प्रदेश २ मा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी भएन, दुई वर्षमा डेढ प्रतिशत नागरिक मात्रै बीमाको पहुँचमा



Download our app to get more features

जनकपुरधाम, ७ माघ । सरकारको महत्वकांक्षी योजनाको रुपमा हेरिएको स्वास्थ्य बीमा कार्यक्रम प्रदेश २ मा प्रभावकारी हुन सकेको छैन् । प्रदेश २ मा अहिलेसम्म १ दशमलव २३ प्रतिशत नागरिक मात्रै स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भएका छन् ।

प्रदेश २ को ५४ लाख जनसंख्यामध्ये पुष मसान्तसम्ममा ६६ हजार ५ सय ५८ जनाले मात्र अहिलेसम्म स्वास्थ्य बीमा गराएको स्वास्थ्य बीमा बोर्ड प्रदेश २ का प्रदेश संयोजक रमेन्द्र प्रसाद कुशवाहाले जानकारी दिएका छन् । 

 उनले भने,‘अस्पताल र स्वास्थ्य चौकीहरुले बद्मासी गरेपछि स्वास्थ्य बीमा गरेका बीमितहरु निःशुल्क औषधि पाउनबाट वञ्चित भएका छन् ।’ 

२०७४ साल माघ २५ गतेदेखि महोत्तरीबाट सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम अहिले प्रदेश २ का ५ वटा जिल्लामा विस्तार भइसकेको छ भने सप्तरीमा बीमा बोर्डको कार्यालय सञ्चालन गर्ने तयारी भई रहेको छ । त्यस्तै बारा र सर्लाहीमा चालु आर्थिक वर्षभित्र स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्ने संयोजक कुशवाहाले बताए । 

रौतहटमा २०७४ चैत २२ गते ,पर्सामा २०७५ जेठ ७ गते, धनुषामा २०७५ माघ २९ गते र सिरहामा २०७५ फाल्गुन २ गतेदेखि सञ्चालनमा ल्याईएको स्वास्थ्य बीमा कार्यक्रम अहिलेसम्म प्रभावकारी बन्न सकेको छैन् । 

प्रदेश २ का ४० वटा सरकारी तथा निजी स्वास्थ्य संस्थासंग सम्झौता गरेर सुचारु गरिएको स्वास्थ्य बीमा कार्यक्रम स्वास्थ्य संस्थाहरुको फार्मेसीमा औषधि अभावको समस्या हुनाले पनि प्रभावकारी बन्न नसकेको आँकलन गरिएको छ ।

प्रादेशिक अस्पताल जनकपुरधामको फार्मेसीमा पनि प्रर्याप्त औषधि नहुँदा अस्पतालमा सेवा लिन आउनेको संख्या गुणात्मक रुपमा न्युन रहेको बोर्डका संयोजक कुशवाहाले बताए । 

प्रादेशिक अस्पताल जनकपुरधामले पुष मसान्तसम्ममा २ हजार ८ सय ३८ जनालाई सेवा दिएको बोर्डको तथ्याङ्कमा उल्लेख छ । यो सङ्ख्या तुलनात्मक रुपमा कम रहेको कुशवाहाले स्विकारेका छन् । 

स्वास्थ्य संस्थातर्फ प्रदेश २ का आँखा अस्पतालहरुले राम्रो सेवा दिँदै आएको बताउँदै कुशवाहाले आरएन केडिया आँखा अस्पताल पर्सा, गौर आँखा अस्पताल रौतहट, किरण आँखा अस्पताल पर्सा, सगरमाथा चौधरी आँखा अस्पताल सिरहा, जानकी आँखा अस्पताल जनकपुरधाम लगायत निजी अस्पतालले बीमितहरुलाई भरपर्दो सेवा प्रदान गरेपनि शुभ स्वस्तिक अस्पताल महोत्तरी, नेशनल मेडिकल कलेज पर्सा, सप्तऋषी अस्पताल सिरहा लगायतका अस्पतालले सम्झौता गरेर पनि स्वास्थ्य बीमा कार्यक्रममा कुनै चासो नै नदेखाएको कुशवाहाको गुनासो छ । 

स्वास्थ्य बीमा कार्यक्रम अहिलेसम्म ४९ वटा जिल्लामा सुरु भइसकेको छ । तर बीमा कार्यक्रममा नागरिकको सहभागीता भने उत्साहजनक देखिएको छैन् । प्रदेशगत रुपमा प्रदेश नम्बर २ मा सबैभन्दा कम नागरिकले बीमा गराएका छन् ।

Last modified on 2020-01-23 13:04:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts