किन लाग्छ झाडापखाला ? लक्षण, उपचार र बच्ने उपाय



Download our app to get more features

काठमाडौं, २ असार । दुषित खाना तथा पानीका कारण लाग्ने रोग झाडापखाला बालमृत्युको प्रमुख कारक तत्वको रुपमा रहँदै आएको छ विकाशोन्मुख देशहरुमा । नेपालमा पनि झाडापखालाजन्य रोगका कारण वर्षमा झण्डै १५ हजार बालबालिकाको ज्यान जाने गरेको तथ्यांक छ । विश्वमा हुने कुल बाल मृत्युमध्ये एक चौथाइ झाडापखालाकै कारण हुने गरेको बताइन्छ ।अहिले वर्षातको समय छ । यो समय झाडापखालाले सबैभन्दा धेरै सताउने वा महामारीकै रुप लिने समय पनि हो । तर यहाँनेर बुझ्नैपर्ने कुरा के हो भने झाडापखाला सजिलैसँग उपचार गरेर निको पार्न सकिने रोग हो । समयमै यसका लक्षण पहिचान गर्नेहो भने सामान्य औषधि तथा जिवनजलकै सेवनले समेत यो रोग निको हुन्छ । अलिक जटिल अवस्थामा सुइ मार्फत पनि सरीरमा तरल पदार्थ तथा औषधि आपूर्ति गर्नुपर्छ । तर यदि झाडापखाला लाग्दा हेलचेक्राइ गरियो भने यसले ज्यानै लिन बेर लगाउँदैन ।

झाडापखालाका लक्षण यी हुन्

–दिनमा ३ पटक भन्दा बढी दिसा लाग्नु ।

–बान्ता हुनु ।

–शरीरमा पानीको मात्रा कम हुँदै जानु ।

–आँखा गड्ने ।

–पिसाब थोरै हुने ।

–बिरामी शिथिल हुँदै जाने ।

–बच्चाले दूध चुस्न नसक्ने ।

–रुँदा आँसु नआउने ।

–पेट दुख्ने ।

यस्ता लक्षण देखिनु झडापखालाको लक्षण हो । झाडापखाला भएका बिरामीले समयमा उपचार नपाएमा बिरामीको मृत्यु समेत हुनसक्छ । त्यसैले झाडापखाला लागेमा उपचार गर्नुपर्छ । झाडापखालाको उपचार घरमै पनि गर्न सकिन्छ ।

झाडापखाला लागेमा यस्तो गर्नुस्

–पुनर्जलीय झोल बनाएर खाने ।

–उमोलेको पानी, भातको माड, दालको रस, गेडागुडी वा तरकारीको रस प्रशस्त मात्रामा खाने ।

–स्तनपान गराइरहेको शिशूलाई झाडापखाला भएमा धेरै पटक स्तनपान गराउने ।

–पाँच वर्ष मुनिका बालबालिकालाई स्वास्थ्यकर्मीको सल्लाहमा पुनर्जलीय झोलसँगै जिङ्क चक्की खुवाउने ।

–पुनर्जलीय झोल खादा पनि झाडापखाला निको नभएमा स्वास्थ्यसंस्थामा लैजानुपर्छ । स्वास्थ्य र सरसफाइमा ध्यान दिएमा झाडापखाला लाग्नबाट बच्न सकिन्छ ।

झाडापखाला लाग्नबाट कसरी बच्ने ?

–साबुन पानीले मिचिमिचि हात धुने बानी बसाल्ने ।

–राम्ररी पाकेको खानेकुरा खाने ।

–ताजा खानेकुरा मात्र खाने ।

–खानेकुरालाई झिँगा, धुलोबाट सुरक्षित राख्ने ।

–काँचै खाने तरकारी तथा फलफूल राम्रोसँग पखालेर खाने ।

–पानी शुद्धिकरण गरेर मात्रै पिउने ।

–शौचालयमा मात्रै दिसापिसाब गर्ने ।

–फोहारमैलालाई उचि तरिकाले विसर्जन गर्ने ।

(सरुवारोग विशेषज्ञ डाक्टर शेर बहादुर पुनसँग गरिएको कुराकानीमा आधारित)

Last modified on 2021-06-16 13:54:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts