दसैँंमा मासुको सेवनः कस्ता बिरामीको लागि मासु विष बनिदिन्छ ? जानौं



Download our app to get more features

कोरोना महामारीसंँगै यस वर्षको दसैँं हरेक घर–घरमा भित्रिसकेको छ । दसैँंमा धेरैले मासुलाई नै बढी महत्व दिने गर्छन् । मासु खान थालेपछि हामी नेपाली हरीया सागसब्जी लगायत अन्य साधारण खानेकुरा खान बिर्सिदिन्छौ ।

एकैपटक मासु मात्रै धेरै खाँदा बिरामी पर्ने मात्र होइन, दीर्घकालीन असर पर्ने चिकित्सकहरु बताउँछन् । चिल्लो मासु खाएर आरामले बस्दा स्वास्थ्यलाई प्रत्यक्ष असर पर्छ । दशैंको समयमा स्वाद र सन्तुष्टिका लागि मासुका परिकार मात्रै खाने तर कुनै व्यायम नगर्दा त्यसले स्वास्थ्यलाई झन् नराम्रो असर पर्ने जनस्वास्थ्य विज्ञ डा. अरुणा उप्रेतीको भनाइ छ ।

मासु ठिक्क मात्रामा मात्रै खानुपर्ने डा. उप्रेतीको सुझाव छ । अत्याधिक मात्रामा चिल्लोयुक्त र मसलेदार मासु खाँदा तत्काल असर नदेखिए पनि केही दिनपछि विस्तारै समस्या देखापर्ने हुन्छ । अझै अहिले कोरोनाको महामारी भएकाले धेरै सावधानी अपनाउन उनको अनुरोध छ ।
  
अहिले नेपालमा मधुमेह, मुटुका बिरामी, युरिक एसिडलगायत रोगका बिरामी बढिरहेका छन् । यस्ता रोगीले रातो मासु खाँदा स्वास्थ्यमा झन् नराम्रो असर पर्ने डा. उप्रेतीको भनाइ छ । 

दसैँंमा आफन्तकामा पनि गइने हुँदा त्यहाँ पनि विचार गरेर ठिक्क मात्रामा खानुपर्छ । आफ्नो मन थाम्न नसकेर आवश्यकभन्दा बढी खानेकुरा खाने बानीले स्वास्थ्यका लागि हानिकारक हुन्छ । रक्तचाप बढी भएका, युरिक एसिड भएका मानिसले भित्री अंगका मासु तथा रातो मासु खाँदा उनीहरुको शरीरमा ठूलो क्षति पुग्ने डा. उप्रतीले बताईन् ।   

मासु पकाउँदा पनि धेरै मसला, चिल्लो राखेर भन्दा पनि साधारण तरिकाले पकाएर खानुपर्ने डा. उपे्रतीको सुझाव छ । उनकाअनुसार बढी मसलेदार मासु, धेरै दिनको बासी मासु, राम्ररी नपाकेको मासु खाँदा अपच हुने, वान्ता हुने, आउँ, हैजाजस्ता समस्या निम्तिन्छ । यसकारण मासुलाई ताजा राख्नका लागि फ्रिजमा राख्नुपर्छ ।

‘मासुमा धेरै प्रोटिन हुन्छ, थोरै मात्रामा मासु सेवन गर्दा भने शरीरलाई फाइदा पुग्ने भएकाले धेरै खाननहुने उनले बताईन् । 

दीर्घरोगीलाई मासु विषसरह 
मुटुरोग, युरिक एसिड लगायतका दीर्घरोगीलाई मासु घातक मानिन्छ । अझै दीर्घरोगीले मासु खानु विष सेवन गरेसरह नै हुने गरेको छ । त्यसैले दीर्घरोगीले मासु सेवन नगरेकै उत्तम हुन्छ । तेलमा भुटेको, तारेको, सेकुवा र मसलेदार मासु खानु शरीरका लागि झनै हानिकारक हुने डा. उप्रेतीले बताइन् । नेपालमा दिनानुदिन दीर्घरोगी बढ्नुका कारण पनि अस्वस्थकर खाना नै भएको चिकित्सकहरु बताउँछन् ।

कस्तो मासु नखाने ?
मासुको गुणस्तर कस्तो हो, नबुझी खाँदा स्वास्थ्यमा समस्या निम्तिन्छ । अमिलो र नमिठो गन्ध आएको छ भने त्यस्तो मासु खानु हुँदैन । प्याजी रंगको मासु मात्रै खान योग्य हुने गरेको छ । बजारमा झुन्डाएर राखिएको मासु हल्का गुलाबी रंगको छ भने त्यसमा सचेत हुनुपर्छ । पसलमा झुन्ड्याएर खुला रूपमा राखिएको मासुमा ब्याक्टेरियाको संक्रमण धेरै हुने गर्छ । अस्वस्थ मासुको सेवनले स्वस्थ मानिस समेत बिरामी हुने सम्भावना रहने भन्दै डा. उप्रेतीले दीर्घरोगी झन् खतरामा जाने बताइन् । खानामा सन्तुलन मिलाउनुका साथै अभ्यासलाई पनि ध्यानमा राख्न जरुरी हुने डा. उप्रेतीको सुझाव छ । उनले दशैंका लागि खसि किन्दा सिंगान बगेको चिकित्सकले स्वस्थ्य छ भनेर चिन्ह नलगाएको अस्वस्थकर हुने बताइन् ।

मासुको बढी प्रयोगले कस्ता समस्या ?
मासुको बढी प्रयोगले युरिक एसिडको समस्या आउँने डा. उप्रेतीको भनाइ छ । त्यस्तै, रातो मासुले नकारात्मक असर गर्छ । बोसो तथा छाला रहित मासु खाने गरेमा हानी कम हुन्छ । रगत पकाएर रक्ति बनाएर खानुलाई पनि खासै उपयोगी मानिंदैन । यस्तो मासुको प्रयोगले खाएको केही समयभित्र नै झाडापखाला लाग्ने, अपच हुने, ग्यास्ट्रिक बढ्नेलगायतका समस्या हुने डा. उप्रेतीले बताइन् । उनले मासुबाट रोगहरु सर्नसक्ने कुरामा सधैं सचेत रहन सुझाव दिएकी छिन् ।

कस्तो मासु कसरी खाने ?
सुरुमा खसी बोका कुखुरा च्याङग्रा किन्दा नै मेडिकल डाक्टरले स्वस्थ छ भनेर प्रमाणित गरेको मात्रै किन्नुपर्ने डा. उप्रेती बताउछिन् । त्यसरी सम्भव नभए नजिकैको पसल, जहाँ आफूलाई विश्वास लाग्छ त्यहीबाट मात्र मासु किन्नुपर्ने जनस्वास्थ्य विज्ञ डा उप्रतीले बताइन् । जहाँ पायो त्यहिँबाट मासु लिनु नहुने भन्दै डा. उप्रेतीले मासु लेराइसकेपछि राम्रोसँग पकाएर मात्रै खान सुझाव दिइन ।

राम्रोसँग नपाकेको मासुले शरीरलाई हानी गर्ने चिकित्सकहरु बताउँछन् । मासुमा राँगा खसी भन्दा कुखुरा, माछा स्वस्थ्यकर हुने बताइन्छ । खसीमा रेडीमेट बढी हुन्छ । छाला खाँदा पनि पाचन प्रक्रियामा असर गर्ने डा. उप्रेतीतीले बताइन । छालामा धेरै बोसो हुने भएकाले त्यो स्वस्थ्यकर हुँदैन । पोलेर साँधेर भुटेर राखेको मासुमा क्यान्सर बनाउने तत्व हुने डा. उप्रेतीको भनाइछ ।

उनका अनुसार त्यस्तो मासुले पाचन प्रक्रियालाई राम्रो गर्दैन । दशैंमा मीठो बनाउनु पर्छ भन्दैमा अनावश्यक मरमसला हाल्न तिर लाग्न नहुने डा. उप्रेतीको सुझाव छ । उनले मासु बनाउँदा हरेक कुरा नुन, मसला तेल कमगर्न सुझाव दिएकी छन् । 


 

Last modified on 2021-10-15 06:24:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts