एनेस्थेसिया झोल लगाएर मोतियाविन्दुको जटिल शल्यक्रिया, दुबै आँखा नदेख्ने रम्तेलको खुशी फर्कियो



Download our app to get more features

काठमाडौं, १२ पुस । तिलगंगा आँखा अस्पतालको शिविरमा शल्यक्रिया गराएकी एक महिलाको आँखाको ज्योती फर्किएको छ ।

ओखलढुंगाकी ३७ वर्षीया कुसुम रम्तेलले एक वर्ष अघिदेखि नै आँखा देख्न छोडेकी थिइन् । कोरोना महामारीका कारण बिरामी अस्पताल आउन नसक्दा तिलगंगा आँखा अस्पतालले विभिन्न जिल्लामा शिविरको आयोजना गर्दा रम्तेलले पनि शिविरमा आँखा जाँच गराउने मौका पाइन् ।

आर्थिक अवस्था कमजोर भएकाले शहरमा पुगेर उपचार गराउने सामथ्र्य थिएन । आँखा देख्न छोडेपछि उनी घरमै झोक्राएर बसिरहन्थिन् । काँही हिड्नुपर्दा उनलाई अरुको साहरा चाहिन्थ्यो ।

तिलगंगा आँखा अस्पतालका विशेषज्ञ चिकित्सकको टोली ओखलढुंगाको सामुदायीक आँखा अस्पतालमा विशेष शिविर लिएर पुगेका थिए । गाउँमा शिविर सञ्चालन हुँदैछ भन्ने जानकारी पाएपछि रम्तेललाई उनका परिवारले घरबाट २ घण्टासम्मको बाटोमा बोकेरै शिविर स्थलसम्म ल्याएका थिए ।

तिलगंगा अस्पतालबाट ओखलढुंगा पुगेका डा. वेन लिम्बुको टोलीले उनको आँखा जाँच गरेर मोतिविन्दुको कारणले उनको दुवै आँखाको ज्योती गुमेको पत्ता लगाएको थियो । मोतिविन्दुको उपचार गरेमा उनको आँखाको ज्योती फर्किने कुरा डा. लिम्बुले रम्तेल र उनका परिवारलाई बताएपछि सबै खुशी भएका थिए ।

शल्यक्रियाका लागि उनको अन्य स्वास्थ्यजाँच गरिर्दा उनमा रक्तचापको समस्या देखिएको थियो । त्यसपछि उनको तत्कालै शल्यक्रिया हुन सक्ने अवस्था नरहेको डाक्टरहरुले बताएका थिए ।

आर्थिक अवस्था कमजोर रहेको रम्तेलका परिवारले शिविरमै शल्यक्रिया गर्न आग्रह गरेपछि डा. लिम्बुको टोलीले उनको शल्यक्रिया गर्ने निर्णय गरे । शिविरमा आएका सबै बिरामीको शल्यक्रिया सकिएपछि अन्तिममा उनको शल्यक्रिया गर्ने निर्णय गरियो ।  

रक्तचाप भएका बिरामीलाई एनेस्थेसिया दिएर शल्यक्रिया गर्न सम्भव नहुँदा रम्तेललको शल्यक्रिया सहज थिएन । तर, उनलाई बिना इन्जेक्सन एनेस्थेसिया झोल लगाएर शल्यक्रिया गरियो । अन्ततः रम्तेलको आँखाको उपचार सफल भयो । उनको शल्यक्रिया १० मिनेटमै पुरा भयो र उनले दुबै आँखा देख्ने भएकी छन् ।

बिना इन्जेक्सन दुवै आँखाको शल्यक्रिय गर्नु जटिल केस भएपनि रम्तेलको उपचार सफल भएको डा. लिम्बुले बताए ।

Last modified on 2020-12-27 17:27:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts