विश्व उच्च रक्तचाप दिवस

यी आठ उपायबाट नियन्त्रणमा रहन्छ उच्च रक्तचाप 



Download our app to get more features

आज विश्व उच्च रक्तचाप दिवस, मुटुसम्बन्धी रोगको स्वास्थ्यलाई केन्द्रीत गरेर मनाइँदैछ । पछिल्लो समय नेपालमा कोरोना महामारीको दोस्रा चरणको लहरले सबै क्षेत्र अस्तव्यस्त बनेपछि अधिकांश मुटुरोगीले पनि नियमित स्वास्थ्य जाँच निर्वाध रुपले गराउन नपाएको हुन सक्छ । कारण सबैजसो अस्पतालमा कोरोनाका बिरामीहरु छन् । हालको अवस्थामा एक लाखभन्दा बढी संक्रमितहरु होम आइसोलेसनमा छन् । त्यसमा मुटुरोगीहरु पनि छन् भने सामान्य मानिसहरुपनि घरमै बसिरहेका छन् ।

कोरोना महामारीले मुटुरोगी त्यसमा पनि उच्च रक्तचाप भएका मुटुरोगीलाई थप जटिलता हुन सक्ने वैज्ञानिकहरु बताउँछन् । उच्च रक्तचाप भएका व्यक्तिलाई कोरोना संक्रमण भयो भने कोरोनाले उनीहरुलाई जटिल अवस्थामा पुर्याउने हुँदा विशेष ख्याल गर्नु पर्छ ।  साथै निषेधाज्ञाको बेला उच्च रक्तचापसम्बन्धी समस्या धेरैमा देखिन सक्छ । उच्च रक्तचाप भएका बिरामी तथा हामी सबैले उच्च रक्तचापको समस्याबाट बच्न यी उपायहरु अपनाउन सक्छौं । 

शारीरिक व्यायाम गर्ने : दिनको कम्तिमा आधा घण्टादेखि ४५ मिनेटसम्म पसिना आउने गरी शारीरिक कसरत गर्ने ।

चिल्लो र बोसोयुक्त खानेकुरा धेरै नखाने : घरमै बसेर धेरै परिश्रम गर्न नपर्नेहरुले धेरै चिल्लो र बोसोयुक्त खानेकुरा नखाने ।

सागपात र फाइबरयुक्त खानेकुरा खाने : सागपात र फाइबर बढी हुने खानेकुरा जस्तैं गेडागुडी, गाँजर, सलाद आदि खाने ।

नुन कम खाने : खानामा नुन कम खाने बानी पनि उच्च रक्तचापबाट जोगिने एउटा उपाय हो ।

धुम्रपान र रक्सी सेवन नगर्ने : घर बसेको बेला सकेसम्म धुम्रपान र रक्सी सेवन नगर्ने ।

योग, ध्यान गर्ने  : दिनको केहि समय योग र ध्यानमा छुट्टाएर नियमपूर्वक गर्ने । 

आफुले खाइरहेको औषधि नियमित खाने : उच्च रक्तचाप, मधुमेह तथा कुनै दीर्घ रोगको औषधि आफुले लामो समयदेखि खाइरहेको भएमा त्यसलाई सेवन गरिरहने ।

मानसिक स्वास्थ्यलाई ध्यान दिने : समाजिक संजाल र मोबाइल, कम्प्युटर धेरै नहेर्ने, परिवारसंग समय बिताउने ।

Last modified on 2021-05-17 10:32:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts