पिजिको अन्तिम परीक्षामा सहभागि हुने विद्यार्थीका लागि निर्देशिका जारी



Download our app to get more features

काठमाडौं, २६ असार । चिकित्सा शास्त्र तर्फ हुन लागेको पोस्ट ग्रेजुएट (पिजि) को अन्तिम परीक्षामा सहभागि हुने विद्यार्थीहरुका लागि परीक्षा नियन्त्रण महाशाखाले निर्देशिका जारी गरेको छ ।

महाशाखाले जारी गरेको निर्देशिका अनुसार परीक्षामा सहभागि हुन आउने विद्यार्थी उपत्यका प्रवेश गरी सकेपछि अनिवार्य रुपमा घरमा वा चिकित्सा शास्त्र अध्ययन संस्थानले व्यवस्था गरेको होटेलमा दुई हप्ता अनिवार्य क्वोरन्टाइनमा बस्नु पर्नेछ । 

त्यस्तै चिकित्सा शास्त्र अध्ययन संस्थानले व्यवस्था गरेको होटेल क्वारेन्टाइनका लागि विद्यार्थी आफैले प्रतिदिन दुई हजार रुपैयाँ तिर्नुपर्नेछ । सो पैसा होटेलमा बस्न तथा खाना, खाजा र बेलुकाको खानामा प्रयोग हुनेछ ।

जाँचभन्दा एक हप्ता पहिले अनिवार्य रुपमा पिसिआर परीक्षण गराउनुपर्ने, पिसिआर जाँच सरकारी मापदण्ड पूरा गरेको हुनुपर्ने र सरकारले तोकेको हटस्पटबाट आएका परीक्षार्थीहरुका लागि पिसिआर जाँच निःशुल्क हुनेछ । उक्त मापदण्डमा नपरेका विद्यार्थीहरुले शुल्क तिरेर आफैले पिसिआर जाँच गर्नुपर्ने हुन्छ । त्यसका लागि ५५ सय शुल्क लाग्नेछ ।

पिसिआर जाँच पाजेटिभ आएमा अनिवार्य दुई हप्ताका लागि क्वारेन्टाइनमा बस्नुपर्ने तथा जाँचमा सम्मिलित नभई अर्को पटकको जाँचमा सहभागि हुनुपर्ने, कोरोना भाइरस रोकथामको निर्देशन पूर्ण रुपमा पालना गर्नुपर्ने, मास्क अनिवार्य लगाउनुपर्ने, भौतिक दुरी दुई मिटर कायम गर्नुपर्ने, साबुन पानीले हात धुने तथा स्यानिटाइजरको बारम्बार प्रयोग गर्नुपर्ने पनि निर्देशिकामा उल्लेख गरिएको छ ।

Last modified on 2020-07-10 14:03:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts