सुदूरपश्चिमका अस्पतालमा दक्ष जनशक्ति अभाव, सरकार उपकरण थपेको थपै



Download our app to get more features

धनगढी, ३ असार ।  सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा प्रदेशका विभिन्न अस्पताल र स्वास्थ्य संस्थाका लागि ६ करोड ५० लाखको स्वास्थ्य उपकरण खरिद गरेको छ। 

उपकरण खरिद गरेर जिल्ला अस्पतालहरुलाई हस्तान्तरण गरिएपनि दक्षजनशक्तिको व्यवस्थापन नहुँदा भेन्टिलेटर लगायतकाउपकरण प्रयोगमा आउन सकेका छैनन्। यसरी दक्ष जनशक्तिको व्यवस्था गर्न नसक्दा उपकरण प्रयोगमा नआउँदै बिग्रीने सम्भावना रहेको स्वास्थ्य अधिकारीले बताएका छन्। 

सेती अस्पतालको आइसियू विभाग प्रमुख रहेका डाक्टर कपिल गौतमले कुनै पनि उपकरण प्रयोगमा ल्याउन नसके खिया लागेर बिग्रीने सम्भावना रहेको बताए। ‘अस्पतालहरुमा उपकरण मात्रै भएर हुँदैन जनशक्ति र उपकरणको व्यवस्थापन होलेस्टिक एप्रोचमा गरिनु पर्छ।’ 

पहिलोपटक कोभिड १९ को प्रकोप बढेको बेला सुदूरपश्चिम प्रदेशमा रहेको अस्पतालहरुको नाजुक अवस्था थाहा भएको थियो। अझैपनि प्रदेश मातहतका जिल्ला अस्पतालहरुको अवस्था मजबुत भएको छैन। 

तर पनि प्रदेशमा रहेका अस्पतालहरुले प्रदान गर्ने स्वास्थ्य सेवाको सुधारका लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारले विभिन्न उपकरण खरिद गरेर अस्पतालहरुलाई हस्तान्तरण गरेको दाबी गर्ने गरेको छ। 

प्रदेश सरकारले भेन्टिलेटर, अल्ट्रासाउण्ड मात्रै होइन अन्य सामग्री समेत खरिद गरेको बताइएको छ। स्वास्थ्य उपकरणहरुमा बेबी वार्मर १९ थान, पोटोथेरापी युनिट १९ थान, ७ वटा युसिजी मसिन, हेमाटोलोजी एनालाइजर ३ थान, दाँतको एक्सरे मसिन ३ थान लगायतका स्वास्थ्य सामग्री खरिद गरिएको प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त प्रमुख पदम विष्टले बताए।

उनले भने, ‘सुदूरपश्चिम प्रदेशमा संघीय सरकारको बजेटबाट खरिद गरिएका उपकरणका अतिरिक्त प्रदेश सरकारले चालु आर्थिक वर्षमा पहाडी जिल्लामा रहेका अस्पतालहरुका लागि ६ करोड ५० लाख बजेटमा विभिन्न उपकरण खरिद गरेको छ।’ 

कोभिड संक्रमण बढेको बेला कोरोना कोषबाट प्रदेश सरकारले २० वटा भेन्टिलेटर खरिद गरेको थियो। निकैपछि मात्रै खरिद गरेर दुई थानका दरले पहाडी जिल्लाहरुमा रहेका अस्पतालहरुलाई ती भेन्टिलेटर वितरण गरिएको थियो। 

तर अस्पतालमा जनशक्तिको अभावले भेन्टिलेटर अझै थन्क्याएर राखिएका छन्।  प्रदेशका दार्चुला, बैतडी, बझाङ, डोटी, टीकापुर, अछाम र बाजुरा जिल्ला अस्पतालमा रहेका भेन्टिलेटर भने जनशक्ति अभावमा थन्किएका छन्।

यर्सथ उपकरण खरिदमा मात्रै ध्यान दिने तर जनशक्तिको नियुक्तिमा भने ध्यानै नदिने गरेको प्रदेश सरकारलाई आरोप लाग्ने गरेको छ।

Last modified on 2021-06-17 18:00:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts