सुँगुरको मासु खाँदा पाँचथरमा दुईको मृत्यु, दुई सिकिस्त बिरामी



Download our app to get more features

पाँचथर, २१ असोज । पाँचथरमा सुँगुरको मासु खाँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना सिकिस्त बिरामी परेका छन् ।

आइतबार राति सुँगुरको मासु खाएर बिरामी परेर सोमबार बिहान जिल्ला अस्पताल पाँचथरमा भर्ना गरिएको दुवै जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा कारागार जीवन बिताई रहेका कैदीहरु पाँचथरको फालेलुङ गाउँपालिका–८, याङनामका २५ वर्षका वुद्धि केरुङ र फिदिम नगरपालिका–१०, याङनामका अन्दाजी ३४ वर्षका जयप्रकाश जवेगु रहेको प्रहरीले जनाएको छ । 

केरुङको सोमबार उपचारको क्रममा मृत्यु भएको र जवेगुको पाँचथर अस्पतालमा उपचार हुन नसकेपछि झापातर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको पाँचथरका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले बताए ।

यस्तै मासु खाएर कुम्मायक गाउँपालिकाका अन्दाजी ३० वर्षका दिनेश खजुम र जिल्लाको साविक सिदिन गाविसका सुन्दर राई पनि बिरामी परेका छन् । उनीहरुको अवस्था पनि गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ ।

उनीहरुको बिएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दशैँको अवसरमा उनीहरुले आइतबार कारागारभित्रै सुँगुर ल्याएर काटेको र मासु खाएको प्रहरीको भनाइ छ ।

शुरुमा झाडापखाला लागेपछि जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । घटनाको बारेमा अनुसन्धान भइरहेको छ ।
 

Last modified on 2019-10-08 16:57:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts