अपडेट

कोभिड–१९ महामारीका कारण विश्वभर ८ करोड नवजात शिशु खोपबाट बञ्चित हुने



Download our app to get more features

काठमाडौं, १० जेठ । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ महामारीका कारण झन्डै ८ करोड नवजात शिशु खोपबाट बञ्चित हुने बताएको छ । संगठनका अनुसार महामारीका कारण विश्वभरको स्वास्थ्य व्यवस्था जसरी प्रभावित बनेको छ त्यसबाट बच्चाहरुमा डिफ्थेरिया, मीजÞल्स र पोलियो जस्ता रोगको खोप उपलब्ध गराउन समस्या हुनेछ । विश्व स्वास्थ्य संगठन र सहयोगी संगठनद्वारा गरिएको अध्ययनमा एक वर्षदेखि कम उमेरका बच्चाहरुलाई नियमित रूपमा दिइने खोपको काम विश्वका ६८ देशमा प्रभावित बनेको छ । सन् १९६० देखि विश्वभरमा खोप कार्यक्रम सञ्चालन हुँदै आएको छ । तर, कोरोना महामारीका कारण पहिलोपटक खोप कार्यक्रम प्रभावित हुने दखिएको संगठनले जनाएको छ । 

वैज्ञानिकहरुले कोरोना भाइरस संक्रमित बिरामीलाई दिने गरिएको हाइड्रोक्सिक्लोरोक्विन औषधि खतरनाक भएको बताएका छन् ।

लेसेन्ट नामक पत्रिकामा प्रकाशन गरिएको अध्ययनमा मलेरियाका बिरामीलाई दिइने हाइड्रोक्सिक्लोरोक्विन औषधिले कोरोना संक्रमित बिरामीको ज्यान समेत जाने खतरा बढी रहेको उल्लेख गरिएको छ । 

केहिदिन अघि मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमणबाट जोगिन आफू मलेरियाको औषधि हाइड्रोक्सिक्लोरोक्विन सेवन गरिरहेको बताएपछि अमेरिकी वैज्ञानिकहरुले त्यस विषयमा गरेको अध्ययन सार्वजनिक गरेका हुन् । 

मलेरियाको लागि प्रयोग हुने यो औषधिबाट कोरोना भाइरस संक्रमित बिरामीलाई कुनै फाइदा नहुने र यसले ती बिरामीको ज्यान समेत जाने खतरा बढी हुने गरेको अध्ययनमा उल्लेख गरिएको छ । जबकि स्वास्थ्य विज्ञहरुले यो औषधिको सेवनले मुटुको समस्या बढ्न सक्ने चेतावनी दिएका छन् । तर, अमेरिकी राष्ट्रपति ट्रम्पले यो मेडिकल अध्ययनको उपेक्षा गर्दै औषधि प्रयोगका लागि प्रोत्साहन गरिरहेका छन् । 

हाइड्रोक्सिक्लोरोक्विन मलेरियाका बिरामीका लागि सुरक्षित र लुपस तथा अर्थराइसिटसका केही बिरामीका लागि फाइदाजनक हुने गरेको वैज्ञानिकहरुले बताएका छन् । तर, कोरोना संक्रमितलाई लिएर हालसम्म यसको कुनैपनि क्लिनिकल परीक्षण नभएकोले यो औषधि प्रयोगका लागि सिफारिस नगर्न पनि भनिएको छ । 

द लेसेन्टले गरेको अध्ययनमा कोरोना भाइरसका झन्डै ९६ हजार बिरामीलाई सहभागि गरिएको थियो । जसमा १५ हजार कोरोना संक्रमितलाई हाइड्रोक्सिक्लोरोक्विन औषधि दिइएको थियो वा योसँग मिल्दोजुल्दो औषधि क्लोरोक्विन दिइएको थियो भने कतिपयलाई   एन्टिबायोटिकसँग मिसाएर दिइएको थियो । क्लोरोक्विन सेवन नगर्ने बिरामीको तुलनामा  क्लोरोक्विन सेवन गर्ने बिरामीको मृत्यु बढी भएको र मुटुको समस्या पनि बढेको अध्ययनमा उल्लेख गरिएको छ । जसलाई हाइड्रोक्सिक्लोरोक्विन दिइयो उनीहरुमा मृत्युदर १८ प्रतिशत थियो, क्लोरोक्विन सेवन गर्नेको मृत्युदर १६ प्रतिशत थियो र जसलाई यो औषधि दिइएन उनीहरुमा मृत्युदर मात्रै ९ प्रतिशत थियो भने जसलाई हाइड्रोक्सिक्लोरोक्विन या क्लोरोक्विन एन्टिबायोटिकको साथ दिइएको थियो उनीहरुमा मृत्युदर झन् बढी थियो ।

दक्षिण सूडानका दस जना मन्त्रीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सूडानका सूचना प्रसारण मन्त्री माइकल माकुईले मन्त्रीपरिषदका १० जनामन्त्रीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएका छन् । ती सबै मन्त्रीहरु आ आफ्नो क्षेत्रमा कोरोना भाइरस संक्रमणको महामारीकाबीच निरन्तर काम गरिरहेका थिए र उनीहरु सबै सूडान सरकारले  कोरोना भाइरस महमारीविरुद्धको लागि बनाएको उच्चस्तरीय टास्क फोर्सका पनि सदस्य हुन् । दक्षिण सूडानमा हालसम्म ३ सय भन्दा बढी कोरोना संक्रमित फेला परेका छन् भने ६ जनाको मृत्यु भइसकेको छ ।

ब्राजिल विश्वकै दोस्रो कोरोना संक्रमित मुलुक बनेको छ । पछिल्लो समय ल्याटिन अमेरिकन मुलुक ब्राजिल कोरोना भाइरसको केन्द्रबिन्दु बन्दै गएको छ । तेस्रो स्थानमा रहेको ब्राजिलमा कोरोना भाइरस संक्रमितको संख्या ३ लाख ३० हजार नाघेसँगै रुसलाई पछि पारेको छ । ब्राजिल स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १ हजार १ जनाको मृत्यु भएसँगै ब्राजिलमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २१ हजार ४ सय नाघेको छ । ब्राजिल विश्वकै ६ छैंठो मुलुक हो जहाँ कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २० हजार नाघेको छ ।

यसैबीच विश्व स्वास्थ्य संगठनले पछिल्लो समय दक्षिण अमेरिका कोरोना भाइरसको नयाँ केन्द्रबिन्दु बनेको बताएको छ । दक्षिण अमेरिकी मुलुक ब्राजिल कोभिड–१९ को महामारीबाट सबैभन्दा बढी प्रभावित बनेको छ । डब्ल्यूएचओका अनुसार ल्याटिन अमेरिकी मुलुक ब्राजिल संक्रमणका कारण सुरुवाती क्रममा कम भएपछि पछिल्लो समय तीव्र गतिमा बढ्न थालेको छ । 

बेलायतमा बाहिरबाटा आउने नागरिकलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरिएको छ । बेलायत सरकारले आगामी जुन ८ देखि नयाँ व्यवस्था अनुसार बाहिरबाट आउने नागरिकलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने छ र नियम उल्लघंन गर्नेलाई एक हजार पाउण्ड जरिवाना तिर्नुपर्नेछ । बेलायतका गृहमन्त्री प्रीति पटेलले अनिवार्य क्वारेन्टाइनको नियम आयरल्याण्डबाट आउने नागरिककालागि भने लागू नहुने बताइन् । साथै कोरोना महामारीसँग लड्ने स्वास्थ्यकर्मी र अन्य खेती किसानी गर्नेलाईपनि छुट दिइने उनले बताइन् । 

पेरूमा दुई महिनादेखि लागू लकडाउनको समयावधि जुनंसम्मका लागि थपिएको छ । कोरोना महामारीलाई ध्यानमा राखि जारी गरिएको लकडाउनमा छुट दिएपछि कोरोना संक्रमितको संख्या बढ्न थालेपछि पेरु सरकारले जुन महिनाको अन्त्यसम्म लकडाउन थप गरेको हो । ल्याटिन अमेरिकी मुलुक पेरू ब्राजिलपछि दोस्रो प्रभावित मुलुक हो । जहाँ कोरोनाका कारण अत्यधिक संक्रमित फेला परेका छन् । पेरूमा हालसम्म १ लाख ११ हजारभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् भने ३१ सय ४८ जनाको मृत्यु भइसकेको छ ।

विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरसका कारण विश्वभर संक्रमितको संख्या ५२ लाख ३ हजार नाघेको छ । अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ४० हजार नाघेको छ भने संक्रमित भएकामध्ये झन्डै २१ लाख ५८ हजारभन्दा बढी स्वस्थ भएका छन् । 

Last modified on 2020-05-23 08:38:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts