अपडेट

अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ९८ हजार नाघ्यो



Download our app to get more features

काठमाडौं, ११ जेठ । नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ८४ पुगेको छ । पछिल्लो २४ घन्टामा नोपालमा ६८ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । नेपालमा पछिल्लो समय देखिएका अधिकांश संक्रमितहरु भारतबाट आएकाहरु रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म ३ जनाको कोरोना भाइरसका कारण मत्यु भइसकेको छ भने ८९ जना निको भएका छन् ।

यसैबीच प्रदेश नम्बर ५ को बाँकेमा सबैभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् । बाँकेको नरैनापुर गाउँपालिका सबैभन्दा बढी प्रभावित स्थान हो । जहाँ हालसम्म १ सय १४ जना कोरोना संक्रमित फेला परिसकेको छन् । यसैबीच गाउँपालिकाले बढ्दै गएको कोरोना संक्रमितको संख्यालाई नियन्त्रण गर्न केन्द्र सरकारसँग विशेष आग्रह गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले गाउँपालिकामा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई गाउँपालिकाका नागरिकले नै भगाउने, मनोबल कमजोर पार्ने जनस्ता क्रियाकलाप गर्न थालेपछि तत्काल केन्द्रबाट उच्च स्तरीय चिकित्सकीय टोली पठाउन आग्रह गरिएको बताएका छन् । 

भारतमा कोरोना संक्रमणको दर तीव्र गतिले बढ्दै छ । भारतीय स्वास्थय मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा भारतमा ६ हजार ६ सय ५४ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संखया एक लाख २५ हजार नोघेको छ । यो हप्ता भारतमा दुई दिन ६ हजारका दरले कोरोना संक्रमित थपिएका छन् । शुक्रवार मात्रै ६ हजार ८८ जना नयाँ कोरोना संक्रमित थपिएका थिए । यस्तै पछिल्लो २४ घन्टामा १ सय ३७ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३७ सय २० पुगेको छ । दक्षिण एसियाली मुलुक भारत पछिल्लो समय कोरोना भाइरसको केन्द्रबिन्दु बनेको छ ।

विश्वकै सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ९८ हजार नाघेको छ । अमेरिकाको सबैभन्दा बढी प्रभावित न्यूयोर्कमा पछिल्लो मार्च महिनापछि शनिवार सबैभन्दा कम मानिसको मृत्यु भएको छ । न्यूयोर्कका गभर्नर एन्ड्रयू कुमोका अनुसार पछिल्लो २४ घन्टामा न्यूयोर्कमा मात्र ८४ जनाको मृत्यु भएको छ । जबकी शुक्रवार १ सय ८ जनाको कोरोना भाइरसकाका कारण मृत्यु भएको थियो । अमेरिकी विश्व विद्यालय जन हपकिन्सका अनुसार अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या एक लाख नजिक पुगेको छ । हालसम्मको तथ्यांक अनुसार अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ९८ हजार ६ सय ८३ पुगेको छ । यस्तै संक्रमितको संख्या १६ लाख ६६ हजार नाघेको छ ।

जर्मनीमा लकडाउनमा छुट दिएपछि कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । लकडाउनमा छुट दिँदै जर्मनी सरकारले पार्क, चर्च लगायतका स्थानलाई खुला गरेको छ । जस अनुसार चर्चमा प्रार्थना गर्न जम्मा भएका ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चर्चमा आउने व्यक्तिमा कोरोना पुष्टि भएपछि सरकारले फेरि चर्चहरु बन्द गर्ने निर्णय गरेको छ । जर्मनीमा हालसम्म कोरोना भाइरसका कारण एक लाख ७९ हजारभन्दा बढी संक्रमित भएका छन् भने ८ हजार ३ सयभन्दा बढीको मृत्यु भएको छ ।

अफगानिस्तानमा हालसम्मकै धेरै कोरोना संक्रमित एकैदिनमा फेला परेका छन् । अफगानिस्तान स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा त्यहाँ ७ सय ८२ जना  नयाँ कोरोना संक्रमित फेला परेका छन् । यो संख्या पछिल्लो १० दिनमै वृद्धि भएर १० हजार पुगेको छ । योसँगै अफगानिस्तानमा कोरोना संक्रमितको संख्या १० हजार पुगेको छ । यस्तै कोरोनाका कारण मृत्यु हुनेको संख्या २ सय १६ पुगेको छ ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालयले कोरोना भाइरस विरुद्धको खोपमा सफलता प्राप्त भएको दावी गरेको छ । विश्वविद्यालयले तयार गरेको कोरोना भाइरस विरुद्धको खोपको ५० प्रतिशत परीक्षण सफल भएको बताएको छ । अक्फर्ड जेनर इन्स्टिच्यूटका निर्देशक एड्रियन हिलका अनुसार गत अप्रिलमा गरिएको मानवमाथि गरिएको खोप परीक्षणमा ५० प्रतिशत सफलता प्राप्त भएको छ ।  

विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरसका कारण विश्वभर संक्रमित हुनेको संख्या ५५ लाख नाघेको छ । यस्तै संक्रमित भएका मध्ये ३ लाख ४३ हजारभन्दाको मृत्यु भइसकेको छ भने २२ लाख ४७ हजारभन्दा बढी संक्रमित स्वस्थ भएका छन् । 

Last modified on 2020-05-24 08:28:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts