अन्जनाको अनुभवः कोरोना वार्डमा काम नगर्दा पनि सङ्क्रमित भएँ, दोस्रो लहरले खिन्न बनायो



Download our app to get more features

कोरोना महामारीको क्रममा विशेषगरी सङ्क्रमित हुनेमा नागरिक त थिए नै, उनीहरुसँगै अर्को सबैभन्दा ठूलो जोखिमको समूह भनेको कोरोना सङ्क्रमित बिरामीको उपचारमा खटिएका नर्स, डाक्टर र अन्य स्वास्थ्यकर्मी थिए र हुन् पनि। झन्डै डेढ वर्षअघि कोरोना महामारी सुरु हुँदा म कोरोना सङ्क्रमितको उपचारमा खटिएको थिइन। पछि मात्रै म कोभिड वार्डमा काम गर्न थाले। कोरोना सङ्क्रमितहरूको सेवामा खट्ने मौका पाउँदाको अनुभव पनि बटुल्न पाउँदा राम्रै लागेको छ।

आजभन्दा १६ वर्ष अघि मैले नर्सिङ पेशा रोजे। २०६२ सालमा शहिद गंगालाल हृदयरोग केन्द्रबाट मैले मेरो काम सुरु गरे र बीचको २ वर्ष नर्सिङमै ब्याचलर गर्नका लागि मैले काम छाडे। 

नर्सिङमा ब्याचलर सकेपछि मैले केही समय नर्सिङका विद्यार्थीहरूलाई पढाउने मौका पनि पाए। त्यसपछि लोकसेवाको परीक्षा दिएर नर्सिङ अफिसरको रुपमा नाम निकाले। अफिसरमा नाम निस्केपछि देशकै सबैभन्दा पुरानो वीर अस्पतालमा २०७१ सालमा नर्सिङ इन्चार्ज भएर काम सुरु गरे। 

म बाल्यअवस्थामा हुँदै नर्स बन्छु भनेर भन्ने गरेको मेरो परिवारका सदस्यहरू सुनाउनुहुन्छ। बाल्यअवस्थामा नै आफू नर्स बन्छु भनेर सोचेको कारणले नै होला घर परिवारले पनि सपोर्ट गर्नुभयो र नर्सिङ पढ्ने मौका पाए । अहिले आफूले रोजेको पेशा अपनाउन पाएकोमा म निकै खुशी र सन्तुष्ट छु। 

यो पेशामा लागिरहँदा यस्तो महामारी पनि आउला भनेर कहिले सोचेको नै थिइन। तर, जब चीनमा कोरोना महामारी देखियो अनि अरु देशहरुमा पनि फैलन थाल्यो त्यसपछि अब नेपालमा पनि आउँछ भनेर लागि नै रहेको थियो । नभन्दै नेपालमा पनि एकपछि अर्को गर्दै कोरोनाका केसहरू फेला पर्न थाल्यो । त्यो बेलासम्म यो महामारीसँग लड्नुपर्छ भन्ने कुरामा म मानसिक रुपमा तयार भइसकेको थिए। 

चीनमा कोरोना सङ्क्रमण सुरु हुँदा मेरो ६ महिनाको बच्चा थियो र अस्पतालले दिएको बिदा पनि सकिएको थियो। सो अवस्थामा पुनः अस्पतालको काममा फर्किन निकै डर लाग्दो अवस्था थियो। 

सानो बच्चाका भएको कारण कोरोनाको पहिलो लहरमा कोभिड वार्डमा मैले काम गर्नु परेन तर पनि कोरोनाबाट जोगिन अपनाउनुपर्ने सबै उपाय अपनाउँदै आएको थिए। सावधानी अपनाउदा पनि पहिलो लहर सकिनै लाग्दा म कोरोना सङ्क्रमित भए। त्यसपछि जहाँ काम गरेपनि सङ्क्रमित हुन सकिने रहेछ भन्ने लाग्यो र मैले दोस्रो लहर सुरु हुने बेला कोभिड युनिफाइड अस्पतालको कोभिड  आईसियु वार्डमा काम गर्ने निर्णय गरे । 

तपाईं हामी सबैलाई थाहा छ कोरोनाको सुरुवाती क्रममा स्वास्थ्यकर्मी, नर्स र चिकित्सकहरूमाथि कति नराम्रो व्यवहार भएको थियो । आफूसँगै काम गर्ने साथीहरूले भोग्नुपरेको नराम्रो व्यवहार सम्झेरै मन खिन्न हुन्छ । मानिसहरू कतिसम्मका निर्दयी हुन्छन् भनेर।

स्वास्थ्यकर्मी नै भएनौं भने बिरामीको उपचार कसले गर्छ भन्नेपनि नसोचेर उल्टै गालीगलौज गर्ने र घरबाट निकाल्ने, टोलमा प्रवेश नै गर्न नदिने जस्ता व्यवहार गरेर समाजले  गरेको त्यो व्यवहार पत्रिकामा पढेको, टि.भि. मा हेरेको र सहकर्मीको मुख बाट सुनेको अझैपनि सम्झन्छु। त्यो बेला अस्पतालले पनि हाम्रा साथीहरूलाई होटल क्वारेन्टाइनमा राखेको थियो। तर, अहिले हाम्रो समाजमा घरमा एउटा नर्स हुनुपर्ने रहेछ है भन्ने आभाष भएको छ कि जस्तो लाग्छ। 

कोरोनाको दोस्रो लहर सुरु हुन लाग्दा कोभिड युनिफाइड अस्पतालको व्यवस्थापन हुँदै थियो। हामीले शून्यबाट काम सुरु गर्दा निकै गाह्रो पनि भएको थियो। अस्पतालको व्यवस्थापन र कोरोना सङ्क्रमित बिरामीहरू हेर्दा ड्यूटी समय भन्ने नै भएन। कतिदिन त दिनरात नभनि काम गरियो । घरमा सानो छोरी छ भन्ने याद आउँदा आँखा त रसाउथ्यो तर, बिरामीको सेवा र ज्यान जोगाउने दायित्व हाम्रो काँधमा थियो । दिनरात बिरामीको सेवा गरेर कति जनाको ज्यान जोगाउन पनि सफल भयौं भने कतिले मृत्युवरण गरेको पनि देख्नुपर्यो। धन्न अहिले अवस्था केहि सामान्य बन्दै गएको छ र अस्पतालमा पनि चाप कम भएको छ। 

कोरोनाको दोस्रो लहरको भयावह अवस्थामा अक्सिजनको अभाव, बिरामी राख्ने बेड नपाउने, आईसीयू बेड चाहिने बिरामीलाई जनरलमा राख्नुपर्ने अवस्थाले गर्दा स्वास्थ्य सेवा डामाडोल हुने पो होकी जस्तो लाग्थ्यो। यस्तो पनि रोग हुँदो रहेछ जहाँ बिरामीलाई आफन्तले भेट्न नपाउने र मृत्यु हुँदा उनको अन्तिम दर्शनपनि गर्न नपाउने । 

पछिल्लो समय कोरोना सङ्क्रमितहरूलाई आईसीयूमा राख्नुपर्ने अवस्था धेरै आएको छैन । विस्तारै गम्भीर बिरामीहरू घट्दै गएका छन् । सङ्क्रमण भएपनि घरमै बसेर निको हुने क्रम पनि छ । त्यसकारण पनि होला अहिले अस्पतालको वातावरण थप सहज बनेको छ।

कोरोना महामारी अनि सानो बच्चा हुँदा कहिलेकाहि जागिर नै छोडौ छोडौं लाग्ने। कतिपटक त सोचे पनि कि राजीनामा दिएर बसौं । तर, पछि स्वास्थ्यकर्मीहरू आफ्ना घरका सदस्यबाट नै कोरोना सङ्क्रमित हुन थालेको पनि देखियो। जसका कारण कोरोना जहाँबाट पनि जसरी पनि जसलाई पनि सर्न सक्छ भन्ने लाग्यो। हुन त सुरुदेखि नै पनि सुनेको तर, आफूले नभोगेसम्म त्यो पत्यार नलाग्ने रहेछ।

अहिले पनि म घर बस्दा मास्क लगाएरै बस्छु। मबाट अरूलाई कोरोना नसरोस भन्ने लाग्छ। अनि घरमा सानो बच्चा भएका कारण पनि म सर्तक रहन्छु। मेरो परिवार शिक्षित हुनुहुन्छ त्यसैले मेरो काममा त्यस्तो समस्या भने आएन। मेरो कामलाई सम्मान गर्नुहुन्छ त्यसैले काम गर्न पनि सहज छ । 

हामी स्वास्थ्यकर्मीहरु कोरोना सङ्क्रमित बिरामीको उपचारमा दिनरात नभनी खटिरहेका छौ। तर, बाहिर भने सभा सम्मेलनहरु भइरहँदा अनि मान्छेहरूले न्यूनतम स्वास्थ्यका मापदण्ड पनि पालना नगर्दा जोखिम फेरी बढ्ने हो की भन्ने चिन्ता पनि लागिरहन्छ। 

अहिले सरकारले दिनदिनै कोरोना सङ्क्रमण कम हुदै गरेको तथ्याङ्क सार्वजनिक गरिरहेको छ। तर, कोरोनाको जोखिम अझै कायमै छ। यो कुरालाई जबसम्म बुझ्न सकिँदैन तबसम्म गाह्रो छ। किनकी कोरोना विरुद्धको खोप सेवा उपलब्ध भएपनि सबैले खोप लगाउन पाएका छैनन्। अर्को भनेको खोप लगाएर कोरोना सङ्क्रमण हुँदै हुँदैन भन्ने पनि होइन। यसले कोरोनाबाट हुने जोखिमलाई कम गर्छ। त्यसकारण, कोरोनालाई हेलचक्राइँ नगरौ भन्न चाहन्छु। स्वास्थ्य मापदण्डलाई गम्भीरतका साथ पालना गरौं। आफू र आफ्नो परिवार र समाजलाई सुरक्षित राखौं। सरकारले खोप अभियान चलाइरहेकाले पालो अनुसार नबिर्सिकन खोप पनि लगाउन आग्रह गर्न चाहन्छु।

 

(ज्ञवाली केन्द्रीय कोभिड युनिफाईड अस्पतालकी नर्सिङ्ग इन्चार्ज हुन्।)

Last modified on 2021-09-29 13:58:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts