कोभिड उपचारका लागि देउराली जनताले सुरु गर्यो फ्याभिर-२०० एमजी ट्यावलेटको उत्पादन



Download our app to get more features

काठमडौं, ७ असोज । देउराली जनता फर्मास्यूटिकल्सले कोरोना संक्रमितको उपचारका लागि प्रयोग हुने फ्याभिर नामक औषधि उत्पादन सुरु गरेको छ । 

नेपालमै पहिलोपटक देउराली फर्मास्यूटिकल्सले कोरोना संक्रमितको उपचारमा उपयोगी मानिएको फ्याभिर-२०० एमजीको ट्याबलेट उत्पादन सुरु गरेको हो ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमण रोगको उपचारका लागि आवश्यक औषधिहरुमध्ये फ्याभिपिराभिर ओरल ट्याबलेटको प्रयोगबाट बिरामीलाई जोगाउनमा सहयोगी भएको भन्दै औषधि उत्पादन सुरु गरिएको फर्मास्यूटिकल्सका राष्ट्रिय बजार व्यवस्थापक गान्धी प्रसाद शर्माले हाम्रो डाक्टर न्यूजलाई जानकारी दिए । 

उनले यो औषधि एन्टीभाइरल औषधि रहेको र हाल जापान, चिन, रुस, अमेरिका, टर्कि, क्यानडा, भारत, बंगलादेश लगायतका विभिन्न मुलुकमा कोभिड-१९ संक्रमितको उपचारका लागी चिकित्सकको निगरानीमा प्रयोग गर्न अनुमति दिइएको र नेपालमा पनि उत्पादन सुरु भएको बताए ।

कोभिड-१९ बाट संक्रमित व्यक्तिलाई औषधि अभावको कारणले हतास हुन नपरोस भन्ने उद्देश्यका साथ नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, औषधि व्यवस्था विभागबाट उत्पादनका लागि मंगलावार मात्रै अनुमति लिएर नेपालमै पहिलोपटक यो औषधि उत्पादन सुरु गरिएको उनको भनाइ छ ।

औषधिको जेनेरिक नाम फ्याभिपिराभिर-२०० एमजी ट्याब रहेको र फर्मास्यूटिकल्सले फ्याभिर २०० ट्याबलेट नामबाट औषधि उत्पादन शुरु गरेको शर्माले बताए ।

शर्माले नेपाल स्वास्थ्य अनुसन्धान परिषदको तत्वावधानमा कोभिड–१९ संक्रमितको उपचारका लागि फ्याभिर २०० एमजी औषधिलाई आपतकालिन प्रयोगका गर्न अनुसन्धानका लागि क्लिनिकल अध्ययन गरी त्यसको प्रभावकारीताको समेत नेपालकै बिरामीमा अध्ययन गर्न सहकार्य गर्ने तैयारी भइरहेको पनि जानकारी गराए ।
 
उनले यो औषधि संवेदनशिल भएकाले स्वास्थय अनुसन्धान परिषदको मापदण्ड अनुसार मात्रै कोभिड–१९ संक्रमित बिरामिहरुको उपचार÷प्रयोगका लागि चिकित्सकको सिफारिस र निगरानिमा मात्र औषधि उपलब्ध हुनेगरि औषधि व्यवस्था विभागबाट स्विकृति प्राप्त भएको पनि प्रष्ट पारे ।

उनले भने, ‘फ्याभिर २०० एमजी औषधि हालै बजारमा सहज रुपमा उपलब्ध हुन समय लाग्ने छ । किनभने यो औषधि संवेदनशिल हुन्छ । त्यसकारण चिकित्सक र परिषदको मापदण्डमा यसको नतिजा अनुसार मात्रै अहिले प्रयोग हुन्छ । परिणाम राम्रो भयो भने सहज रुपमा बजारमा उपलब्ध हुनेछ ।’

Last modified on 2020-09-23 17:47:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts