प्रधानमन्त्रीको मिर्गौला पुनः प्रत्यारोपणको तयारी, अमेरिका जाने सम्भावना बलियो 



Download our app to get more features

काठमाडौं, १७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीलाई थप उपचारका लागि विदेश लैजाने विषयमा छलफल सुरु भएको छ । 

एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आउन थालेपछि उनलाई बाहिर लैजाने विषयमा डाक्टर र नेकपाबीच छलफल भएको हो । 

अस्पतालबाट डिस्चार्ज गरेपछि मिर्गौला प्रत्यारोपणका लागि उनलाई अमेरिका लैजाने विषयमा छलफल भएको प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सक डा.अरुण शायमीले बताए ।

मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्रीको हप्तामा दुई पटक नियमित डायलासिस गर्नु परिरहेको र अब उनी स्वस्थ हुँदै गएकाले बिना कुनै जोखिम उनलाई विदेश लाने तयारी भएको डा.शायमीले बताए । 

अमेरिका नै लैजाने कि अमेरिकी चिकित्सकलाई नेपालमै झिकाएर उपचार गराउने भन्नेमा छलफल भइरहेको छ ।

केही साताअघि प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्यासिंह शाह अमेरिकाबाट फर्केकी थिइन् । वरिष्ठ मिर्गौला रोग विशेषज्ञसमेत रहेकी डा.शाहले निजी कार्यक्रमका लागि अमेरिका गएको बताए पनि उनले त्यहाँ प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे विज्ञ चिकित्सकसँग छलफल गरेको बुझिएकोे छ ।

प्रधानमन्त्री ओलीलाई मिर्गौला दिन तयार पारिएका नातेदार हाल अमेरिकामै छन् । नातामा भान्जा पर्ने व्यक्ति प्रधानमन्त्री ओलीलाई मिर्गौला दिन तयार रहेको बताइएको छ ।

प्रधानमन्त्री ओलीको एक महिना अवधिमा सातपटक डायलासिस गरिसकिएको छ । २०६४ सालमा प्रधानमन्त्री ओलीले भारतमा मिर्गौला प्रत्यारोपण गराएका थिए ।

ओलीले पुनः प्रत्यारोपण अमेरिका मै गर्न चाहेको पारिवारिक स्रोतबाट बुझिएको छ । 

प्रधानमन्त्री ओलीको उपचारको व्यवस्थापनकै लागि अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्की पनि काठमाडौंमै छन् । प्रधानमन्त्री ओलीको शुक्रबार गरिने स्वास्थ्य परिक्षणको विवरण हेरेपछि यस सम्बन्धी निर्णय गरिने अस्पताल स्रोतले जनाएको छ ।

अन्य विशेषज्ञ डाक्टहरुले पनि प्रधानमन्त्रीको मिर्गौला पुनः प्रत्यारोपणका लागि यसअघि नै सुझाव दिइसकेका छन् । डा.ऋषि कुमार काफ्लेले नेपालमा मिर्गौला  पुनः प्रत्यारोपण नगरिएकोले प्रधानमन्त्रीलाई विदेश त्यसमा पनि अमेरिका नै जानु पर्ने बताएका थिए । 

Last modified on 2019-12-05 07:44:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts