चितवनमा मृत्यु भएका कैलालीका काेराेना संक्रमितकाे शव व्यवस्थापन यसरी गरियाे

फाेटाेफिचर



Download our app to get more features

चितवन, १३ । चितवनमा मृत्यु भएका कैलालीका काेराेना संक्रमितकाे शव व्यवस्थापन गरिएकाे छ । भरतपुरको नेपाली सेनाको कालीबहादुर गणको टोलीले मृतक पुरुषको शव व्यवस्थापन गरेको हो । आफन्तकाे उपस्थितिमा शव भरतपुर महानगरपालिका १ स्थित वागेश्वरी जंगलमा गाडिएको छ ।

कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरुषको भरतपुर अस्पतालको आईसीयूमा उपचारको क्रममा शनिवार बिहान ७ बजे मृत्‍यु भएको थियाे ।  

६/७ महिना अघि देखि फोक्सोको क्यान्सर भएका उनको भरतपुर अस्पतालको कोभिड-१९ आईसीयूमा जटिल अवस्थामा उपचारको क्रममा मृत्‍यु भएको अस्पतालका कोभिड-१९ क्लिनिकल संयोजक एवम् वरिष्ठ फिजिसियन डा. प्रमोद पौडेलले जानकारी दिए । उनका अनुसार मृतक पुरूष भारतमा फोक्सोको क्यान्सरको उपचार गराएर एक महिना अघि घर फर्किएका थिए । चारपटक केमोथेरापीसमेत लगाएका थिए । खकारमा रगत देखा पर्ने, ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि स्थानीय अस्पतालमा समेत उपचार सम्भव नभए पछि असार १० गते चितवन मेडिकल कलेजमा ल्याएर आइसोलेसन वार्डमा राखेर उपचार शुरू गरिएको थियो । 

कोरोना परीक्षण गर्दा बिहिवार पोजेटिभ देखिएपछि सोहि दिन नै उनलाई भरतपुर अस्पतालको आइसोलेसन ल्याइएको थियो । उनलाई श्वासप्रश्वासमा समस्यासँगै स्वास्थ्यमा थप जटिलता देखिएपछि शुक्रवार कोभिड-१९ आईसीयूमा सारीएको थियो । उनको त्यहीँ उपचारको क्रममा शनिवार बिहान निधन भएको हो । 

यसअघि कोरोना संक्रमित भरतपुर महानगरपालिका ११ का ६८ वर्षीय वृद्वको जेठ २७ गते बिहान ७ बजेर ५ मिनेटमा भरतपुर अस्पतालको आईसीयूमै उपचारको क्रममा निधन भएको थियो । मृतकका परिवारले धार्मिक विधि अनुसार पूजापाठ गरेपछि उनको शव पनि वागेश्वरी जंगलमा नै गाडेर अन्त्येष्टि गरिएको थियाे ।

Last modified on 2020-06-27 18:18:48

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts