कपाल झर्ने समस्याबाट कसरी छुट्कारा पाउने ? 



Download our app to get more features

काठमाडौं, ४ असार । मानिसले बदलिँदो जीवनशैलीसँगै विभिन्न स्वास्थ्य समस्यासँग पनि जुध्नु परिरहेको छ । यी अनेकन समस्याहरूमध्ये कपाल झर्ने समस्याले धेरै मानिसलाई चिन्तित बनाइरहेको छ । कपाल झर्ने समस्याले कुनै पनि उमेर समूहलाई सताउन सक्छ ।

विभिन्न कारणले आउने तनाव पनि कपाल झर्नुको कारण हुन सक्छ भने कतिपय मानिसहरूमा वंशाणुगत गुणले पनि कपाल झर्ने समस्याले सताइरहेको हुन्छ । त्यसमध्ये पनि तालुपनाको समस्याले धेरै मानिसलाई हैरान बनाइरहेको हुन्छ । धेरैजसो कपाल झर्ने समस्या भिटामिन, आइरनलगायतका तत्त्वको कमीले हुने गर्दछ भने थाइराइडको समस्या भएका व्यक्तिहरूको पनि कपाल झरिरहेको हुन्छ  । सुन्दरताका लागि होस् या सेतो कपाललाई रंग्याउन होस्, पछिल्लो समय धेरै मानिसहरू मेहन्दीको प्रयोग गरिरहेका छन् । तर, कस्तो मेहन्दी कसरी प्रयोग गर्ने भन्ने धेरैलाई थाहा नहुन सक्छ ।

कपालको स्याहार गर्दा ध्यान दिनुपर्ने अर्को महत्त्वपूर्ण कुरा स्याम्पु र साबुनको प्रयोग हो । यसले छाला तथा कपाललाई हानि गर्छ गर्दैन, कस्तो स्याम्पु कसरी प्रयोग गर्ने भन्ने कुरा हामी धेरैले ख्यालै गर्दैनौँ । वीर अस्पताल चर्म रोग विभागका प्रमुख प्राडा. भाष्कर कायस्थका अनुसार कपाल झर्ने विभिन्न कारण भए पनि वर्षामा बढी, जाडोमा कम वा कुनै पनि मौसमअनुसार घटीबढी भन्ने हुँदैन । कोही सुत्केरी भएको छ वा उसलाई कुनै पनि रोग लागेको छ या पारिवारिक सदस्यलाई कुनै ठूलो रोग लागेको छ भने यही कारणले हुने तनाव र धपेडीले गर्दा तीन चार महिनापछि कपाल झर्न थाल्ने डा. कायस्तले बताए । यसरी झरेको कपाललाई थोरै खानपिनमा ध्यान दिएर पुन उमार्न सकिने उनको भनाइ छ ।

 छालाको रोगका कारणले चक्का चक्का भएर झर्ने वा क्यान्सरको औषधि खाएर झरेको छ भने पनि पछि गएर कपाल पलाउने उनले बताए । उनका अनुसार तालु खुइलिने खालको कपाल झर्ने वंशाणुगत रोगका कारणले भएकाले यो पछि उम्रँदैन । यसका अलावा बढी आइरन भएको इनारको पानीको प्रयोग, क्लोरिनयुक्त पानीको प्रयोग, कडा रसायनयुक्त स्याम्पु, साबुन, रंग आदिको प्रयोगलाई पनि नियन्त्रण गरेर आफ्नो बानी व्यवहारलाई परिवर्तन गर्नसके कपाल झर्ने समस्याबाट छुट्कारा पाउन सकिने डा. कायस्थको सुझाव छ ।
यो मौसममा कपाल किन झर्छ ?

यो मौसममा उच्च तामक्रमका कारणले पसिना र चायाले धूलो, मैलो, फोहोर आदि कपालमा जम्ने गर्छ । यसले कपालको जरा कमजोर बनाउँछ र कपाल झर्ने र टुक्रने समस्या निम्त्याउँछ । 

- प्रोटिनको कमी ।
- वातावरणीय प्रदूषण ।
- मौसम परिवर्तन हुनासाथ शरीरमा हुने परिवर्तन ।
- घन्टौं हेलमेट लगाइराख्नाले ।
- बारम्बार स्याम्पु, कन्डिसनर, ट्रिटमेन्ट क्रिमजस्ता रासायनिक पदार्थको प्रयोग गर्नाले ।
- गर्मी मौसममा तापक्रम बढेर वर्षाको पानीमा अम्लीयता भएका कारणले पनि कपाल सुक्खा हुने, टुक्रने र झर्ने समस्या हुन्छ ।
- गर्मीमा पानीको कमीले गर्दा छाला कमजोर हुन्छ र कपाल झर्छ ।
- पसिनाका कारण धूलोमैलो, फोहोर आदि कपालमा जम्ने गर्छ । साथै जुम्रा परेर पनि कपाल झर्छ ।
- कडा घामको अल्ट्रा भायोलेन्ट किरणले कपाललाई हानि पुर्‍याई झार्ने गर्छ ।
- पसिना वा वर्षाको पानीले भिजिरहने हुँदा कपालको सावधानीपूर्वक स्याहार गर्नुपर्छ । किनकि भिजेको बेलामा कपाल इलास्टिकसरह तन्किन्छ र टुक्रिएर झर्छ ।
- पौडी खेल्दा क्लोरिनयुक्त पानीबाट कपाललाई हानि पुग्छ ।

समस्याबाट जोगिने उपाय

- भिजेको कपाल तन्किने हुँदा होशियारीपूर्वक ब्रस गर्नुपर्छ ।
- कपाल सुन्दर बनाउन हेयर प्याक लगाउनुपर्छ । यसका लागि एउटा अन्डा र एकदुई थोपा कागतीको रस फिटेर कपालको जरासम्म लगाई तीन मिनेट राख्ने र धुने । यसले जरा बलियो बनाई झर्नबाट रोक्छ ।
- पसिनाको रूपमा शरीरबाट पानी निस्कने हुनाले पानी वा झोलिलो पदार्थ बढी सेवन गर्ने ।
- गर्मीमा खाना कम खाइने भएकाले हल्का पौष्टिक आहार लिने गर्नुपर्छ ।
- पानी वा पसिनाले कपाल भिजेमा कपाललाई राम्रोसँग सुक्न दिनुपर्छ ।
- पौडी खेलिसकेपछि साल्ट र क्लोरिनयुक्त पानी हटाउन राम्रोसँग नुहाउनुपर्छ ।
- छाताको प्रयोग गर्नुपर्छ ।
- कडा घामबाट बचाउन ह्याट वा स्काफ प्रयोग गर्ने ।
- सनस्क्रिन हेयर जेल प्रयोग गर्ने ।
- यो मौसममा उमेरभन्दा पहिले फुल्ने, जरजर हुने, चमक हराउने, हाँगा पलाउने, टुक्रिने, झर्ने हुने गर्छ ।
- आफ्नो कपाललाई फेरि पहिलेकै जस्तो आकर्षक बनाउन टाउकोको मसाज गर्ने गर्नुपर्छ । मालिस गर्दा टाउकोमा रक्तसञ्चार बढ्न गई कपालको जरा बलियो बनाउँछ । मसाज गर्दा सिवासिस ग्ल्यान्डको उत्पादन सुचारु भई यसले कपालको सुक्खापन हटाई मस्तिष्कको अनेकौं समस्यालाई निर्मूल पार्छ । यसरी मसाजपछि स्याम्पु गर्दा अक्सिजनले केशलाई स्वस्थ र सुन्दर राख्न मद्दत गर्छ ।
- चिसो कपालमा ठूलो काइँयोले कोर्ने र सुक्खा कपालमा ब्रसको प्रयोग उपयुक्त हुन्छ । हतारमा अत्यधिक मात्रामा ड्रायर प्रयोग गर्दा कपाल ड्यामेज भएर झर्छ ।
- घामबाट अल्ट्रा भायोलेट किरण निस्कन्छ र कपालमा भएको प्रोटिन र केराटिनलाई कमजोर बनाई टुक्रने गर्छ । यसका लागि युवी प्रोटेक्सन भएको स्याम्पु, कन्डिस्नर र हेयर स्प्रे प्रयोग गर्ने ।
- रसायनको प्रयोगले पनि कपाललाई नोक्सान गर्छ । पर्मिङ, स्ट्रेटिङ, कलरिङ, ब्लिचिङ सही तरिकाले गर्‍यो भनेमात्रै बच्न सकिन्छ । यसको जथाभावी प्रयोगले कपाललाई पूर्ण रूपमा नष्ट पार्छ । आफ्नो कपालको गुणअनुसारको स्याम्पु प्रयोग गर्ने ।

 

Last modified on 2021-06-18 15:11:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts