कोरोना जितेपछिको खुसीः मनबाटै डर हटाए कोरोनालाई जित्न सकिन्छ



Download our app to get more features

काठमाडौं, १३ असोज । काभ्रेका हरी पहारी, ३० वर्षका छन् । उनी काठमाडौं बस्न लागेको १५ वर्ष भयो । अहिले वर्कशपमा काम गर्छन् । उनका एक छोरी र एक छोरा छन् । भदौ २९ गते श्रीमती, छोरा, छोरीसहित उनी पनि कोरोना संक्रमित बन्न पुगे । १४ औं दिनमा सबै जना कोरोनालाई जितेर घर फर्किएका छन् । कोरोना जितेपछि विना न्यौपानेले पहारीसँग गरेको कुराकानी उनकै शब्दमा :

काठमाडौं बसाईको सिलसिलामा धेरै काम गरे । बाधा व्यवधान धेरै पार गर्दा पनि मैले कहिल्यै हरेस खाइन । तर, जब नेपालमा कोरोनाले मान्छेको मृत्यु भयो भन्ने खबर सुने त्यसपछि मेरो मनको धैर्यता टुट्नै लागेको थियो । वर्कशपमा काम गर्नु पर्ने कहिले कहाँ कहिले कहाँ पुग्नु पर्ने थियो । एकै ठाउँमा बस्छु भनेर नपाउने पेशा आंगालेको थिए ।

बसुन्धारा क्षेत्रमा नै भएपनि एकै ठाउँमा बसेर काम गर्न पाईदैनथ्यो । लकडाउनमा पहिले कतै काम भै रहेको थियो । दिनहुँ यति संक्रमित भए भनेको समाचार सुन्दासुन्दा दिक्क लागेर आजकल त समाचार सुन्नै छोडेको थिए ।
 
भदौ २५ गते अचानक सुन्न बाध्य भए । सँगै कोठामा बस्ने साथीको छोरीलाई टिचिङ अस्पतालमा ४५ दिनको सुई लगाउन लगिएको थियो । त्यै बेला नानीलाई कोराना भएको भन्ने खबरले होसमा छु की बेहोसमा भन्ने नै थाहा भएन । त्यसको दुई दिनपछि हाम्रो परिवारले पनि नजिकैको तिलिङटार स्कुलमा गएर पिसिआर चेक गरायौं । भदौको २९ गते रिपोर्ट आयो सबै परिवारको कोरोना पोजेटिभ छ भनेर ।

छाँगाबाट खसेको जस्तै भए, सँगै बसेको भाईलाई कोरोना नलाग्ने तर मेरो परिवारको चारै जनालाई कोरोना लाग्ने । अचम्मको रोग रैछ भन्ने लाग्यो ।

रिपोर्ट पोजेटिभ आएका सबै आइसोलेशनमा बस्नुपर्याे तर घरमा सम्भव थिएन । त्यसैले नजिकैको केडिसी हस्पिटल जानु पर्ने भयो । घरबाट निस्किदै गर्दा लागेको थियो अब यो घरमा फर्केर आईन्छ की आईदैन होला भनेर । तर, केडिसी‌ हस्पिटल त भगवानको बन्यो । 

१४ औं दिनमा डिस्चार्ज भएको र आज घर फर्किएको १६ औं दिन भयो । दुई दिन पहिले हामी परिवारका सबै सदस्यको कोरोना रिपोर्ट  नेगेटिभ आएको । घर फर्किएका छौं, हाम्रो खुसीको सिमा नै छैन ।  

यसमा सबै भन्दा ठुलो हात केडिसी हस्पिटलको छ । हामीलाई त्यहाँ गरिने व्यवहार, दिईने खाना सोचे भन्दा धेरै माथीको रहेछ । धेरै समाचारमा हेरेको अनि सुनेको थिए । आइसोलेशनमा बस्दा खाना नराम्रो, बस्ने ठाउँ नराम्रो, शैचालय फोहोर, सबैको एउटै यस्ता धेरै गुनासो सुनेको थिए तर केडिसी हस्पिटलमा सबै उल्टो भयो । अर्थात सबै कुरा धेरै राम्रो रहेछ ।

लाग्छ सबै आइसोलेशन केडिसी हस्पिटल जस्तो हुने हो भने जस्तो सुकै रोग लगे पनि जित्न सकिन्छ । यो मेरो अनुभव हो, मलाई लाग्छ कोरोना लागेका जो कोहीले पनि सकारात्मक सोच राख्यो भने कोरोनालाई सजिलै जित्न सकिन्छ ।

Last modified on 2020-09-29 19:36:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts