाे संख्या एक सय २६ पुगेको छ । सङ्क्रमित हुनेहरू मध्ये अधिकांश निकाे भएर घर फर्कि सकेका छन् । अहिले भरतपुर अस्पतालमा उपचाररत तीन जना छन् । नयाँ सङ्क्रमितहरूलाई कहाँ कसरी राख्ने भन्ने बारे छलफल भईरहेकाे भरतपुर अस्पतालले जनाएकाे छ ।

Last modified on 2020-08-08 20:38:44

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts