नर्भिक अस्पतालको अतिरिक्त सुरक्षा दस्तुरः यस्तो छ अस्पतालको प्रष्टोक्ति
 
            काठमाडौं, २२ असोज । सरकारको मापदण्डलाई अटेरी गर्दै बिरामीसँग सुरक्षा दस्तुरको नाममा लिन थप शुल्क लिन थालेको नर्भिक अस्पतालले त्यसको खण्डन गरेको छ ।
सरकारले कोरोना महामारीको समयमा बिरामीसँग कनुैपनि अनावश्यक शिर्षकमा शुल्क लिन नपाउने भनेर व्यवस्था गरेपनि नर्भिक अस्पतालले सेवाग्राहीसँग नयाँ रणनीति अपनाएर शुल्क असुल्न थालेपछि त्यसको चौतर्फी आलोचना भइरहेका बेला अस्पतालले आफ्नो धारणा सार्वजनिक गरेको हो ।
अस्पतालका ६५ जना कर्मचारीमा कोरोना देखिएपछि थप जनशक्ति परिचालन गर्दा खर्च बढी हुने र अस्पतालले धान्न नसक्ने अवस्था भएकाले सुरक्षा दस्तुरको रुपमा शुल्क लिन बाध्य भएको स्वयं अस्पतालले नै स्विकारेको छ ।
अस्पतालका कर्मचारी आइसोलेसनमा हुँदा चाहिने अतिरिक्त जनशक्ति व्यवस्थापनका लागि अस्पताललाई दोहोरो र अनेकन अतिरिक्त खर्चहरु बढाइदिएको हुनाले ती खर्चलाई पूर्ति गर्नका लागि ‘सुरक्षा दस्तुर’ लिइएको अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ ।
कोभिड–१९ को विषम परिस्थितिलाई मध्यनजर गर्दै दैनिक ठूलो संख्यामा आउने बिरामीका आफन्तहरुको समेत स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दा उत्पन्न हुने अतिरिक्त दायीत्व व्यवस्थापन गर्न कोभिडको प्रभाव रहुञ्जेलसम्मका लागि सुरक्षा दस्तुर भनेर बिरामीसँग लिन थालिएको बताएको छ । साथै अस्पतालको आफ्नो कुनै पनि नियमित सेवाशुल्क वृद्धि नगरेको तर सुरक्षा दस्तुर भनेर लिन थालिएको पनि उल्लेख गरेको छ ।
अस्पताल परिसरमा व्यवस्थित हात धुने व्यवस्था, अस्पतालको मुख्य ठाउँहरुमा ह्याण्ड स्यानिटाइजरको व्यवस्था, अस्पताल आउने तर मापदण्डअनुसारको मास्क नलगाउने भिजिटरहरुलाई निःशुल्क रुपमा मास्क वितरण, ह्यूमन टच प्वाइन्ट (मानिसहरुले बढीभन्दा बढी छुनसक्ने ठाउँ) लाई दैनिक डिसइन्फेक्सन लगायतका सुरक्षात्मक उपायहरु अपनाउँदा सिर्जना भएको अतिरिक्त दायीत्व अस्पतालको एक्लो प्रयासले मात्र पूरा हुन असंभव भएकोले ‘सुरक्षा दस्तुर’ लिइएको विज्ञप्तिमा उल्लेख गरेको छ ।
 
                                    
 
                         
                         
                         
                         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                 
                 
                 
                