अबको १ देखि २ हप्तामा स्वास्थ्य समूहको समायोजन टुङ्गीने स्वास्थ्य राज्यमन्त्री रावतको दावी



Download our app to get more features

काठमाडौं, २७ पुष । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अबको १ देखि २ हप्तामा स्वास्थ्य समूहको समायोजन टुङ्गीने जनाएको छ । 

कर्मचारी समायोजन भएको झन्डै एक वर्ष हुनै लाग्दा स्वास्थ्य समूहको कर्मचारी समायोजन अझै टुङ्गीन सकेको छैन । 

गत चैत १४ गते सकिएको कर्मचारी समायोजनमा प्राविधिक त्रुटिका कारण स्वास्थ्य समूहको समायोजनमा कर्मचारीको गुनासो बढेपछि समायोजन टुङ्गीन समय लागेको हो । 

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले हाम्रो डाक्टरसँग कुराकानी गर्दै गुनासो सम्बोधनका लागि सङ्गीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग मन्त्रीस्तरीय छलफल भइरहेको र अबको दुई तीन हप्तामा समायोजन टुङ्गीने जानकारी दिए । 

मन्त्री रावतले स्वास्थ्य समूह समायोजनका लागि आह्वान गरेदेखि नै विवादित बनेका कारण यो वर्ष लोकसेवा पनि ढिलो भएको पनि बताए ।

उनले भने, ‘हामीले मन्त्रालयको जिम्मेवारी पाएपछि थाहा पायौं की स्वास्थ्य मन्त्रालय र संघीय मन्त्रालयको बीच समायोजनको बेलामा कुनै समन्वय नै भएको थिएन । जसले गर्दा स्वास्थ्य समूहको समायोजनमा ढिलाई भएको हो ।’

अझै पनि स्वास्थ्य समूहका कर्मचारीहरु गुनासो लिएर मन्त्रालय धाउने क्रम जारी नै छ र त्यसलाई सम्बोधन गर्नका लागि मन्त्रालयले दुवै मन्त्रालयबीच मन्त्रीस्तरीय छलफल सुरु गरेको उनले जानकारी गराए ।

उनले थपे, ‘एउटै स्थानीय तहमा एक सय भन्दा बढी कर्मचारी पठाइएको छ । प्राविधिकको ठाउँमा अरु नै कर्मचारी पठाइएको कारणले पनि समस्या भएको हो । जसका लागि मन्त्रालयले तिव्र गतिमा काम गरिरहेको छ ।’

स्वास्थ्य राज्यमन्त्री रावतका अनुसार समायोजन टुङ्गीना साथ कुन तहमा कुन कर्मचारीको आवश्यकता छ त्यसको जानकारी प्राप्त हुन्छ र त्यहि अनुसार लोक सेवा आयोग पनि खुलाइने छ ।

समायोजनका लागि आएका गुनासो लगभग सकि सकेको जानकारी दिँदै मन्त्री रावतले बाँकी भएका गुनासो सम्बोधनको क्रममा रहेकाले अबको १÷२ हप्तामै समायोजन टुङ्गीने दावी गरेका छन् ।
 

Last modified on 2020-01-13 12:03:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts