कुशे औंसी

आज बुबाको मुख हेर्ने दिन, उपहारको सट्टा माया दिएर मनाउनुस्



Download our app to get more features

आज कुशे  औंसी अर्थात् बुबाको मुख हेर्ने दिन । आज सबैजनाले बुबाको दीर्घजीवनको कामना गर्दै बुवाप्रति थप आदरभाव प्रकट गर्दै मनाइरहेका छन् ।

बुबासँगै हुनेले मिठा मिठा परिकार वा बुबालाई मनपर्ने वस्तुहरु उपहारहरु दिने गर्छन् भने आफ्नो बुबासँग टाढा रहेकाहरुले फोनमार्फत  सम्झिने र आशीर्वाद लिने गर्छन । बुबासँग टढा भएकाहरुले पनि आजका दिन बुबालाई मनपर्ने वस्तु उपहार किनिदिएर राख्ने र घरफर्किदा दिने गरेका प्रचलनहरु पनि छन् । 

बुबा नहुनेहरुले पनि विभिन्न तीर्थस्थलमा गएर बुवालाई सम्झिने, तस्वीरमा पूजा गरेर बुबासँग आशीर्वाद लिने गर्छन ।

यदि आज तपाईं बुबासँगै हुनहुन्छ र परिकारहरु दिएर बुबालाई खुशीपार्ने सोचमा हुनुहुन्छ भने यी चिजहरु बुबालाई नदिनुहोस् । जसले गर्दा स्वास्थ्यमा असरपनि पुर्याउन सक्छ । बुबालाई खुशी बनाउने नाममा जथाभावी चिजहरु खुवाउँदा झन् उल्टो असर पनि देखिन सक्छ । त्यसमापनि अहिलेको समय कोरोनाका कारण थप जोखिमपूर्ण हुन सक्छ बुबाका लागि । किनकी बुबाको शारीरिक अवस्थालाई ध्यानमा राखेर यदि उहाँलाई खानपान गराइएन भने उहाँको स्वास्थ्यमा असर पर्न सक्छ ।

अर्को भनेको कोरोना महामारीका कारण बुबासँगै समय बिताउने अवसर रहेको हुँदा  वा बुबाभन्दा टाढा रहेरपनि बुबाको मुख हेर्नेदिन मनाउन सकिन्छ । कोरोना संक्रमणको जोखिम हुन सक्ने भएकाल सकेसम्म उहाँहरुको स्वास्थ्यलाई ध्यानमा राखेर नै आजको दिन मनाउँदा उचित हुन्छ । यदि आजको दिन बुबालाई खुशी राख्न र बुबाको मुख हेर्ने दिन मनाउन चाहनुहुन्छ भने यी कुरामा ध्यान दिनु आवश्यक छ :

मिठाइका परिकारहरु ः
मिठाइ खुवाउनै नहुने भन्ने होइन । सफा र स्वस्थ ठाउँमा बनेका मिठाइका परिकारमात्र बुवालाई दिनुहास् । नभए घरमै पनि बनाएर दिन सकिने हुँदा घरकै परिकारहरु दिँदा पनि राम्रो हुन्छ । बुबाको लागि मिठाइ किन्दै हुनुहुन्छ भने मिठाइको उत्पादन मिति र उपभोग्य मितिलाइ पनि ख्याल गर्नुहोस् । 

बुबाको स्वास्थ्यको ख्याल गर्नुहोस् :
बुबा भन्ने वित्तिकै तपाई हामीभन्दा पाको उमेरको नै हुनुहुन्छ । जसकारण पनि आफ्नो स्वास्थ्यसँग बुवाको स्वास्थ्य तुलना गर्न उमेरले पनि दिँदैन । तसर्थ बुबालाई सुगर छ, पाचन पक्रियामा गडबढी भइरहेको छ वा अन्य कुनैपनि हिसाबले बिरामी हुनुहुन्छ भने खानेकुरा दिँदा विचार गर्नुहोला । आफ्ना सन्ताले लगेको कुरा खादिन भन्न अप्ठेरो लागेर खाइदिनुभयो भने स्वास्थ्यमा असर पुर्याउन सक्छ । 

चिल्लो भएका चिजहरु दिँदा ध्यान पुर्याउनुहोस :
आजको दिन बुबालाई मिठो कुरा दिने भन्दै चिल्लोयुक्त चिजहरु बनाउने र दिने नगर्नुहोला । बुबाको स्वास्थ्य कस्तो छ स्वास्थ्यमा विचार गरेरमात्र दिनुहोला ।

मासुको सट्टा फलफूल :
आज औंसीपनि भएकाले धेरै मानिसहरु मासुको सेवन गर्दैनन् । तर सहरतिर खासै वास्ता नहुने भएकाले मासु र मासुका परिकारहरुले बुबालाइ सत्कार गर्ने प्रचलन पनि छ । अक्सर मासुलाई चिकित्कसहरुले पनि कम खान  सल्लाह दिइरहेका छन् । तसर्थ मासु भन्दा पनि फलफूल र फलफूलका जुसहरु दिदाँ राम्रो हुन्छ । 

परिकार घरमै बनाउनुहोस् :
बजारका खानेकुरा स्वास्थकर हुँदैनन् । परिकारहरु घरमै बनाएर दिँदा उत्तम हुन्छ । जे बनाउनु छ, जे खुवाउनु छ, त्यो घरमै पनि तयार गर्न सकिने हुँदा बजारका कुरालाई भन्दा आफ्नै हातले बनाएका परिकार खुवाउन जोड दिनुहोस् ।  

मद्यपान गर्न नदिनुहोस् :
कसैको घरमा परिवारसँगै बसेर मद्यपान गर्ने प्रचलन पनि हुन्छ । मद्यपान आफैमा हानिकारक छ । त्यसमाथि मद्यपान गर्ने भइसकेपछि सितनका रुपमा मासु लगायत अन्य परिकारहरु पनि रहने नै भए । सकभर यस्ता चिजहरुलाई कम गर्दै जाँदा राम्रो हुन्छ । सकिन्छ भने बुवामा धुम्रपान वा मद्यपानको लत छ भने आजैका दिनबाट हटाइदिनका लागि पनि प्रयास गर्न सकिन्छ । 

परिकारको सट्टा उपहार :
आजको दिन कसैको बुबा बिरामी हुनुहुन्छ वा अस्पतामा हुनुहुन्छ भने चिकित्सकको सल्लाह अनुसारमात्र परिकार दिनुहोला । बुबालाई परिकार खुवाउन पाइन भनेर चिन्ता लिनुपनि पर्दैन वुवाको लागि उहाँलाइ मन पर्ने पोशाक वा अन्य कुनै उपहारहरु दिएर पनि बुबाप्रति सद्भाव प्रकट गर्न सकिन्छ । 

उपहारको सट्टा माया :
माया आफैमा सबैभन्दा ठूलो वस्तु हो । जसको तुलना कुनै परिकार वा जिन्सी उपहारसँग गर्न सकिँदैन । सन्तानले आफ्ना आमा बुबालाई माया गरे पनि नगरेपछि आमाबावुले भने आफ्ना सन्तानलाई सधै माया गरिरहेका हुन्छन् ।

एकदिन औपचारिकता पूरा गर्ने नाउँमा उपहार वा परिकारको नाउँमा खर्च गर्ने तर अरुदिन ख्याल नगर्ने प्रवृत्तिपनि नेपालीहरुमा नभएको होइन । तसर्थ आमाबुबाका लागि सबैभन्दा ठूलो वस्तु भनेकै आफ्ना सन्तान हुन् । सन्तानले पनि आमाबावुलाई सधैभरी त्यसरी माया गर्ने परम्परालाइ निरन्तरता दिऔं । 

Last modified on 2021-09-07 12:15:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts