मोबाइलको चक्रव्यूहमा किशोरीहरू 



Download our app to get more features
Spark_health_home Mountain Heart Nepal

हाम्रो समाजमा हुर्किरहेका किशोरीहरूमा मोबाइलको दुरुपयोगले निम्त्याएका केहि निर्दिष्ट मनोसामाजिक समस्याहरूको घटनाप्रसङ्ग यहाँ उल्लेख गरिएको छ ।

सविना (नामहरु परिवर्तन) त्यो बेला ८–९ क्लासमा पढ्थिन सायद । बोर्डिङमा पढ्ने उसका अधिकांश साथी नवधनाढ्य र लाउरेका सन्तान थिए । आफ्ना सन्तानलाई हेरदेख गर्न नभ्याउने भिआईपिका सन्तान । सबैजसो ती किशोरकिशोरी महंगा महंगा मोबाइल बोक्ने, स्कुल पनि बाइक र स्कुटीमा आउने । मोबाइलबाटै होमवर्क, पाठ्यसामग्री लगायत सेडियुल आदानप्रदान हुने रे । प्रोजेक्ट वर्क र नोटिसका लागि ममिड्याडीको मोबाइलले नपुग्ने, नमिल्ने भनेर दशैंमा कुरा उठेपछि केहि कुराको डिमान्ड नगर्ने सोझी नानुले भनेको भनेर ठिकै रकमको मोबाइल सविनाको हातमा परिवारले राखिदिए । यस कुरामा बाबुको सहमति भने थिएन, खाली परिवारका अरु एकमत भएकोले चुप लागेका थिए । बेलाबेलाको निगरानीका बाबजुद कुसंगत र कुनियतको चंगुलमा परिहालिन सोझी ठानिएकी सविना । 

vayoda

Hamro Doctor Apps2

पाठ्यसामग्री आदानप्रदानबाट शुरु भएको सम्पर्क, च्याट र कुराकानी शुरुमा अनुकुल र उपयुक्त हुँदै पछि भावनात्मक, अनि अनियन्त्रित र पछि उमेर, परिस्थिति र सामाजिक मर्यादा नाघ्ने कुराकानी र सामग्रीको साटासाटसम्म पुग्यो । कोठामा एक्लै पहिले अध्ययनमा समय बिताउने सोझी र कम बोल्ने सबिना अब मोबाइल भएपछि राति अबेरसम्म पनि लहस्याउने उक्साउने लम्फु र भिआईपि आमाबाबुले पुल्पुल्याएका स्मार्ट केटाहरूको कुरा, च्याट र कमेन्टमा भुल्न थाली । पहिलेपहिले सालिन र सादा रहने सविना अब मेकअप र खुल्दो पहिरनमा देखिन थाली । आमा चाहिमार्फत अभिभावकले उसका अरु साथीहरूलाई जस्तो खुल्ला रुपमा केहि गर्न नदिएको भनेजस्तो गुनासो पनि सुन्नमा आयो । झुठो बोल्न र मोबाइल अरुले हेर्ला की भनी बढी नै चनाखो रहन थाली ।

हुर्किरहेको मनमा अन्तरद्वन्द्व चल्दो हो, बेलाबेला ऊ आफैंमा हराएको जस्तो पनि देखिन थाली । कहिले टाउको दुख्ने, कहिले क्लासमै बेहोस हुने जस्ता घटना हुन थाले । यस्ता परिवर्तनलाई नियालीरहेका उसका बाबुले उसको मोबाइल हेर्दा सबै चाल पाए र जीवनमा कहिल्यै नभएको भुँइचालो गयो । सारा जीवन परिस्थिति बदलिएको जस्तो भयो । असहज र गाह्रो भए पनि उसका आमाबाबुले परिस्थिति सम्हाल्ने कोसिस गरिरहे । उसलाई कुसंगत, मोबाइल र यसको दुरुपयोगबाट टाढा राख्ने हर प्रयास रह्यो । सम्झाउन र निगरानी गर्न कुनै ठाउँ छाडेनन् । उसलाई मनपर्ने र सहज हुने त कुरै भएन, तै पनि शरीरमा पिप जम्दा चिरेर फाल्नै पर्ने भने जस्तंै उसको बानी, कुसंगत र त्यसको असर जसरी नि ननिकाली खैरियत थिएन । मनमा असिम माया भए पनि उसका बाबाआमा उसका सामु खरो उत्रिए । मेरा एक अन्तरङ्ग मित्रको बेदनाले म मनोचिकित्सक पनि लामो समयसम्म तरंगित रहें । लम्फु ती केटाहरु उसले फेरि मोबाइल चलाउली, फेसबुकमा आउली कि भनी ढुकेरै बसे झैं गर्छन् । 

आफ्ना दिदीबहिनी अरु केटाहरूका कारण विक्षिप्त र मानसिक रोगको शिकार हुँदा रुने केटाहरू अरु केटीबाट आफूले भने फाइदा लिन खोज्छन् आजकल यो समाजमा । केटाहरूलाई आफ्नो सौन्दर्य र मोहनीजालमा पारेर रमाउने केटीहरू पछि आफ्ना पतिले पहिलेको हर्कत थाहा पाउँदा र सन्तानमा त्यसको असर र त्यस्तै प्रकरणमा परेर घरपरिवारै बिग्रँदा रोएको धेरै देखेकोछु मैले । त्यसैले, उमेर र बैंसमा आँखा चिम्लेर जे पायो गर्दै, जोसँग जस्तो पायो सम्बन्ध बनाउँदै हिँड्ने कुरामा मोबाइल माध्यम नबनोस् भनी सजग रहौं है । 

मोबाइलले मनोविकृति
लक्ष्मीले काठमाडौंमा आफ्ना दाइसँग डेरामा बसी प्लस टुसम्म अध्ययन गरी । दाइको जागिर जिल्लातिरै भएपछि आफ्नै घर नभएपनि काठमाडौं भन्दा नजिक भएकोले केही समय पहिले जिल्लातिर गई । बिहान पढाइ, दिउँसो दाइ काम गर्ने इन्स्टिच्युट मै जागिर । तलब पनि राम्रै थियो । पहिलोपल्टमै महिनाको ३० हजार ! दशैं पनि नजिक आइरहेको, हातमा पनि जागिरको पहिलो तलब । आमाबा र घरका अरु परिवारजनका लागि केहि गिफ्ट, अनि बाँकीको आफ्नै लागि मोबाइल किनी । दशैंमा मोबाइल हातमा लिँदै १८ वर्ष टेकेकी लक्ष्मी गाउँमा साथीसंगीहरूसँग डुल्न निस्की । केटी साथीहरूसँग निस्केकी उसलाई गाउँलेहरूले केही छिनपछि केटाहरूसँग डुल्दै गरेको भेट्टाएछन् । उ राति पनि अबेर मात्र घर फर्की । घर आउँदा डिस्टर्ब जस्तैं देखिन्थि । उसको कोठामा राति पनि बत्ती बलेकै थियो, खस्र्याकखुस्रुक आवाज आएको थियो । राति ऊ सुतेकी थिएन । भोलि बिहान ऊ उफ्रीउफ्री कराइरहेकी थिई । छोरीचेली महिला पछि परे, अब आन्दोलन हुने, त्यसको नेतृत्व आफैले गर्ने, पुरुषले हत्याएका सबै अधिकार र सुख अब महिलाले पनि पाउनुपर्ने, के के हो के के .... उसलाई शान्त पार्न परिवारलाई हम्मे हम्मे पर्यो । अरुबेला त्यति नबोल्ने ऊ त्यसरी कुर्लनुले आमाबालाई मनमा चिसो पस्यो । 

धामीझाँक्री, जैसी...को केही सिप लागेन । ३–४ दिन बित्यो र पनि अवस्था झन् बिग्रँदै गएपछि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक सेवामा लान पर्यो । भर्ना गरेर वार्डमा उपचार चल्यो । केश हिस्ट्री लिने क्रममा कुरा खुल्दै गयो (मोबाइल किनेपछि रातोदिन त्यसमा के के हेर्ने, गर्ने गरेकी रहिछे । त्यसले उसको निद्रा बिथोलिएको रहेछ । फेसबुक र के के कुराले ज्यादा नै रोमाञ्चित भएकी रहिछे । त्यसमा आउने खबर र कुराहरुले संवेदनशील स्वभावकी उसलाई प्रभाव पार्दो रहेछ । नयाँनयाँ चलाउन थालेकोले मोबाइल र त्यससम्बन्धी एप्लिकेसन र थप जानकारीका लागि संगीहरूसँग बाहिर निस्केको उसको सम्पर्क गाउँका उरन्ठेउला र आवारा केटाहरूसँग भएको रहेछ । यसै क्रममा केटाहरूले उसलाई पोर्न सामग्रीहरू पनि देखाएका रहेछन् । यसरी एकपछि अर्को गर्दै उसको मन बिश्रृंखलित पार्ने कुराहरू भएपछि ऊ अनियन्त्रित भएर मानसिक रोगको शिकार भएको बुझियो । त्यसो त उसको परिवारमा पहिले अरुलाई पनि डिप्रेसन भनिने खालको मनोरोग भएको कुरा देखियो । जे भए पनि उसको सवालमा मोबाइल प्रकरणले रोग प्रकट हुनमा भुमिका खेलेकै देखियो । उपचारमा संलग्न चिकित्सकले ऊ अलि राम्रो भएपछि के के कुरामा सावधानी अपनाउनुपर्छ भनी सम्झाउने सुचीमा अब उपरान्त मोबाइलको दुरुपयोग र लतदेखि टाढा रहनुपर्ने सल्लाह दिए ।
 

Last modified on 2020-01-06 11:09:47

Kathmandu Cancer Center alka

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts