काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा खुकुलो पार्दै एक साता लम्ब्याइयो, के-के गर्न पाइन्छ ?



Download our app to get more features

काठमाडौं, ६ असार । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साताका लागि  लम्ब्याइएको छ । 

आइतवार उपत्यकाका तीन वटै प्रमुख जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बसेको बैठकले जारी निषेधाज्ञालाई खुकुलो बनाउँदै एक साताका लागि थप्ने निर्णय गरेको हो ।

थपिएको निषेधाज्ञा अवधिमा निजी सवारी साधन जोर विजोर प्रणालीमा चलाउन पाइनेछ भने बार अनुसार पसलहरु सञ्चालन गर्न पाइने भएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार बैठकले असार ११ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । तर, यसपटक निजी सवारी साधन पनि जोर नम्बर प्लेटको जोर बार र विजोर नम्बर प्लेट विजोर बार चल्न दिने निर्णय गरेको छ ।

यस्तै अबदेखि ट्याक्सी पनि जोर विजोर प्रणालीमा चल्न पाउने भएको छ भने सार्वजनिक सवारी साधन अझै बन्द रहने भएको छ ।

उपत्यका प्रशासनले कोभिड–१९ भाइरसको ‘चेन ब्रेक’ गर्ने भन्दै १६ वैशाखदेखि निषेधाज्ञाको आदेश जारी गरेको थियो । त्यसयता डेढ महीनासम्म क्रमशः निषेधाज्ञा थपिँदै आएको थियो ।

उनका अनुसार आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय,  घरायसी सामान बिक्री गर्ने पसल सञ्चालन हुनेछन् । त्यस्तै, अटोमोबाइल र त्यसका पार्टपूर्जा पाइने पसल पनि खुल्नेछ ।

सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल खोल्न दिने निर्णय भएको छ । यस्तै फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङ खुल्नेछन् ।

बारका आधारमा खुल्ने पसल बिहान ११ देखि ४ बजेसम्म खोल्न दिने निर्णय भएको प्रजिअ पराजुलीले बताए । खाद्यान्न, फलफूल र तरकारी पसल चाहिं हरेक दिन ११ बजेसम्म खुल्नेछ ।

Last modified on 2021-06-21 07:35:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts