महामारीमा चाडपर्व मनाउन घर जाँदा आफैँलाई नै डर हुन्छ,तैपनि दसैँ मनाउन जाँदैछु 



Download our app to get more features

काठमाडौं । कोरोना महामारीका कारण चाडपर्व पहिलेको जस्तो रमाइलो हुन छोडेको छ । दुई वर्ष भयो कोरोना महामारीका कारण दसैँमा खासै रमाइलो गर्न पाइएको छैन । जसकारण, घरपरिवारसँग भेटघाट बन्द भयो । तर, यो वर्ष भने केही सहज होलाकी जस्तो छ ।

गतवर्षको दसैँमा बिदा थिएन । अस्पतालमा नै दसैँ मनाइयो । यो वर्षको दसैँमा भने घर जादैछु । एक हप्ताको बिदा छ परिवारहरूसँग बसेर मनाउने योजनामा छु । 

गतवर्षको दसैँंमा क्वारेन्टाइन बसेर अस्पतालमा काम गरेका थियौं । क्वारेन्टाइनमा रहँदा पनि साथीभाईसँग त्यस्तो रमाइलो गर्न पाएका थिएनौं । कोरोना महामारीको त्रास थियो । क्वारेन्टाइनभित्र नै एक अर्कामा कोरोना सर्छ कि भन्ने डर पनि थयो । त्यसैले एक्लै बसेर दसैँं बिताएका थियौं । 

अन्य समयमा एक्लै बस्दा त एक्लोपनको महसुस हुन्छ । झन दसैँको बेलामा एक्लै बस्दा नरमाइलो लाग्थ्यो । क्वारेन्टाइनमा बस्दा अस्पतालको साधा खाना,एक्लै कोठामा बस्नुपर्दा,अनि परिवारबाट टाढा हुँदा एक्लोपनको महसुस हुन्थ्यो । 

कोरोना महामारीको समयमा परिवारका सदस्य पनि डराएका थिए । कतिले काम नगर,छोड भन्ने खालको सल्लाह पनि दिएका थिए । तर,अब त्यस्तो महामारीको समयमा कसरी काम छोड्ने । त्यसैले निरन्तर काम नै गरे मैले । 

कोरोनाको समयमा मात्र होइन अन्य समयमा पनि पालोपालो गरेर हामी दसैँतिहार मनाउन जाने गर्दथ्यौं । तर कोरोना महामारीमा आफैलाई पनि घर जाँदा डर हुने,परिवारका अन्य सदस्यलाई कोरोना सर्छ कि जस्तो लाग्ने भएर पनि गएनौं । 

चाडपर्वमा घर नजाँदा नमज्जा लाग्ने गर्दछ । तर,आफ्नो पेशा नै यस्तो छ । अहिले कोरोनाको जोखिम पनि धेरै छ । आफ्नो आमाबुबाले त आइज भन्नु हुन्छ तर आफन्तहरुले हामिलाई देख्दा कोरोनामा काम गर्ने कतै हामिलाई सर्ने त होइन भन्ने खालको भाव झल्काउनु हुन्छ । त्यसैले गइहाल्न पनि मन लाग्दैन । 

दसैँंको बेलामा अस्पतामा कति बिरामीहरूको कुरुवा हुँदैनन्,बसेका कुरुवाहरूको पनि मुहार न्याउरो हुन्छ । त्यस्तो बेलामा बिरामीको सेवागर्दा तपाईहरुले यस्तो बेलामा पनि हाम्रो सेवा गर्नु भएको छ भन्छन् । प्राय बिरामीहरू सकारात्मक नै हुन्छन् । चाडपर्वहरूमा हामी अस्पतालमा हुँदा बिरामीहरूसँग नै मनाउने गर्दछौ । 

परिवारसँग चाडपर्व मनाउन नपाउदा कहिलेकाहीँ नराम्रो लाग्छ । तर चाडपर्व मनाउन नपाएनि मैले बिरामीहरूको सेवा गरिरहेको छु भन्ने लाग्छ । तर कहिलेकाहि अरुले चाडपर्वहरु मनाइरहँदा र आफुले मनाउन नपाउदा चै मैले परिवारलाई समय नै दिन सकिन कि भन्ने लाग्छ । 

अस्पतालका बिरामीहरु राम्रो भएर घर फर्केको देख्दाहामिले गर्दा यतिको सहयोग भाको छ,उहाँ बाच्नु भएको छ भनेर खुशी लाग्छ । अन्य समयमा राम्रो काम गरेको छु भन्ने लाग्छ । चाडपर्वमा जाननपाउदा कहिलेकाहि नरमाइलो लाग्छ । 

गतवर्ष देशैभरी दसैँं तिहारमा त्यस्तो रमाइलो गरेर मनाउन सकेनौ । यो वर्ष कतिले कोरोनाविरुद्धको खोप लगाएका छौ । तर पनि कतिखेर कोरोना लाग्छ भन्ने थाहाँ हुदैन त्यसैले स्वास्थ्य मापदण्ड पुरा गरेर मनाउनुहोला ।

(श्रेष्ठ केन्द्रिय कोभिड युनिफाइड अस्पतालको नर्स हुन) 
 

Last modified on 2021-10-13 16:52:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts