जिल्ला अस्पताल ओखलढुङ्गामा भेन्टिलेटर र आईसीयू बेड खरिदमा ढिलाई



Download our app to get more features

ओखलढुङ्गा, ११ साउन । ओखलढुङ्गाको  जिल्ला अस्पताल रुम्जाटारमा अत्यावश्यक भेन्टिलेटर र आईसीयू बेड खरिदमा ढिलाइ भइरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले द्रुत प्रक्रियाबाट खरिद गर्न निर्देशन दिएको एक महिना बितिसक्दा पनि भेन्टिलेटर र आईसीयू बेड जडान हुन सकेको छैन । 

स्वास्थ्य मन्त्रालयले दुईवटा भेन्टिलेटरसहित पाँचवटा आईसीयू बेड जडान गर्न एक महिनाअघि नै प्रदेश १ को सामाजिक विकास मन्त्रालयमार्फत जिल्ला अस्पताललाई निर्देशन दिएको थियो । तर, भेन्टिलेटर र आईसीयू बेड जडान जडानका लागि हालसम्म ठेक्का प्रक्रिया समेत अघि बढाइएको छैन ।

मन्त्रालयले भेन्टिलेटर र आईसीयू बेड जडानका लागि ओखलढुङ्गा सामुदायिक अस्पताललाई प्रकृया थाल्न भनेपनि राजनैतिक स्वार्थमा जोडिएर जिल्लाका नेताहरूले तँछाडमछाड गर्दै मन्त्रालयको निर्णय बदर हुनु र भेन्टिलेटर र आईसीयू बेड जडानमा ढिलाई हुन रहस्यमय रहेको सरोकारवालाहरु बताउँछन् । 

कोरोना महामारीलाई लक्षित गरेर भेन्टिलेटर र आईसीयू बेड तत्काल खरिद गर्नुपर्ने भए पनि अन्योलका कारण ढिलाई भएको जिल्ला अस्पताल रुम्जाटारका सूचना अधिकारी उमा गुरुङले बताइन् । मन्त्रालयले अस्पताललाई बजेट नपठाएका कारण खरिद प्रक्रिया अगाडि नबढेको गुरुङको भनाइ छ ।

बजेट अन्योलका कारण हालसम्म खरिद प्रक्रिया अगाडि नबढेको भएपनि आजभोलि नै त्यसको निकास निस्कने सूचना अधिकारी गुरुङको दाबी छ । भेन्टिलेटर र आईसीयू कोरोनालाई मात्रै नभएर अन्य विरामीलाई समेत प्रयोग गर्न सकिने उनले बताइन् ।

अस्पतालले भेन्टिलेटर र आईसीयू बेड खरिदको काम भदौसम्ममा गर्नका लागि मन्त्रालयबाट आदेश आएको जनाएको छ । 

मन्त्रालयले तत्काल भेन्टिलेटर जडान गर्न दिएको निर्देशनपछि ओखलढुङ्गामा कोरोनाबाट १० जनाको मृत्यु भइसकेको छ । 

भेन्टिलेटर नहुँदा पीडितहरू महँगो शुल्कमा हेलिकोप्टर चार्टर गरेर राजधानी लगायतका ठाउँमा उपचारका लागि जान बाध्य छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts